असार २३, २०८२ सोमबार July 7, 2025

मध्यरातमा विराटनगर छिरे दिल्लीबाट आएका १५ युवा,क्वारेन्टाइनमा राख्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । दुवै देशमा लकडाउन र सीमा नाका बन्द भए पनि भारतको विभिन्न स्थानबाट करिब १५ दिनको हिँडाईपछि १५ युवा विराटनगर आइपुगेका छन्।

लकडाउनसँगै सीमा बन्द भएको अवस्थामा मोरङ, सुनसरी तथा झापाका स्थानीय युवा मंगलबार बिहान करिब अढाई बजे विराटनगर प्रवेश गरेका हुन्। बिहानै आएका सबैजनालाई सुरक्षा निकायले महागनरको १६ नम्बर वडामा राखेको छ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार लुकिछिपी नेपाल प्रवेश गरेका सबैजनालाई तत्काल सुरक्षाका हिसाबले राखिएको जानकारी दिएका छन।

प्रहरी निरीक्षक थापाका अनुसार हाल राखिएका मध्ये सुनसरीको गढी गाँउपालिकाका ५ जना, झापा शिवसताक्षीका २, झापा कन्काईका २, इटहरीका २, इनरुवा, मोरंग सुन्दरहरैंचा, पथरीशनिश्चरे र धरानका एक–एक जना रहेका छन्। प्रहरीको निगरानीमा रहेका १५ जना २० देखि २८ वर्ष उमेर समूहका रहेका छन्।

हाल प्रहरीको निगरानीमा रहेका १५ जना मध्ये ११ जना दिल्ली र ४ जनाले विहारमा मजदुरी काम गर्दै आएको बताएका छन् । लकडाउनसँगै दिल्लीबाट १५ दिनको कष्टकर यात्रा पुरा गरेर उनीहरु मध्यरात नेपाल प्रवेश गरेका हुन्।

हाल सीमापारी जोगबनीको मिडिल स्कूलमा अझै करिब ५० को संख्यामा नेपालीहरु रहेको उनीहरुले बताएका छन् । कोरोनाभाइरस कोभिड १९ सँगै काम पाउन गाह्रो र खानपानमा समस्या भएपछि आफ्नै घर फर्किएको उनीहरुको भनाई छ ।

गढी गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले गाँउपालिकाका स्थानीय आएको जानकारी पाएको बताएका छन्। जिल्ला प्रशासन कार्यालय तथा प्रहरीसँग यस विषयमा कुरा भइसकेको बताएका अध्यक्ष यादवले सबैजनाको नाम प्राप्त हुन नसकेको उल्लेख गरेका छन।

गाँउपालिकामा क्वारेन्टाइनको व्यवस्था रहेको हुनाले नाम प्राप्त भएसँगै एम्बुलेन्स पठाएर उनीहरुलाई झिकाउने अध्यक्ष यादवले जानकारी दिएका छन। त्यसैगरि, विराटनगर वडा नम्बर १६ का वडाध्यक्ष मनोज सुब्बाका अनुसार सबैजनाको स्थानीय तहका पदाधिकारीसँग समन्वयको काम भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया