भाद्र २४, २०८३ बुधबार September 9, 2026

सिम नभएपनि मोबाइलमा विपदको पूर्वसूचना

त मे २ तारिखदेखि देशभर इन्डिजेनस सेल ब्रोडकास्ट सिस्टम प्रणाली सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ २४ गते । मोबाइलमा सिमकार्ड नभए पनि प्राकृतिक विपत्को पूर्वसूचना दिन मिल्ने गरी सरकारले ‘सेल ब्रोडकास्टिङ’ सञ्चालनको तयारी गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा एकै पटक धेरै मानिसलाई पूर्वसूचना पठाउन मिल्ने उक्त प्रविधि सञ्चालनमा काम गरिरहेको हो ।

सेल ब्रोडकास्टिङ सञ्चालनका लागि छुट्टै कार्यदल बनाएर काम भइरहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।

“विगतका प्रतिवेदनको सुझावसहित कार्यदलले सेल ब्रोडकास्टिङ सञ्चालनका लागि कार्यविधि अन्तिम चरणमा पुर्‍याएको छ,” उहाँले भन्नुभयो, “अब बजेटलगायत विषय टुङ्गिएपछि कार्यविधि अनुसार कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ ।” सेल ब्रोडकास्टिङ सञ्चालनमा ल्याउन प्राधिकरणले यसअघि नै काम अगाडि बढाए पनि रसुवाको भोटेकोशीमा बाढी आएपछि केही प्रभावित हुन पुगेको उहाँले बताउनुभयो ।

कार्यदलका सदस्यसमेत रहनुभएका नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठले विपत्को जोखिम र त्यसबाट हुने क्षति कम गर्न नेपालमा पनि सेल ब्रोडकास्टिङ सञ्चालन गर्नुपर्ने अघिल्ला सुझाव अनुसार काम भइरहेको बताउनुभयो । “यो प्रविधिमार्फत सिमकार्ड प्रयोग नभए पनि मोबाइल नेटवर्कको कभरेजमा रहेका मोबाइल सेटमा एकै पटक सन्देश पठाउन सकिन्छ,” उहाँले भन्नुभयो ।

श्रेष्ठका अनुसार मोबाइलमा सन्देश पठाउन प्रचलित एसएमएसभन्दा यो प्रविधि केही फरक र प्रभावकारी हुन्छ । “सेल ब्रोडकास्टिङमार्फत पठाइएका सन्देश पाउनेले उक्त सन्देश नपढेसम्म मोबाइलमा अरू काम गर्न मिल्दैन” उहाँले भन्नुभयो, “जसले गर्दा विपत्सम्बन्धी सन्देश पढ्न वा हेर्नैपर्ने बाध्यता हुन्छ ।”

एसएमएस जस्तो मोबाइलको ‘इनबक्स’ मा नरहने तर मोबाइल स्क्रिनमा ‘अलर्ट’ का रूपमा देखिने भएकाले प्रयोगकर्ताले नहेरेसम्म वा बन्द नगरेसम्म आवाज बजिरहने भएकाले यसलाई बेवास्ता गर्न नसकिने उहाँले बताउनुभयो । यसरी सन्देश पठाउँदा मोबाइलमा भाइबे्रसन जाने, ‘पप अप’ अथवा ‘बिप साउन्ड’ राख्ने भन्ने विषयमा विश्वव्यापी प्रचलित अभ्यासलाई अपनाउने प्राधिकरणको तयारी छ ।

कुनै क्षेत्रको मोबाइल नेटवर्कमा फोन आउने जाने क्रम (ट्राफिक) अत्यधिक बढी भए पनि सेल ब्रोडकास्टिङ प्रविधिलाई त्यसले असर गर्दैन अर्थात् नेटवर्क अत्यधिक व्यस्त भएर फोन, म्यासेज जान नसक्ने अवस्थामा पनि यो प्रविधिमार्फत सहजै सन्देश पठाउन सकिन्छ ।

मोबाइल नेटवर्क (टावर) ले आफ्नो क्षेत्रमा प्रयोग भइरहेका जस्तोसुकै (सिमकार्ड प्रयोग नभएकासमेत) मोबाइल पनि पहिचान गर्न सक्ने भएकाले विपत् पूर्वसूचनामा यो प्रभावकारी मानिने दूरसञ्चार प्राधिकरणका उपनिर्देशक श्रेष्ठ बताउनुहुन्छ । नेटवर्कको पहुँचमा नरहेका व्यक्तिलाई समेत यस प्रविधिमार्फत सन्देश पठाएर विपत्को पूर्वसूचना दिन सक्ने अवस्था रहने उहाँले बताउनुभयो । उहाँका अनुसार मोबाइल भने ‘अन’ भएको हुनुपर्ने छ ।

सेल ब्रोडकास्टिङका सञ्चालनका लागि केन्द्रीय स्तरमा हार्डवेयर र सर्भर आवश्यक पर्छ, जसमा प्राधिकरणसहित जल तथा मौसम विज्ञान विभाग, नेपाली सेना, नेपाल प्रहरीलगायत सरकारी तथा सुरक्षा निकायलाई पनि एकीकृत गरेर सूचना सम्पे्रषण गर्न सकिने व्यवस्था गर्न लागिएको छ ।

त्यस्तै भविष्यमा रेडियो र टेलिभिजनलाई पनि यस प्रणालीमा जोडेर आपत्कालीन अवस्थामा प्रसारण भइरहेको कार्यक्रम रोकेर पूर्वसूचना डिस्प्ले हुने व्यवस्था पनि गर्न सकिने उप–निर्देशक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रणाली स्थापनाका लागि ‘डेडिकेटेड हार्डवेयर’ राख्ने अथवा क्लाउडमा आधारित बनाउने भन्ने विषयले लागत निर्धारण गर्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आइटियु) को प्रारम्भिक अनुमान अनुसार यस्तो प्रणालीका लागि न्यूनतम पनि १० करोड रुपियाँ आवश्यक पर्छ ।

सेल ब्रोडकास्टिङ सञ्चालन र नियमनको विषय विद्यमान दूरसञ्चार ऐन, २०५३ मा नभए पनि आपत्कालीन अवस्थाका लागि विद्यमान विभिन्न कानुनमा आधारित रहेर दूरसञ्चार प्राधिकरणले यो प्रविधि सञ्चालनका लागि सहजीकरण गर्ने र आवश्यक नियमन गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।

बाढी, पहिरो जस्ता प्राकृतिक विपत्मा मात्र नभई यो प्रणाली युद्ध अथवा अन्य मानवीय आपत्कालीन अवस्थामा पनि सूचना प्रवाह गर्न सहयोगी हुने भएकाले प्रभावकारी हुने मानिएको छ । नेपाल जस्तो भौगोलिक रूपमा कठिन भूबनोट र विकट स्थानमा दूरसञ्चार सेवाप्रदायकको नेटवर्क नहुने र भए पनि कमजोर हुने ठाउँमा सेल ब्रोडकास्टिङ आपत्कालीन सूचना प्रवाहमा सबैभन्दा प्रभावकारी हुने प्राधिकरणले जनाएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सम्बन्धमा तटीय क्षेत्रका मानिसहरूलाई एसएमएसमार्फत सन्देश पठाएर पनि पूर्वसूचना उपलब्ध गराउँदा त्यसले धेरैलाई जोगाउन सफल भएको सरकारको बुझाइ छ । त्यसैले पनि पूर्वसूचनालाई थप प्रभावकारी र आधुनिक बनाउन प्राधिकरणले सेल ब्रोटकास्टिङ सञ्चालनलाई तीव्रता दिएको हो ।

यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

आपत्कालीन अवस्थामा पूर्वसूचना उपलब्ध गराउने प्रभावकारी मानिएको सेल ब्रोडकास्टिङ विभिन्न देशले प्रचलनमा ल्याइसकेका छन् । संयुक्त राज्य अमेरिकाले फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीमार्फत सञ्चालन एवं कार्यान्वयन गर्ने गरी ‘वायरलेस इमरजेन्सी अलर्ट्स सञ्चालनमा ल्याएको छ । त्यस्तै युरोपियन युनियनले युरोपियन इलेक्ट्रोनिक कम्युनिकेसन्स कोडमार्फत सञ्चालन हुनेगरी इयु अलर्ट कार्यान्वयनमा ल्याएको छ । यस अन्तर्गत मुलुकहरूले आआफ्नो मुलुकको नाममा ‘अलर्ट’ सञ्चालन गर्छन् ।

सुनामी एवं भूकम्पको जोखिम भइराख्ने जापानमा पनि जे–अलर्ट/एरिया मेलमार्फत पूर्वसूचना प्रवाह गर्ने प्रणाली कार्यान्वयनमा छ । छिमेकी मुलुक भारतले पनि हालै मात्र गत मे २ तारिखदेखि देशभर इन्डिजेनस सेल ब्रोडकास्ट सिस्टम प्रणाली सञ्चालनमा ल्याएको छ । यो प्रणाली भारतकै सेन्टर फर डेभलपमेन्ट अफ टेलिम्याटिक्सले नै विकास गरेको  हो ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया