काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले लिपुलेकमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
विगत लामो समयदेखि भारतीय पक्षबाट नेपालको सीमा अतिक्रमण हुँदै आएको र त्यसको दीर्घकालीन समाधान निकाल्न नसक्दा विभिन्न बहानामा अतिक्रमण हुने क्रम बढ्दै गएको भन्दै सांसदहरुले प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले सीमा अतिक्रमणको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानु पर्ने बताएका छन ।
सांसद देवेन्द्र पौडेलले कालापानी–लिपुलेक प्रकरणले नेपालीको स्वभिमानमाथि तिर रोपिएको बेला सत्तापक्ष र प्रतिपक्षी भएर कविताको सौन्दर्य विचरण नगरी समस्या समाधानका लागि सबैलाई एकतावद्ध गर्दै मूर्त र परिणाममुखी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन।
सांसद नवराज सिलवालले सीमा अतिक्रमणबारे कविता सुनाउँदै मुलुकको अस्मिता जोगाउनका लागि सरकारमाथि प्रहार गर्ने काम छोडेर संयुक्त राष्ट्रिय मोर्चा बनाई अघि बढ्न आग्रह गरेका छन् ।
सांसद धर्मशिला चापागाईँले भारतबाट नेपाली भूमि अतिक्रमण भएको प्रति खेद प्रकट गर्दै तत्काल स्थायी ढंगले सीमा विवाद समाधान गर्ने तर्फ पहल गर्न माग गरिन् ।
सांसद नन्दबहादुर रोका क्षेत्रीले भारतले पटक–पटक नेपाललाई दुःख दिने गरेको भन्दै सार्वभौमसत्ता सम्पन्न देशलाई हेप्ने भारतीय प्रवृत्ति सधैँका लागि अन्त्य गर्न सरकारले तत्काल काम गर्नु पर्ने बताएका छन ।
सांसद निरु देव पालले कूटनीतिक पहल मार्फत सीमा क्षेत्रको अतिक्रमण रोक्नका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद पार्वता डिसी चौधरीले सुगौलि सन्धिले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने प्रष्ट गरेको भन्दै पछिल्लो समय भारतले लिपुलेकमा गरेको अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जान सरकारलाई आग्रह गरिन् ।
यस्तै सांसद पूर्णकुमारी सुवेदीले सुगौलि सन्धिबाट कायम भएको नेपाली भूमि कब्जा गरि भारतले बाटो निर्माण गर्नु स्वतन्त्र सार्वभौम मुलुकमाथिको अतिक्रमण, हेपाहा प्रवृत्ति र नाङ्गो हस्तक्षेप रहेको भन्दै त्यसप्रतिघोर आपत्ति जनाइन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया