असार १९, २०८२ बिहिबार July 3, 2025

भारतले १२ वर्षदेखि नेपाली भूमिमा डोजर चलाउँदा कहाँ थिए हाम्रा गुप्तचर संयन्त्र ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः भारतले नेपाली भूमि कालापानी क्षेत्रमा सडक बनाएको भनेर देश तरंगित मात्र भएको छैन, सरकारले समेत आश्चर्य प्रकट गरेको छ । भारतले यो सडक रातारात बनाएको होइन, सन् २००८ मा नै निर्माण सुरु गरेको हो । नेपाली भूमिमा सयौँ मजदुर र डोजर परिचालन गरेर १२ वर्षसम्म विदेशीले सडक खन्दा हाम्रा सुरक्षा र गुप्तचर संयन्त्र कहाँ थिए ? तिनले के रिपोर्टिङ गरिरहेका थिए ? सरकार के गरिरहेको थियो ? स्वाभाविक प्रश्न उठेको छ ।

गुप्तचरीका लागि नै भनेर नेपालमा राष्ट्रिय अनुसन्धान विभाग छ । जहाँ नेपाल प्रहरीको जस्तै संरचना छ । प्रहरीको आइजिपीजस्तै मुख्य अनुसन्धान निर्देशक, एआइजीजस्तै अतिरिक्त मुख्य अनुसन्धान निर्देशकदेखि हवल्दार र सिपाही तहसम्मका कर्मचारी छन् । यो संगठनमा अहिले दुई हजार दुई सय कर्मचारी छन् । अनुसन्धान विभागका कर्मचारीका लागि तलब र प्रशासनिक खर्चबाहेक थप पाँच करोड बजेट हुन्छ । यो खर्च विभागका हाकिमहरूले कुनै पनि सूचनाका लागि खर्च गर्न पाउँछन्, जसको विवरण उनीहरूले सरकारलाई पनि दिनुपर्दैन ।

अनुसन्धान विभाग पहिले गृह मन्त्रालयअन्तर्गत थियो । तर, यो विभागको काम प्रभावकारी बनाउने भन्दै केपी ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागसँगै गुप्तचर विभाग पनि सीधै प्रधानमन्त्रीमातहत ल्याएका थिए । तर, प्रधानमन्त्रीमातहत आएपछि पनि अनुसन्धान विभागले आफ्नो देशमा विदेशीले सडक खनिरहेको सूचना प्रधानमन्त्रीसम्म किन पुर्‍याउन सकेन भन्ने प्रश्नमा गृहका एक अधिकारीले भने, ‘सडक नै खनेको सूचना त सरकारलाई पहिलेदेखि नै थियो, सरकारले प्रतिक्रिया मात्र नदिएको हो,’ उनले भने, ‘तर, राष्ट्रिय अनुसन्धान विभाग अहिले राष्ट्रिय सुरक्षाका लागि भन्दा पनि राजनीतिक स्वार्थका लागि प्रयोग हुने गरेको छ । सरकारमा जो छ, उसले विपक्षीको सुराकी गर्न प्रयोग गर्छन् । राष्ट्रिय सुरक्षाका लागि सूचना संकलन गर्ने चासो, सीप र मनोबल गुप्तचरका अधिकारीसँग बाँकी छैन, व्यक्तिगत सुराकीका रूपमा भने परिचालन हुन्छन् ।’

अनुसन्धान विभागबाहेक अन्य सुरक्षा संयन्त्रमा पनि गुप्तचर युनिट छन् । नेपाली सेनामा सैनिक गुप्चतर महानिर्देशनालय (डिजिएमआई) छ, जसको नेतृत्व उपरथीले गर्छन् । लगभग सबै जिल्लामा सेनाका गण छन् र हरेक गणमा रहेका गुप्तचर युनिटबाट यो महानिर्देशनालयलाई सूचना आउने गर्छ । सेनाले यसरी संकलन गरेको सूचना रक्षा मन्त्रालय, प्रधानमन्त्री र राष्ट्रपतिसम्म पुर्‍याउने गर्छ । तर, देशको सार्वभौमिकतामाथि यति ठूलो घात हुँदा सेना र उसको गुप्तचर महानिर्देशनालयले सूचना किन संकलन गर्न सकेन, र त्यो सूचना रक्षामन्त्री र प्रधानमन्त्रीले किन पाएनन्, पाएका थिए भने अहिले किन आश्चर्यमा परेका छन् भन्ने प्रश्न उठेको छ ।  सीमा सुरक्षाको जिम्मा सरकारले सशस्त्र प्रहरीलाई जिम्मा दिएको छ । देशको चारैतिरको सीमा रक्षा गर्न अहिलेसम्म जम्मा एक सय २० बोर्डर आउट पोस्ट स्थापना गरिएको छ । भारतले कालापानी क्षेत्र आफ्नो नक्सामा समेटर गत कात्तिकमा नक्सा सार्वजनिक गरेपछि पश्चिम दार्चुलाको लिपुलेक क्षेत्रमा बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । तर, आठ महिनासम्म प्रक्रिया अघि बढेको छैन ।

दार्चुलाको व्यास नगरपालिका- १ मा बिओपी स्थापना गर्ने निर्णय भए पनि पूर्वाधार नभएकाले पोस्ट राख्न नसकिएको सशस्त्र प्रहरीका एक अधिकारीले बताए । ‘भौगोलिक रूपमा विकट भएकाले त्यहाँ पुग्नै समस्या छ, खाद्यान्नलगायत बन्दोबस्तीका सामान पुर्‍याउन गाह्रो छ, त्यसका लागि बजेट पनि आएको छैन,’ उनले भने । त्यसवेला सरकारले चीनसँगको सीमामा पनि तीन बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरीले बिओपी स्थापना गर्ने निर्णय भएको थियो । जसमध्ये किमाथांकामा मात्र पोस्ट स्थापना भएको छ ।

त्यसो त सूचना संकलनका लागि नेपाल प्रहरी र गृह मन्त्रालयमा पनि युनिट छन् । प्रहरीमा राअ विभाग नै छ । त्यस्तै सूचना संकलनका लागि गृहमन्त्रीले मासिक एक लाख र गृहसचिवले मासिक ५० हजारसम्म आफूखुसी खर्च गर्न सक्छन्, जसको कुनै हिसाब देखाउने गरिएको छैन । तर, ती युनिटको सूचनाले पनि यति संवेदनशील सूचनामा सहयोग गर्न सकेन ।

आफ्नो भूमिमा विदेशीले १२ वर्षदेखि बनाइरहेको सडक उद्घाटन भएपछि मात्र थाहा पाउनुले देशको सूचना र सुरक्षा संयन्त्रसमेत कति कमजोर छ भन्ने प्रस्ट भएको छ । लिपुलेक क्षेत्रमा सुरक्षा निकायको उपस्थिति नभएकाले यसबारे सूचना प्राप्त गर्न नसकिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । ‘लिपुलेकमा भारतले सडक बनाइरहेको सूचना हामीलाई पहिला कुनै पनि निकायबाट आएको थिएन,’ उनले भने ।

तर, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने सरकारलाई यो विषयमा वर्षौंदेखि जानकारी भएको बताउँछन् । ‘सन् १९९९ सालदेखि बनाइरहेको कुरा के भन्नु ? हामीले बुझिराखेका थियौँ, थाहा पाएका थियौँ । अहिले एकाएक सडक खन्यो भन्ने बुझाइ छ, तर एकाएक होइन नि । हामीले दाबी सधैं गरिराख्यौँ, तर उसले कहिल्यै छोडेन,’ उनले नयाँ पत्रिकासँग भने । नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू भने लिपुलेकमा भारतले सडक बनाइरहेकोबारेमा आफूहरूले नियमित जानकारी गराउँदै आएको बताउँछन् । राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारी भन्छन्, ‘यो विषयमा सरकारलाई धेरैपटक प्रतिवेदन गएको छ । यति ठूलो विषयमा हामीले प्रतिवेदन नदिने कुरै हुँदैन ।’

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा यसबारे विगतमा जानकारी थिएन भन्नु सरकारको लाचारी भएको बताउँछन् । ‘लिपुलेक हुँदै व्यापार गर्न सन् २०१५ मै भारत र चीनले बेइजिङमा सहमति गरेका थिए, व्यापार गर्ने भनेको सडक पनि बनाउने हो । त्यतिवेला पनि यसबारे बहस भइसकेपछि सरकारले विज्ञप्ति निकालेको थियो, तर त्यसपछि नेपाल चुप बस्यो, तर अहिले पनि दबाब बढेपछि थाहा थिएन भन्नु लाचारी हो,’ उनले भने ।

लिपुलेकमा भारतले सडक निर्माण गरिरहेको विषयमा सरकारसँग सूचना थियो, तर सरकारले गम्भीरतापूर्वक नलिँदा समस्या बढेको बताउँछन् राष्ट्रिय अनुसन्धान विभागका पूर्वअनुसन्धान निर्देशक विनोदकान्त ठाकुर । संवेदनशील सीमावर्ती क्षेत्रका रूपमा विभागले दार्चुलालाई तोकेको छ, जहाँ १० देखि १२ कर्मचारी कार्यरत रहन्छन् । अनुसन्धान विभागको सुदूरपश्चिम क्षेत्रीय प्रमुख हुँदा पनि लिपुलेकमा भारतले सडक निर्माण गरिरहेको सूचना सरकारलाई पठाएको ठाकुरले स्मरण गरे । ‘हामीले सूचना दिएका हौँ, तर माथिल्लो निकायबाट गम्भीरतापूर्वक लिइएन र कुनै निर्देशन पनि आएन । थप निर्देशन नआएपछि विभागका कर्मचारीले धेरै सोधखोज गर्न मिल्दैन,’ उनले नयाँ पत्रिकासँग भने ।

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा पनि नेपाल प्रहरी र अनुसन्धान विभागका एसएसपीस्तरका कर्मचारी मात्र होइन, सैनिक सहचारी पनि खटिएका छन् । सुरक्षा निकायसम्बद्ध अधिकारीले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वार्थमा तलमाथि कहाँ–कहाँबाट भएको छ भन्ने रिपोर्ट आफ्नो मुख्यालयमा पठाइरहनुपर्छ । दिल्लीमा खटिएका एकजना पूर्वगुप्तचर अधिकारी भन्छन्, ‘लिपुलेकतर्फ सडक निर्माण भइरहेको छ भन्ने सूचना कुनै गोप्य होइन । हामीले माथिल्लो निकायलाई सूचना दिएका हौँ । सूचना भएरै पनि हाम्रो सरकार भारतसँग संवाद गर्न चुकेको हो ।’

चीन र भारतले लिपुलेकबाट व्यापार गर्र्छाैँ भनेर १ जेठ ०७२ मा घोषणा गरेयता पनि नेपालले सार्थक संवाद सुरु गर्न नसकेको उनको भनाइ छ । ‘नेपाली भूमिलाई भारतले कहिले नक्सामा गाभेको छ, कहिले सडक उद्घाटन गरेको छ । तर, नेपाल भने सधैँ आश्चर्यमा पर्दै आएको छ, सूचनाको कमजोरी होइन, राष्ट्रिय जिम्मेवारीबोधको कमीले यस्तो भएको हो,’ उनले भने । नयाँपत्रिका दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसको कुस्र्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु
२०८२ असार १९, बिहिबार
पोर्चुगलका पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता
२०८२ असार १९, बिहिबार
हामी सबैको लक्ष्य समृद्ध प्रदेश निर्माण : मुख्यमन्त्री लामा
२०८२ असार १९, बिहिबार
प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन
२०८२ असार १९, बिहिबार
सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त
२०८२ असार १९, बिहिबार
आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य
२०८२ असार १९, बिहिबार
विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
२०८२ असार १९, बिहिबार