असार २८, २०८२ शनिबार July 12, 2025

नेपाल-भारत सीमाका निश्चित नाकाहरू खुला गर्न साझाको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रविन्द्र मिश्र नेतृत्वको  साझा पार्टीले भारतसँगको सीमामा तारबार लगाउन सरकारसँग माग गरेको छ । सो पार्टीका प्रवक्ता डा. सुर्यराज  आचार्यले एक विज्ञप्ति जारी गरी साझाले नेपाल-भारत सीमाका निश्चित नाकाहरू मात्रै अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न माग गरेको हो ।

यसबाहेकका अन्य सबै भागमा तारबार लगाउन साझाको माग छ । नेपाल-भारतको सीमालाई छुट्याउने धेरै दस्तावेजहरुसमेत बेवास्ता गर्दै भारतले नेपाली भूमि मिचेको साझाले निष्कर्ष निकालेको छ ।

“भारतले ऐतिहासिक दस्तावेजहरूले प्रमाणित गरेको नेपाल-भारत सीमालाई बेवास्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा खुल्लमखुल्ला नेपाली भू-भाग अतिक्रमण गरेको छ । भारतले भर्खरै लिपुलेक भएर चीनको मानसरोवर जान खोलेको सडक त्यसैको चरम उत्कर्ष हो भन्ने हाम्रो ठहर छ ।” साझाका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साझाले सीमा विवादका विषयमा सरकारलाई भारतसँग कूटनीतिक र राजनीतिक तहमा वार्ता गर्नसमेत आग्रह गरेको छ । यस्तै दुईपक्षीय वार्ता गर्न ढिला तथा हुने अवस्था आए एकतर्फी रुपमा तारबार लगाउन पहल गर्नुपर्ने साझाले भनेको छ । यस्तै सीमा विवादमा प्रमुख दलहरूको संस्थागत रूपमा ध्यान नपुगेको र उक्त विषयमा राष्ट्रिय सहमति कायम गर्न पनि सरकारले पहल गर्नुपर्ने साझाको बुझाई छ ।

प्रेस विज्ञप्ति

नेपाल-भारत खुला सिमानालाई सदीयौंदेखि दुई देशबीचको घनिष्ठ सम्बन्धको नमूनाका रुपमा हेरिँदै आएको थियो। पछिल्लो समयमा भने दुवै मुलकका विकासका आकांक्षा, राष्ट्रिय सुरक्षाका चुनौति, अर्थतन्त्रको व्यवस्थापन, सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन लगायतका पक्षलाई ध्यानमा राख्दा खुला सीमा र अव्यवस्थित आवागमन दुबै मुलुकको हितमा छैन भन्ने साझा पार्टीको ठहर छ।

खुला सिमानाको अवधारणाले गर्दा दुई देशबीचको सीमा निर्धारणका प्राविधिक कार्य समेत प्राथमिकतामा परेका छैनन्। सयौँ सीमा स्तम्भहरू हराएका छन्। दर्जनौँ सीमा स्तम्भहरू रातारात नेपाली भूभागतर्फ सारिएका छन्। कयौँ ठाउँमा नेपालको लालपूर्जा हुँदाहुँदै नेपालीहरूले भूमीमाथिको स्वामित्व गुमाएका छन् र ती भूमीमा भारतीयहरू खेती-किसानी गर्छन्। कयौँ ठाउँमा अन्तर्राष्ट्रिय कानून विपरीत सिमानामा बाँध तथा सडकहरू निर्माण गरिएका छन् जसले गर्दा नेपाली भूभाग तथा वस्तीहरू वर्षायाममा जलमग्न हुने गर्दछन्। त्यतिमात्र होइन, सीमाक्षेत्र नजिक बस्ने धेरै नेपालीहरू भारतीय सीमा सुरक्षा बलको ज्यादतीबाट आक्रान्त छन्।

पछिल्लो समयमा भारतले कयौँ ऐतिहासिक दस्तावेज तथा नक्साहरूले प्रमाणित गरेको नेपाल-भारत सीमालाई समेत बेवास्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा खुल्लमखुल्ला नेपाली भूभाग अतिक्रमण गरेको छ। भारतले भर्खरै लिपुलेक भएर चिनको मानसरोवर जान खोलेको सडक त्यसैको चरम उत्कर्ष हो भन्ने साझा पार्टीको बुझाई छ।

खुला सिमानाले चोरी, डकैती, तस्करी लगायत राष्ट्रिय सुरक्षाका संवेदनशील पक्षहरूमा निम्त्याउने जटिलताहरू अनगिन्ती छन्। देशबाहिर स्वदेशी नागरिक र देशभित्र विदेशी नागरिक कुन प्रयोजनका लागि कति संख्यामा छन् भन्ने अभिलेख कुनै पनि सार्वभौम मुलुकका लागि महत्वपूर्ण हुन्छ। कोभिड-१९ को व्यवस्थापनमा समेत यस्तो सूचनाको महत्व खट्केको छ। भारतीय पक्षले पनि बारम्बार नेपालको खुला सीमाको दुरूपयोगका कारण उसको राष्ट्रिय सुरक्षामा आँच पुगेको बताउने गरेको छ।

यस परिप्रेक्ष्यमा साझा पार्टी सीमा क्षेत्रका स्थानीय वासिन्दाहरूलाई समस्या नपर्नेगरी नेपाल-भारत सीमामा निश्चित नाकाहरूमात्र अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र सिमानाका अन्य भागहरू तारबारसहित बन्द गर्न नेपाल सरकारसँग माग गर्दछ। त्यसको लागि राहदानी, नागरिकता र परिचयपत्रको साथै अन्य प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नु नेपाल र भारत दुवैको दीर्घकालीन हितमा भएको निश्कर्षमा साझा पार्टी पुगेको छ।

बढ्दोरूपमा गम्भीर देखिँदैगएको यो विषयमा भारत सरकारसँग कुटनीतिक र राजनीतिक तहमा वार्ता गर्न साझा पार्टी नेपाल सरकारलाई आग्रह गर्दछ। साथै द्विपक्षीय वार्तामा ढिलाई हुने अवस्था भएमा सीमा विवाद नभएका ठाउँमा नेपालले एकतर्फीरूपमै तारबार लगाउन पहल गर्न समेत हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ। हालसम्म प्रमुख दलहरूको संस्थागतरूपमा ध्यान नपुगेको यस विषयमा राष्ट्रिय सहमति कायम गर्न पनि सरकारले पहल लिनेछ भन्ने साझा पार्टी अपेक्षा गर्दछ।

डा. सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी
मिति: २ जेठ २०७७

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार