भाद्र २५, २०८३ बिहिबार September 10, 2026

विद्यालय बने आश्रयस्थल : ३७ अस्थायी शिविरमा छन् ३५ सय धेरै बाढीप्रभावित

विद्यालयलाई आश्रयस्थलका रूपमा प्रयोग गरिएकाले प्रभावित क्षेत्रमा तत्काल नियमित पठनपाठन सञ्चालन गर्न कठिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई साता पुग्दा रसुवा, नुवाकोट र धादिङका ३ हजार ६२८ जना अझै ३७ वटा अस्थायी शिविरमा आश्रित छन् । बाढीले बस्ती नै बगरमा परिणत गरेपछि उनीहरूलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने वा अन्यत्र स्थानान्तरण गर्ने विषयमा सरकारले अध्ययन थालेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको आश्रय तथा शिविर व्यवस्थापन क्लस्टरको पछिल्लो विवरणअनुसार रसुवाका १० वटा शिविरमा ७७३, नुवाकोटका २५ शिविरमा २ हजार ६९९ र धादिङका दुई शिविरमा १९६ जना आश्रित छन् ।

भदौ १० गते आएको बाढीले घर, सडक, पुललगायतका भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएको थियो । बाढीपछि ठुलो संख्यामा नागरिक घरबारविहीन भए पनि उनीहरूको दीर्घकालीन आवासको टुंगो लागिसकेको छैन । तत्कालका लागि सरकारी तथा गैरसरकारी संस्थाले खाद्यान्नबाहेकका आवश्यक सामग्री वितरण गरिरहेका छन् । तर घर नै नरहेकाले ती सामग्री सुरक्षित राख्ने ठाउँसमेत पीडितसँग छैन ।

विभागको विवरणमा बाढीबाट विस्थापित र राहत लिनेको संख्या फरक देखिएकाले प्रभावित परिवारको यकिन विवरणसमेत स्पष्ट हुन सकेको छैन । हालसम्म ७ हजार ८४४ जनालाई गैरखाद्य सामग्री वितरण गरिएको रिपोर्टमा उल्लेख छ ।

बाढीले बस्ती नै बगरमा परिणत गरेका कारण प्रभावितलाई त्यही स्थानमा पुनर्स्थापना गर्ने वा अन्यत्र सार्ने भन्ने विषयमा अध्ययन भइरहेको विभागका वरिष्ठ डिभिजनल इन्जिनियर टंक गौतमले बताए । ‘अधिकांश घर बाढीले पुरिएका छन्, दलदल छ,’ उनले भने, ‘बाढीप्रभावितलाई पुनस्र्थापना गर्न त्यहाँको भौगोलिक अवस्थाको अध्ययन र जग्गाको खोजी भइरहेको छ ।’

पीडितका लागि सुरक्षित स्थानमा आवास निर्माण गर्न आवश्यक जग्गा खोज्न सरकारले समिति बनाएको छ । तर सुरक्षित आवासका लागि आवश्यक जग्गा, बजेट र पूर्वाधार व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । ‘प्रभावित परिवारका लागि आवासको आवश्यकता कति छ, कहाँ निर्माण गर्ने र त्यसका लागि आवश्यक जग्गा, बजेट तथा पूर्वाधार कसरी व्यवस्थापन गर्ने भन्नेमा अध्ययन भइरहेको छ,’ गौतमले भने ।

विद्यालय बने होल्डिङ सेन्टर

बाढीबाट विस्थापितलाई राख्न विद्यालयसमेत होल्डिङ सेन्टरका रूपमा प्रयोग भएपछि प्रभावित क्षेत्रका बालबालिकाको पढाइ प्रभावित भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक विवरणअनुसार रसुवामा मात्रै ९ हजार ७ सय ४२ विद्यार्थीको सिकाइ प्रभावित भएको छ ।

बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका छन् । सरकारले ती स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीका अनुसार विद्यालयलाई आश्रयस्थलका रूपमा प्रयोग गरिएकाले प्रभावित क्षेत्रमा तत्काल नियमित पठनपाठन सञ्चालन गर्न कठिन भएको छ । ‘होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयबाट नागरिकलाई आफ्नै बसोबासमा फर्काउन वा अस्थायी सेन्टरमा लैजान सकियो भने मात्र विद्यालय खाली हुन्छन्,’ उनले भने, ‘नयाँ विद्यालय वा वैकल्पिक सिकाइ केन्द्रको व्यवस्था गर्न सके मात्रै पढाइ सुचारु गर्न सकिन्छ ।’

विपद्का बेला विद्यालय र अन्य सार्वजनिक स्थललाई प्राथमिक आश्रयस्थलका रूपमा प्रयोग गर्ने गरिएको उनले बताए । ‘विपद्का बेला विद्यालय सार्वजनिक स्थलका रूपमा प्रयोग हुने भएकाले अहिले प्रभावित क्षेत्रका विद्यालयमा पठनपाठन असहज भएको छ,’ धामीले भने ।

शिक्षा विभागको टोलीले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरिसकेको र सम्भावनाको विश्लेषण भइरहेको उनले बताए । सुरक्षित विद्यालयमा तत्काल कक्षा सञ्चालन गर्ने तथा आवश्यक परे प्रभावित बालबालिकालाई अन्य सुरक्षित विद्यालयमा आवाससहित राख्ने वा अस्थायी सिकाइ केन्द्र सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

राहत शिविरमा रहेका बालबालिकाको सिकाइ निरन्तर राख्न निःशुल्क वाइफाइ सेवा सञ्चालन गरिएको छ । आश्रयस्थलमा शैक्षिक सामग्रीसमेत वितरण गरिएको मन्त्रालयले जनाएको छ । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया