चैत्र १६, २०८० शुक्रबार March 29, 2024

मोबाइलमा भन्दा ल्यापटपमा इन्टरनेट स्लो भयो ? यसो गर्नुहोस्

इन्टरनेट सेवाप्रदायकले नै तपाईँको डिभाइसमा प्रतिबन्ध लगाउँदा पनि ल्यापटपमा इन्टरनेट स्लो हुनसक्छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । घर अथवा कार्यालयमा काम गर्दा मोबाइलमा भन्दा ल्यापटपमा इन्टरनेट स्लो चल्ने समस्या धेरैले भाेग्नुभएकाे हाेला । मोबाइलमा चलाउँदा राम्रै चल्ने इन्टरनेट ल्यापटपमा किन स्लो चल्छ त ? यसाे हुनुका पछाडि धेरै कारण हुन सक्छन् । आज हामी यसै विषयमा जानकारी दिँदै छौँ ।

मोबाइलको तुलनामा ल्यापटपमा इन्टरनेट किन स्लो हुन्छ ? 

तपाईँको ल्यापटपमा इन्टरनेट स्लो हुनुको पहिलो कारण तपाईँ जुन मोबाइल फोनको स्पिडसँग तुलना गरिरहनु भएको छ, त्यसले नै उक्त ब्यान्डविथ ओगटेको हुनसक्छ ।

यसका साथै अर्को कारण भनेको तपाईँको मोबाइलमा हुने एपले प्रयोग गर्ने नेटवर्क हो । कहिलेकाहीँ धेरै ब्यान्डविथ खपत गर्ने एप अथवा वेबसाइट/ब्राउजर माेबाइलमा प्रयाेग गर्दा पनि तपाईँको मोबाइलले धेरै इन्टरनेट स्पिड तानिरहेको हुन्छ ।

अर्को कारण भनेको ल्यापटपको हार्डवेयरमा समस्या आउनु, नेटवर्क ड्राइभरहरू पुराना हुनु वा इन्टरनेट सेवाप्रदायकले नै तपाईँको डिभाइसमा प्रतिबन्ध लगाउँदा पनि ल्यापटपमा इन्टरनेट स्लो हुनसक्छ ।

ल्यापटपमा इन्टरनेट स्लो हुँदा के गर्ने ?

मोबाइलमा चलेको जत्तिकै फास्ट इन्टरनेट ल्यापटपमा पनि प्रयोग गर्न सबैभन्दा सुरुमा ध्यान दिनुपर्ने कुरा भनेको ल्यापटपको नेटवर्क ड्राइभर हो ।

ल्यापटपको नेटवर्क ड्राइभर अपडेट गर्ने, डोमेन नेम सिस्टम (डीएनएस) परिवर्तन गर्ने, हार्डवेयरका समस्याहरू समाधान गर्ने, विन्डोज अपडेट रोकिएको छ भने त्यसलाई पुन: सुचारु गर्ने लगायतका उपायले ल्यापटपको समस्या समाधान हुनसक्छ ।

यी बाहेक अन्य केही उपाय यहाँ उल्लेख गरिएको छ:

१. इन्टरनेट नै स्लो भएको हो कि होइन भन्ने यकिन गर्नुहोस् 

कहिलेकाहीँ समस्या आफ्नो ल्यापटपमा भएजस्तो लागेपनि समस्या इन्टरनेटमा हुनसक्छ । त्यही भएर पहिले समस्या इन्टरनेटमा नै हो कि आफ्नो डिभाइसमा हो भनेर पत्ता लगाउन आवश्यक हुन्छ । यसका लागि बजारमा उपलब्ध इन्टरनेट स्पिड पत्ता लगाउने विभिन्न टुलहरू प्रयोग गर्न सकिन्छ ।

Why Are Your Internet Speeds Always Slower Than What You Paid For? -  Dignited

इन्टरनेट स्पिड पत्ता लगाउन टुलहरूको विषयमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । यसरी इन्टरनेट स्पिड चेक गर्दा यदि अन्य डिभाइसहरूमा तपाईँको प्याकेज बराबरको स्पिड आइरहेको छ, तर तपाईँको ल्यापटपमा फरक स्पिड आइरहेको छ भने तपाईँको आईएसपीले तपाईँको डिभाइस रेस्ट्रिक्ट पनि गरेको हुनसक्छ ।

यसको अर्को कारण भनेको तपाईँको आफ्नै ल्यापटपको हार्डवेयरको समस्या पनि हुनसक्छ ।

२. हार्डवेयरको समस्या 

ल्यापटपको हार्डवेयरको समस्याबारे पत्ता लगाउनको लागि निम्नलिखित कुराहरू याद गर्नु जरुरी हुन्छ ।

– राउटरदेखि तपाईँले प्रयोग गर्ने डिभाइसबीचको दूरीले पनि इन्टरनेट स्पिडको निर्धारण गर्दछ । यस्तोमा तपाईँले आफ्नो राउटर र ल्यापटपको दूरीलाई कम गराएर हेर्न सक्नुहुन्छ । अथवा राउटर र मोबाइलको दूरी जतिकै दूरीमा ल्यापटपलाई राखेर चेक गर्न सक्नुहुन्छ ।

– ल्यापटपको नजिकै रेडियो तरंग अथवा रेडियो वेभहरू प्रसारण हुने केही उपकरणहरू छन् भने यसले इन्टरनेटको स्पिडलाई कम गर्न सक्छ । त्यस्ता उपकरणबाट टाढा रहेर ल्यापटप प्रयोग गर्नुहोस् ।

– आफ्नो इन्टरनेटको राउटरलाई समय-समयमा रिस्टार्ट गर्नुहोस्

३. इन्टरनेट सेवाप्रदायकको समस्या

यदि तपाईँको घरमा भएको एक मात्र नभइ हरेक ल्यापटपमा इन्टरनेट स्लो छ भने यसमा इन्टरनेट सेवाप्रदायकको समस्या पनि हुनसक्छ ।

यसका लागि तपाईँले आफ्नो डीएनएस सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ । यदि यसले इन्टरनेट स्पिड बढायो भने ठीकै छ । यदि बढाएन भने आफ्नो सेवाप्रदायकलाई सम्पर्क गर्नु उचित हुन्छ ।

४. प्रयोगमा नभएका डिभाइसलाई इन्टरनेटबाट डिस्कनेक्ट गर्नुहोस् 

इन्टरनेट जोडिएका सबै डिभाइसले ब्यान्डविथ खपत गरिरहेको हुन्छ । यसले गर्दा कहिलेकाँही प्रयोगमा नभएका डिभाइसहरूले पनि तपाईँको स्पिडलाई स्लो बनाइरहेको हुन्छ ।

त्यसैले कुनै डिभाइस प्रयोगमा छैन भने उक्त डिभाइसलाई इन्टरनेटबाट डिस्कनेक्ट गर्नु उचित हुन्छ ।

५. ब्याकग्राउन्ड सेवा तथा प्राेसेस बन्द गर्नुहोस् 

हाम्रो मोबाइलमा जस्तै ल्यापटपमा पनि विभिन्न प्रकारका सेवाहरू अथवा एपहरू ब्याकग्राउन्डमा चलिरहेको हुन्छ । यसले गर्दा पनि हाम्रो इन्टरनेट स्पिड स्लो हुनपुग्छ । यसको लागि तलको प्रक्रिया अपनाउनुहोस्:

– स्टार्ट बटनमा राइट क्लिक गरेर टास्क म्यानेजरमा जानुहोस् ।

– प्रोसेसेस लेखेको ट्याबमा क्लिक गर्नुहोस् ।

– नेटवर्कमा क्लिक गर्नुहोस् । यहाँ तपाईँले कुन एपले कति इन्टरनेट खपत गरिरहेको छ भनेर देख्न सक्नुहुन्छ ।

– धेरै ब्यान्डविथ खपत गरेको तर धेरै प्रयोगमा नभएका सेवाहरूलाई राइट क्लिक गरेर इन्ड टास्क क्लिक गर्नुहोस् ।

– यसपछि स्टार्टअप एपमा क्लिक गर्नुहोस् ।

– उक्त एपहरूमा राइट क्लिक गरेर डिसेबलमा क्लिक गर्नुहोस् ।

– यति गरिसकेपछि विन्डोज र आर (windows+R) क्लिक गरेर रन एप्लिकेसन ओपन गर्नुहोस् ।

– यहाँ msconfig टाइप गरेर ओके क्लिक गर्नुहोस् ।

– सर्भिसेस भन्ने ट्याबमा क्लिक गर्नुहोस् र सिस्टम कन्फिगरेसन क्लिक गर्नुहोस् ।

– हाइड अल माइक्रोसफ्ट सर्भिसेस क्लिक गर्नुहोस् ।

– यसपछि डिसेबल अल अप्सनमा क्लिक गर्नुहोस् ।

६. विन्डोज र एप अपडेटहरू डिसेबल गर्नुहोस् 

हाम्रो प्रणालीलाई भाइरसमुक्त राख्न र उपलब्ध नयाँ सुविधाहरूमा पहुँच पाउन, अपरेटिङ सिस्टमलाई नियमित रूपमा अपडेट गर्न आवश्यक छ । तर यदि यस्ता अपडेटले तपाईँको नेटवर्क रिसोर्टसको स्थान ओगटेको छ भने यो तपाईँको लागि समस्या हो । त्यसकारण, तपाईँले तिनीहरूलाई केही समयका लागि डिसेबल गर्न सक्नुहुन्छ ।

यसो गर्दा थर्ड पार्टी एपहरू पनि रोकिनसक्छ । तर यदि ती एपहरू काम छैनन् अपडेट रोकेकै उपयोगी हुनसक्छ । यसको लागि टास्क म्यानेजरमा गएर यस्ता एपहरूलाई डिलिट गर्न अथवा डिसेबल गर्न सकिन्छ । यसका साथै माइक्रोसफ्ट स्टोरको अटोमेटिक अपडेट प्रणालीलाई पनि रोक्न सकिन्छ ।

७. नेटवर्क ड्राइभर अपडेट गर्नुहोस् 

के तपाईँले कहिल्यै सोच्नुभएको छ, तपाईँको डिभाइसले तपाईँको राउटरबाट कसरी सिग्नल लिन्छ ?

यसमा नेटवर्क ड्राइभरको भुमिका हुन्छ जसले हार्डवेयर/सफ्टवेयरलाई इन्टरनेटको पहुँचमा ल्याउछ । यदि तपाईँको नेटवर्क ड्राइभरहरू पुराना भएका छन् भने यसले पनि इन्टरनेट स्पिडमा असर गर्नसक्छ ।

यसको लागि ड्राइभरहरू अपडेट गर्नु जरुरी छ ।

नेटवर्क ड्राइभर अपडेट गर्न यसो गर्नुहोस्:

– विन्डोज स्टार्ट बटनमा राइट क्लिक गर्नुहोस् र डिभाइस म्यानेजरमा क्लिक गर्नुहोस् ।

– त्यहाँ उपलब्ध  क्याटगोरीमध्ये नेटवर्क एडप्टरमा क्लिक गर्नहुोस् ।

– त्यहाँ विभिन्न ड्राइभरहरूको सूची आउँछ । उक्त सूचीमध्ये आफूले अपडेट गर्न चाहेको ड्राइभरमा राइट क्लिक गर्नुहोस् र अपडेट ड्राइभर भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

यदि माथि उल्लेखित कुनै पनि उपायले तपाईँको इन्टरनेट छिटो भएर यसको अर्को उपाय भनेको सोझै इथरनेटको केबल ल्यापटपमा जोडेर प्रयोग गर्नुहोस् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया