काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ । महानगरपालिकाको ४६ औँ विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो ।
‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु (नाका) हरुबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी मानिसहरु उपत्यका प्रवेश गर्ने क्रम अहिले पनि नरोकिएको गुनासो आएको छ,’ काठमाडौँ महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा–१५ का अध्यक्ष ईश्वरमान डंगोलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘ काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा वढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णय बैठकमा भएको छ ।’
त्यसैगरी लकडानउनको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामको लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थान विन्दुमै कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण गरी कोरोना भाइरस नभएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउन नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
‘लकडाउनको उलंघन गरी अनुमति नलिई लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पुर्याउने व्यक्तिलाई समेत उच्च निगरानी गरी कानुन बमोजिम कार्वाही गर्न नेपाल सरकार गृह मन्त्रालयलाई आग्रह गरेका छौँ,’ डंगोलले भने, ‘नेपाल सरकारबाट जारी कोरोना भाइरस (कोभिड१९) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम काठमाडौं महानगरपालिका क्षेत्रमा आवश्यक संख्यामा क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गर्न र आवश्यकतानुसार सशुल्क क्वारेन्टाइन सञ्चालनको व्यवस्था मिलाउन पनि हामीले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह गरेका छौँ ।’
कोभिड–१९ को संक्रमणको विस्तारलाई प्रभावकारी ढंगले रोकथाम गर्न अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरुलाई निःशुल्क र सर्वसाधारणका लागि निःशुल्क एवं सशुल्क कोरोना भाइरस सम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको डंगोलले जानकारी दिएका छन।
महानगरले त्यावश्यक कामको लागि काठमाडौं प्रवेश गर्न संघीय मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयहरुबाट जारी अनुमतिपत्र (पास) बाट काठमाडौं प्रवेश गर्ने व्यक्तिको विवरण अद्यावधिक गरी निजको निगरानी गर्न आवश्यक देखिएकोले सम्बन्धित निकायले पास जारी गर्दा नै उनीहरु काठमाडौंमा आई बसोबास गर्ने पालिका, वडा, टोल, सम्पर्क फोन नं। र घरधनीको नाम सहितको विवरण लिनुपर्ने र सो विवरण काठमाडौं हानगरपालिकालाई सम्वन्धित कार्यालयलाई उपलब्ध गराउन भनेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया