काठमाडौं । विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर अर्थात बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्दै आएका दुई रोहिंग्यामा संक्रमण पुष्टि भएसँगै त्यहाँ क्लस्टर बन्ने सक्ने चिन्ता थपिएको छ ।
कक्स बजारको शिविरमा म्यानमारमा आफूहरुमाथि भएको हिंसाबाट जोगिनका लागि भागेर आएका झण्डै १० लाख रोहिंग्याहरु बस्दै आएका छन् ।
बुद्धिस्ट बाहुल्य म्यानमारमा अल्पसंख्यक रोहिंग्या मुसलमानमाथि हिंसा हुन थालेपछि उनीहरु बंगलादेश सहितमा आश्रय लिन आइपुगेका हुन् ।
संक्रमण पुष्टि भएका दुई रोहिंग्यालाई हाल आइसोलेशनमा राखेर उपचार सुरु गरिएको सरकारी डाक्टरले बताएको बिबिसीले उल्लेख गरेको छ ।
कक्सको शिविरमा रहेको झण्डै १९ सय शरणार्थीहरुलाई पनि आइसोलेशनमा राखिएको छ । उनीहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको थाहा पाउन परीक्षण हुने भएको हो ।
कक्स बजारको शिविरमा रहेका रोहिंग्याहरु गएको मार्च १४ देखि नै लकडाउनमा छन् ।
कोरोना भाइरसको महामारी शरणार्थीहरुमा अति नै विकराल बन्न सक्ने भन्दै चिन्ता जताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया