जेठ ६, २०८१ आइतबार May 19, 2024

लिपुलेक सडक प्रकरणः वार्षिक ३० हजार धार्मिक पर्यटक गुम्ने जोखिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली भूमिभित्र रहेको लिपुलेकमा भारतले सडक निर्माण गर्दाको असर कूटनीतिक क्षेत्रमा मात्र होइन, मुलुकको पर्यटन क्षेत्रमा समेत पर्ने देखिएको छ । चीनको कैलाश मानसरोवर यात्राका लागि जाने भारतीय पर्यटकले अहिले नेपाली भूमि प्रयोग गर्दै आएका छन् । भारतको सिक्किमस्थित नाथुला नाकाबाट मानसरोवर जान मिल्ने भए पनि सहजताका कारण भारतीय पर्यटकको रोजाइ नेपालकै रूट हुने गरेको छ ।

सामान्यतया मानसरोवर यात्राको सिजन मेदेखि सेप्टेम्बर हो । कोरोना भाइरसका कारण यस वर्ष मानसरोवर यात्रामा चीनले रोक लगाएको छ । अर्र्को वर्षको सिजनमा भारतले निर्माण गरेको सडकमार्ग प्रयोग गर्ने सम्भावना उच्च देखिँदा नेपाली पर्यटन क्षेत्रले पर्यटक मात्रै नभई अर्बाैं आम्दानीका साथसाथै रोजगारी पनि गुमाउने जोखिम बढेको छ । साथै भारतीय पर्यटकलाई लक्षित गरेर नेपालगञ्ज तथा हुम्लामा होटल व्यवसायमा लगानी गरिएको करोडौं रकम पनि जोखिममा पर्ने भएको छ ।

भारतले उक्त सडक बनाएपछि मानसरोवरका लागि हालसम्म सञ्चालित रूटमध्ये सबैभन्दा छोटो पर्छ । लिपुलेकबाट मानसरोवर १०० किलोमीटर (किमी) दूरीमा पर्छ जब कि नेपालको बाटो हुँदै पहिला हिल्सा पुग्नुपर्ने र हिल्साबाट मानसरोवरसम्म ११० किमी दूरीको यात्रा तय गर्नुपर्छ । यसले गर्दा पनि उनीहरूको रोजाइमा आप्mनै भूमि हुँदै मानसरोवर पुग्ने सडक पर्ने नेपाली टूर अपरेटहरू बताउँछन् । उनीहरूका अनुसार वार्षिक करीब ३० हजार भारतीय पर्यटक नेपालले गुमाउने सम्भावना छ ।

कैलास मानसरोवर जाने पर्यटकलाई लक्षित गरेर सञ्चालन भएका टूर अपरेटरहरूको संस्था एशोसिएशन अफ कैलास टूरअपरेटर्स नेपाल (एकेटीओएन)का अध्यक्ष नारायण पोखरेलले भारतले सडक बनाइसकेपछि नेपालको व्यवसाय गुम्ने जोखिम भएको बताए । पछिल्लो समय मानसरोवर यात्रा गर्ने भारतीय पर्यटकको संख्या वार्षिक १५ देखि २० प्रतिशतले बढ्दै जाँदा सोहीअनुसार लगानी थपिरहेका नेपाली पर्यटन व्यवसायीहरूलाई पछिल्लो घटनाक्रमले निराश बनाएको छ

‘यही अनुपातमा पर्यटक वृद्धि हुँदै जाँदा केही वर्षमै यस्तो संख्या ५० हजारसम्म पुग्ने आकलन गरिएको थियो,’ पोखरेलले भने, ‘नेपालगञ्ज–हिल्सा (हुम्ला) र सुर्खेत–हिल्सा जोड्ने सडक बनेको भए पनि केही राहत हुने थियो । तर, सरकारले चासो नदिँदा यो विकल्प पनि गुम्ने देखिन्छ ।’

अहिले यस क्षेत्रबाट २० देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेको उनको भनाइ छ । भारतीय धार्मिक पर्यटकलाई लक्षित गर्दै नेपालगञ्जमा पाँचतारेदेखि दुईतारे होटेल खुलेका छन् भने सिमिकोट र हिल्सामा होटेलहरूको संख्या बढेको छ । अार्थिक अभियान दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया