असार २८, २०८२ शनिबार July 12, 2025

सरकार तत्काल भारतसँग वार्ता गर्ने तयारीमा छः परराष्ट्रमन्त्री ज्ञवाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली भूमि मिचिएको सम्बन्धमा सरकार तत्काल भारतसँग वार्ता गर्ने तयारीमा रहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदको प्रश्नको जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले भारतले कोरोना भाइरसको महमारी अन्त्य भएपछि वार्ता गर्ने भने पनि आफूहरु तत्काल वार्ता गर्ने प्रयासमा रहेको बताएका हुन् ।

समितिका सदस्य सांसदहरुले तत्काल नेपालको नक्सा सार्वजनिक गरी भारतसँग वार्ता गर्नु पर्ने माग गरेका थिए । उनीहरुले देशको सार्वभौमसत्ता माथिको आक्रमण अति गम्भीर विषय रहेकाले कोरोना भाइरसको बहाना बनाएर त्यसलाई ओझेलमा पार्न नहुने बताएपछि मन्त्री ज्ञवालीले सरकार तत्काल वार्ताका लागि प्रयासरत रहेको जवाफ दिएका हुन् ।

उनले भनेका छन्, ‘सरकार सीमा विवाद समाधान गर्न गम्भीर र दृढ छ । वार्ता तत्काल गर्ने प्रयासमा छौँ ।’

उनले अघि भने, ‘हामी राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्छौँ । जुनसुकै तहमा वार्तामा गर्न तयार छौँ । दुवै पक्षले स्वीकार गरेको परराष्ट्र सचिव स्तरीय वार्ता नै हो । हामी प्रधानमन्त्री वा परराष्ट्र मन्त्री तहमा तत्काल कुरा गर्न चाहिरहेका छौँ ।’

नेपाल सरकार कोरोना भाइरसको महामारीपछि वार्ता गर्ने पक्षमा नरहेको उनले बताएका छन । उनले भने, ‘तत्काल कुरा गर्नुपर्छ भन्ने हाम्रो अडान हो।’

कुटनीतिक माध्यमबाटै कुरा गर्ने पक्षमा रहेको भन्दै त्यसले काम नगरे मात्र अरु विकल्पमा जान सकिने उनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया