कार्तिक २१, २०८३ शनिबार November 7, 2026

चिकित्सा शिक्षामा नर्सिङ पहिलो रोजाइ

अध्ययनका लागि उपलब्ध सिट सङ्ख्या भने नौ हजार ६९१ मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक २१ गते । चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीमध्ये यस वर्ष सबैभन्दा बढी आकर्षण बिएस्सी नर्सिङमा देखिएको छ । चिकित्सा शिक्षा आयोगका अनुसार स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा ७७ हजार ११८ जनाले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् ।

तीमध्ये २३९ जनाको आवेदन विभिन्न कारणले रद्द गरिएको छ । अध्ययनका लागि उपलब्ध सिट सङ्ख्या भने नौ हजार ६९१ मात्रै रहेको छ । आवेदन दिने विद्यार्थीको सङ्ख्या र उपलब्ध सिटबिचको अन्तरले चिकित्सा शिक्षा अध्ययनका लागि प्रतिस्पर्धा निकै चर्को हुने देखाएको छ । समग्रमा एउटा सिटका लागि करिब आठ जना विद्यार्थीबिच प्रतिस्पर्धा हुँदै छ ।

विषयगत रूपमा भने कतिपय कार्यक्रममा यो अनुपात अझ बढी छ । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा. देवेन्द्रबहादुर खत्रीले बिएस्सी नर्सिङ समूहमा सबैभन्दा बढी २२ हजार ३४८ जनाले आवेदन दिएको जानकारी दिनुभयो । यीमध्ये २२ हजार ३३६ जना नेपाली र १२ जना विदेशी विद्यार्थीले परीक्षा दिएका छन् । यस समूहमा बिएस्सी नर्सिङका लागि दुई हजार ६४० र मिडवाइफ्रीका लागि ४० सिट निर्धारण गरिएको छ । दोस्रो स्थानमा एमबिबिएस रहेको छ । एमबिबिएस अध्ययनका लागि २१ हजार २९३ जनाले आवेदन दिएका छन् । यसमा २१ हजार ११६ नेपाली र १७७ विदेशी विद्यार्थी छन् । एमबिबिएसका लागि दुई हजार ७४५ सिट उपलब्ध छ ।

त्यस्तै बिडिएस अध्ययनका लागि १२ हजार ८४० जनाले आवेदन दिएका छन् । यो विषयमा ६२५ सिट मात्रै निर्धारण गरिएको छ । बिफार्मेसीमा छ हजार २३३, बिएनएस तथा बिएमएसमा चार हजार ४२८ र बिपिएचमा दुई हजार ६४४ जनाको आवेदन परेको छ । बिएस्सी एमएलटीमा दुई हजार ४८८, बी अप्टोमेट्रीमा एक हजार ७१३, बिपिटीमा एक हजार ३३५ तथा बिएस्सी एमआइटी र रेडियोथेरापी टेक्नोलोजी समूहमा एक हजार ४६ जनाको आवेदन परेको छ । यस्तै बिएएमएसमा ४६१, बिएएसएलपीमा १६५ र बी पफ्र्युजन टेक्नोलोजीमा १२४ जनाले आवेदन दिएका छन् ।

बढ्यो आकर्षण

एमबिबिएसभन्दा नर्सिङमा बढी आवेदन पर्नुले चिकित्सा शिक्षामा विद्यार्थीको रोजाइमा परिवर्तन आएको सङ्केत गरेको छ । नेपाल नर्सिङ सङ्घकी महासचिव प्राडा देवकाकुमारी आचार्यले नर्सिङमा आकर्षण बढ्नुका पछाडि स्वदेश तथा विदेशमा रोजगारीको सम्भावना, स्वास्थ्य संस्थामा जनशक्तिको माग र उच्च शिक्षा अध्ययनका अवसरलाई प्रमुख कारणका रूपमा लिन सकिने बताउनुभयो । महाराजगन्ज नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुखसमेत रहनुभएकी प्राडा आचार्यले नेपालबाट नर्सिङ अध्ययन गरेर विदेश गएपछि विदेशमा राम्रो अवसर हुने भएकाले विद्यार्थीको रोजाइ नर्सिङ रहेको बताउनुभयो । नेपालमा सरकारी तथा निजी अस्पताल, शिक्षण अस्पताल, सामुदायिक स्वास्थ्य संस्था र अन्य स्वास्थ्य सेवाप्रदायक निकायमा नर्सिङ जनशक्तिको आवश्यकता छ । त्यस्तै विदेशमा समेत नेपाली नर्सका लागि रोजगारीका अवसर रहेकाले विद्यार्थी र अभिभावकको आकर्षण बढेको हो ।

बिडिएस र पफ्र्युजनमा चर्को प्रतिस्पर्धा

विषयगत आवेदन र सिटको अनुपात हेर्दा बिडिएस र बी पफ्र्युजन टेक्नोलोजीमा प्रतिस्पर्धा उच्च देखिन्छ । बिडिएसमा १२ हजार ८४० जनाको आवेदन पर्दा सिट सङ्ख्या ६२५ मात्रै छ । यस अनुसार एउटा सिटका लागि करिब २१ जना प्रतिस्पर्धामा छन् । बी पफ्र्युजन टेक्नोलोजीमा १२४ जनाको आवेदन पर्दा सिट एउटा मात्रै छ । बी अप्टोमेट्रीमा एक हजार ७१३ जनाको आवेदन पर्दा ११० सिट उपलब्ध छन् । आयोगका उपाध्यक्ष प्राडा खत्रीले चिकित्सा शिक्षाका सबै विषयमा विद्यार्थीको आकर्षण समान नरहेको जानकारी दिनुभयो । कतिपय विषयमा सिटको तुलनामा आवेदन निकै बढी छ भने केही विषयमा उपलब्ध सिट र आवेदनको सङ्ख्या तुलनात्मक रूपमा नजिक छ ।

४१८ सिट थपिए

आयोगका उपाध्यक्ष प्राडा खत्रीले गत वर्षको तुलनामा यस वर्ष चिकित्सा शिक्षाको स्नातक तहमा ४१८ सिट थपिएको जानकारी दिनुभयो । गत वर्ष ९ हजार २७३ सिट रहेकामा यस वर्ष बढाएर ९ हजार ६९१ पु¥याइएको हो । शिक्षण संस्थाहरूले यस वर्ष विभिन्न विषयमा १२ हजार ७१२ सिट माग गरेका थिए तर आयोगले अनुगमन तथा मूल्याङ्कनपछि ९ हजार ६९१ सिट मात्रै निर्धारण गरेको हो । माग गरिएका सिटमध्ये तीन हजार २१ सिट स्वीकृत भएका छैनन् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा खत्रीले सिट निर्धारण गर्दा अनुगमन टोली र सिट निर्धारण समितिको सिफारिसलाई आधार बनाइएको बताउनुभयो । आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्राडा दीपेन्द्र श्रेष्ठले आयोगको आधिकारिक विवरणमा चिकित्सा शिक्षाको गुणस्तर कायम गर्न निरन्तर वैज्ञानिक अनुगमन तथा मूल्याङ्कन आवश्यक रहेको बताउनुभयो ।  गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया