भाद्र १८, २०८३ बिहिबार September 3, 2026

यस्तो छ काठमाडौं-हेटौंडा आवतजावतका लागि नयाँ वैकल्पिक रुट (हेर्नुहोस्)

काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौँ र हेटौँडाबीचको यातायात सञ्चालनका लागि वैकल्पिक रुट तथा समय तालिका निर्धारण गरिएको छ।

वर्षाको मौसम र सडकको वर्तमान अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा सवारी साधनको प्रकारअनुसार छुट्टाछुट्टै मार्ग तोकिएको हो।

ट्राफिक प्रहरीका अनुसार काठमाडौँबाट हेटौँडा जाने साना सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै हेटौँडा पुग्नुपर्नेछ। त्यसैगरी हेटौँडाबाट काठमाडौँ आउने साना सवारी भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ प्रवेश गर्ने व्यवस्था गरिएको छ।

ठूला तथा मालवाहक सवारीका लागि भने काठमाडौँबाट चापागाउँ–भट्टेडाँडा–ठिङ्गन हुँदै हेटौँडा जाने रुट तोकिएको छ। उक्त मार्ग प्रयोग गर्ने ठूला सवारीले साँझ ६ बजेसम्म ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।

हेटौँडाबाट काठमाडौँतर्फ आउने ठूला तथा मालवाहक सवारीले भैँसे–पालुङ–टिस्टुङ–नौबिसे मार्ग प्रयोग गर्नुपर्नेछ।

यसैबीच, मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर भएकाले इन्धन बोकेका ट्याङ्कर तथा अत्यधिक भारी मालवाहक सवारीलाई उक्त पुलबाट आवतजावत नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

भारी सवारीका लागि बेलिब्रिजको छेउमै निर्माण गरिएको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको प्रवक्ता सुवेदीले बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया