भाद्र २५, २०८३ बिहिबार September 10, 2026

६ महिनादेखिको ग्यास संकट : शक्तिशाली सरकार, निरीह मन्त्री !

जुनसुकै सिलिण्डर साट्न सकिने कुरा व्यावहारिक रूपमा कठिन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ । देशमा झण्डै दुईतिहाइ बहुमतप्राप्त बलियो सरकार छ, तर शक्तिशाली सरकारकै मन्त्री भन्दै छन्, ‘मलाई कसैले टेरेन, केही काम गर्न सकिनँ हजुर ।’ आम उपभोक्ता एकथान खाना पकाउने (एलपी ग्यास)सिलिण्डरका लागि दिनभर लाइन बस्दासमेत रित्तै फर्किरहेका बेला तालुकदार मन्त्री भने सिंहदरबारमा आफ्नो निरीहता प्रकट गरिरहेकी छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्नुको साटो उल्टै अरूलाई दोष लाएर उम्किने प्रयास गर्नुभएको हो । सरकारी कर्मचारी र ग्यास उद्योगीकै कारण समस्या आएको उहाँले ठोकुवा गर्नुभयो । उनीहरूले आफूलाई टेर्दै नटरेको उल्टै गुनासो गर्नुभयो । ‘अहिले यस्तो बलियो सरकारमा त कर्मचारीहरूले केही चल्न दिएको छैन । चेन्ज गर्न खोज्दा सबैको आँखाको तारो म बनेको छु । सबै उद्योगीहरूले मलाई टार्गेट गरिरहेका छन् । म धेरै चेन्ज गर्न खोजिरहेको छु, तर गर्न सकिरहेको छैन’, उहाँले भन्नुभयो, ‘कर्मचारीले साथ नदिएसम्म तपाईं केही पनि गर्न सक्नुहुन्न ।’

उहाँको अभिव्यक्तिसँगै ग्यास आपूर्तिको समस्या समाधान हुनुको साटो झन् बढ्ने देखिएको छ । व्यवसायीसँग मिलेरै समस्या समाधान गर्नुपर्ने बेला उनीहरूलाई नै चिढ्याउँदा वातावरण झन् बिग्रिने व्यवसायीहरूको भनाइ छ । मन्त्री यादवले जुनसुकै कम्पनीका सिलिण्डर साट्न दिएको निर्देशनसमेत पालना नहुने देखिएको छ । ग्यास उद्योगी–व्यवसायीले नै अल्टर ग्यास साट्न नसकिने बताइरहेका छन् ।

पछिल्लो करिब ६ महिनादेखि देशमा खाना पकाउने एलपी ग्यासको चरम अभाव छ । पछिल्लो केही दिनयता त झन् आपूर्तिको समस्या बढ्दै गएको छ । मानिसहरूले दिनभर लाइन बस्दा पनि ग्यास पाइरहेका छैनन् । कृष्णभीरमा गएको पहिरोले सडक अवरुद्ध भएपछि त आपूर्ति समस्या झन् बढेको हो । काठमाडौं उपत्यकामा सामान्य अवस्थामा दैनिक ५० हजार सिलिण्डर खपत हुने गरेकोमा पछिल्ला दिनहरूमा माग एकाएक दोब्बर भएर दैनिक एक लाख सिलिण्डर पुगेको छ । तर, आपूर्ति भने मुस्किलले ३० हजार सिलिण्डर हाराहारीमा मात्र सीमित छ । वितरण प्रणालीको कमजोरी र नियमन अभावले गर्दा बजारमा अभाव चर्किएको उपभोक्ताहरू बताउँछन् ।

जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको सहज उपलब्धताका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री यादवले जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन निर्देशन दिनुभएको हो । काठमाडौं उपत्यकाभित्र मात्र लागू हुनेगरी उहाँले यो निर्देशन दिनुभयो । एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको उहाँको सचिवालयले जनाएको छ । यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्राण्डको सिलिण्डर तत्काल नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिण्डरमार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्नसक्ने मन्त्रीको विश्वास छ । प्राकृतिक विपत् (बाढी) का कारण उत्पन्न आपूर्ति समस्यालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले यो कदम चालिएको सचिवालयले जनाएको छ । निर्देशन उल्लंघन भए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने उहाँले चेतावनी दिनुभयो ।

नयाँ ग्यास सिलिण्डर बिक्री वितरण नगर्न निगमको आग्रह

नेपाल आयल निगमले नयाँ ग्यास सिलिण्डर बिक्री वितरण नगर्न/नगराउन व्यवसायीलाई अनुरोध गरेको छ । निगमले विज्ञप्ति जारी गर्दै प्रमाणीकरण भएका तथा हाल बजारमा चलनचल्तीमा रहेका ग्यास सिलिण्डरमा मात्रै ग्यास बिक्री गर्न उद्योगी तथा बिक्रेतालाई निर्देशन दिएको हो । पहिलोपटक ग्यास उपभोग गर्ने उपभोक्तालाई भने ग्यास बिक्रीमा रोक नहुने निगमको भनाइ छ । ‘१४.२ केजी ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था लागू भएसँगै बजारमा माग बढ्न गएको र आपूर्ति सहज गर्ने नाममा उद्योग तथा बिक्रेतामार्फत नयाँ ग्यास सिलिण्डर बिक्री गरेको भनी गुनासो आएको छ’, निगमले जारी गरेको परिपत्रमा भनिएको छ, ‘उद्योग तथा बिक्रेतामार्फत नयाँ ग्यास सिलिण्डर बिक्री वितरणको कार्य नगर्न/नगराउनुहुन अनुरोध छ । तर, नयाँ उपभोक्तालाई बिक्रीमा रोक लगाइएको होइन ।’

सिलिण्डर कहाँ हराए ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीको असहयोगका कारण आपूर्तिमा समस्या देखिएको बताउनुभएको छ । सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री यादवले ५८ वटै निजी ग्यास उद्योगले प्रभावकारी काम गर्न नसकेको गुनासो गर्नुभयो । नेपाल आयल निगमअन्तर्गत आफ्नै ग्यास उद्योग हुनुपर्ने उहाँको भनाइ छ । ‘हामीसँग ग्यास उद्योग ५८ वटा छ । हाम्रोजस्तो देशमा दुई वटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन । साँच्चिकै सोध्नुहुन्छ भने धेरैमा दुईटा । सबै खारेज गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘ठूलो–ठूलो देशमा तीन वटाभन्दा बढी छैन ग्यास उद्योग, यहाँ किन ५८ वटा छ ? करोडौँ लिएर उनीहरूलाई लाइसेन्स दिएको छ । उद्योगीहरू पनि त्यो करोडौँ त उठाउनुपर्‍यो नि ! उनीहरू उठाइरहेको छ ।’

काठमाडौंका लागि सोमबार ४५ हजार र मंगलबार ४८ हजार सिलिण्डर पठाइएको भनिए पनि बजारमा १९-२० हजारभन्दा बढी सिलिण्डर नपुगेको उहाँले बताउनुभयो । बाँकी सिलिण्डर कहाँ हराए ? भन्ने पत्ता लाग्न नसकेको उहाँको भनाइ छ ।

उद्योगी र कर्मचारीले टेरेनन्, केही गर्न सकिनँ : मन्त्री यादव

उद्योगमन्त्री गौरीकुमारी यादवले उद्योगी र कर्मचारीले नटेर्दा आफू निरीह बन्नुपरेको बताउनुभएको छ । संसदीय समिति बैठकमा उहाँले उद्योगीलाई कडाइ नगरेसम्म समस्या समाधान नहुने बताउनुभयो । दसौँपटक पत्राचार गर्दा पनि उद्योगीहरूले विवरण नदिएको मन्त्री यादवले बताउनुभयो । कानुनभित्र रहेर काम गर्दा सरकार नै निरीह बन्नुपरेको उहाँको भनाइ छ । कर्मचारीले सहयोग नगर्दा केही काम गर्न नसकेको समेत उहाँले बताउनुभयो । व्यवसायीलाई पाता नफर्काएसम्म ग्यास सहज नहुने उहाँको दाबी छ । ‘मैले हात जोडेरै सबैलाई भनेको छु– ग्यासको आपूर्ति सहज बनाइदिनुस् । सबै उद्योगीहरूलाई बसाएर भनेको छु । तर, हात जोडेर नहुँदो रहेछ । सबै उद्योगीहरूको हिसाबले हाम्रो कर्मचारीतन्त्र चलिराखेको छ । यो चेन्ज गरेर ल्याउनुस् भन्यो हुँदैन, मिल्दैन हजुर भन्छन् । १० चोटि भन्नुस्, मिल्दैन भन्छ’, उहाँले भन्नुभयो । निजी उद्योगीहरूको एकाधिकार तोड्न नेपाल आयल निगममातहत आफ्नै ग्यास उद्योग खोल्नैपर्ने उहाँले धारणा राख्नुभयो । देशमा ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको उहाँको भनाइ छ ।

सरकारकै नालायकीले समस्या आएको हो : व्यवसायी

सरकारले उद्योगीलाई दोष दिए पनि उनीहरूले त्यो स्वीकार्न तयार छैनन् । बरु सरकारकै कारण समस्या आएको उनीहरूको भनाइ छ । यसअघि आफूहरूले दिएको सुझाव नमान्दा अहिले समस्या आएको एक उद्योगीले बताउनुभयो । ग्यास आपूर्तिको समस्या अझै केही समय समाधान नहुने उहाँको भनाइ छ । ‘समस्या उद्योगीका कारणले नभई सरकारकै कारण आएको हो । सुरुमै हामीले दिएको सुझाव मानेको भए अहिले समस्यै आउँदैनथ्यो’, नाम उल्लेख नगर्न आग्रह गर्दै एक उद्योगीले हिमालय टाइम्ससँग भन्नुभयो, ‘यो आधा ग्यास लिन थालेदेखि समस्या आएको हो । हामीले त्यसो नगरौँ भनेका थियौँ । सरकारले सुनेन । सरकारकै नालायकीले अहिले समस्या आयो ।’ यो समस्या तत्कालै समाधान नहुने ती उद्योगीको भनाइ छ । उद्योगीहरूले जुनसुकै कम्पनीका सिलिण्डर पनि साट्न नसकिने बताएका छन् । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले एक कम्पनीको सिलिण्डर दिएर अर्को कम्पनीको सिलिण्डर साट्न नसकिने बताउनुभयो । जुनसुकै सिलिण्डर साट्न सकिने कुरा व्यावहारिक रूपमा कठिन हुने उहाँको भनाइ छ ।

खाली सिलिण्डर बोकेर सिंहदरबार अगाडि विद्यार्थीको प्रदर्शन

ग्यासको अभाव अन्त्यको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । ग्यास सहज आपूर्तिको माग गर्दै नेकपानिकट अखिल क्रान्तिकारी विद्यार्थी संघले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको हो । विद्यार्थीहरू ग्यासका सिलिण्डर नै बोकेर प्रदर्शनमा उत्रिएका थिए । विद्यार्थी र सर्वसाधारणले भोग्दै आएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न उनीहरूले सरकारसँग माग गरेका छन् । बजारमा पर्याप्त ग्यास उपलब्ध गराउन तथा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नसमेत उनीहरूको माग छ । यसअघि भदौ पहिलो साता नेपाल विद्यार्थी संघले पनि काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको थियो । ग्यास अभावले विद्यार्थीलाई समस्या परेको भन्दै उनीहरूले रित्तो ग्यास सिलिण्डर बोकेर प्रदर्शन गरेका थिए ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया