भाद्र २४, २०८३ बुधबार September 9, 2026

गुटगत संघर्षमा कांग्रेस

राष्ट्रियसभा गृहको बुकिङले भने पार्टीको संस्थागत पक्षबाट घोषित मितिमै महाधिवेशन गर्ने तयारी अघि बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्रको विवाद थप पेचिलो बन्ने संकेत देखिएको छ । सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले असोज १५ देखि २० गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेको छ । महाधिवेशनका लागि पार्टीले भौतिक तयारीसमेत अघि बढाएको छ । कांग्रेसले काठमाडौंस्थित राष्ट्रियसभा गृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल तथा बगैँचा असोज १५ देखि २० गतेसम्म ६ दिनका लागि बुकिङ गरेको छ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार राष्ट्रियसभा गृहका प्रमुखलाई पत्र पठाउँदै महाधिवेशन प्रयोजनका लागि आवश्यक स्थान उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । चलानी नम्बर १०२९ रहेको पत्रमा ‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय’को नाममा प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैँचा बुकिङ गर्न आग्रह गरिएको छ । पार्टीको आधिकारिक संरचनाबाट महाधिवेशनको तयारी अघि बढिरहेका बेला कांग्रेसभित्रै अर्को पक्षले छुट्टै कार्यतालिका ल्याउने तयारी गरेपछि महाधिवेशनको वैधानिकता, प्रतिनिधि चयन र नेतृत्वको विषय थप विवादित बन्ने देखिएको छ ।

सभापति थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले असोज १५ देखि २० गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार पार्टीले महाधिवेशनको तयारीलाई संस्थागत रूपमा अघि बढाएको हो । तर, पार्टीभित्रको संस्थापनइतर पक्षले यसअघि नै डा. शशांक कोइरालाको नेतृत्वमा छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ । अब पूर्वसभापति देउवा पक्षले समेत समानान्तर कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि कांग्रेसको आन्तरिक विवाद नयाँ चरणमा प्रवेश गर्ने देखिएको छ ।

कांग्रेसभित्र नेतृत्व, महाधिवेशनको प्रक्रिया र पार्टीको वैधानिक संरचनालाई लिएर लामो समयदेखि मतभेद रहँदै आएको छ । महाधिवेशनको मिति एउटै भए पनि फरक–फरक समूहबाट कार्यतालिका सार्वजनिक हुन थालेपछि आगामी दिनमा प्रतिनिधि छनोटदेखि महाधिवेशनको व्यवस्थापनसम्मका विषयमा विवाद उत्पन्न हुनसक्ने नेताहरूको आँकलन छ ।

राष्ट्रियसभा गृहको बुकिङले भने पार्टीको संस्थागत पक्षबाट घोषित मितिमै महाधिवेशन गर्ने तयारी अघि बढिरहेको स्पष्ट संकेत गरेको छ । तर, पार्टीका प्रभावशाली समूहहरूले छुट्टाछुट्टै कार्यतालिका ल्याउने अवस्था बनेमा कांग्रेसको १५औँ महाधिवेशन एकता र सहमतिको भन्दा शक्ति संघर्षको केन्द्र बन्ने सम्भावना बढेको छ ।

पूर्वसभापति देउवा पक्षले ल्याउने तयारी गरेको समानान्तर कार्यतालिकाले कांग्रेसभित्रको शक्ति समीकरणलाई समेत प्रभावित गर्ने देखिएको छ । संस्थापन पक्ष र संस्थापनइतर समूहबीच सहमति जुट्न नसके महाधिवेशनको प्रक्रिया नै दुई धारमा अघि बढ्ने जोखिमसमेत देखिएको छ । यसले कांग्रेसको आगामी नेतृत्व चयन मात्र होइन, पार्टीको सांगठनिक संरचना र आन्तरिक एकतामाथि समेत प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

तल्ला तहको अधिवेशन कार्यतालिका हेरफेर

नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्नेगरी अधिवेशनको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न हुनेछ । यसअघि कांग्रेसले १६ देखि १९ असोजसम्म महाधिवेशन गर्नेगरी विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । तर, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिपछि प्रभावित क्षेत्रसहित विभिन्न जिल्लाबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै अधिवेशनका अन्य कार्यक्रमको मिति परिमार्जन गरिएको हो ।

नयाँ कार्यतालिकाअनुसार गाउँ-नगर वडा अधिवेशन ३ र ४ असोजमा हुनेछ । स्थानीय अनुकूलताअनुसार यी दुई दिनमध्ये उपयुक्त दिनमा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ । देशभरका ६ हजार ७४३ वडामा वडा कार्यसमितिको निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन हुनेछ । त्यसैगरी, गाउँपालिका तथा नगरपालिका अधिवेशन ७ असोजमा र प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १० असोजमा गर्ने कार्यतालिका छ । कांग्रेसका अनुसार जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति भने दोस्रो चरणमा सार्वजनिक गरिनेछ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने तोकिएका निर्वाचन अधिकृतले सम्बन्धित पार्टीका स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका जनसम्पर्क समितिअन्तर्गत बाँकी रहेका देशहरूको अधिवेशन १० असोजभित्र सम्पन्न गर्नुपर्ने कार्यतालिका पनि सार्वजनिक गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार १६ देखि १९ असोजको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्वलाई केन्द्रमा राखेर पहिलो चरणको निर्वाचन क्यालेण्डर सार्वजनिक गरिएको उल्लेख छ ।

सभापति थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बठकले आउँदो असोज १५ देखि २० गतेसम्म १५औँ महाधिवेशन गर्ने तय गरेको थियो । संस्थापनइतर पक्षले भने डा. शशांक कोइरालाको नेतृत्वमा छुट्टै महाधिवेशन कार्यातालिका सार्वजनिक गरेको छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
२०८३ भाद्र २४, बुधबार
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
२०८३ भाद्र २४, बुधबार
भोटेकोशी बाढीपछि जलवायु न्यायको बहस तीव्र
२०८३ भाद्र २४, बुधबार
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
२०८३ भाद्र २४, बुधबार
बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन
२०८३ भाद्र २४, बुधबार
होर्मुज खुलाउनेबारे इरान-ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’
२०८३ भाद्र २४, बुधबार
भाेटेकाेशी बाढी: सहकर्मी गुमाउँदाको पीडा भुलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी
२०८३ भाद्र २४, बुधबार