मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

घरघरमा स्वास्थ्य पहुँच पुर्‍याउँदै भरतपुर महानगर

स्वास्थ्य केन्द्रबाट रक्तचाप मापन, औषधि वितरण र सामान्य उपचार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भरतपुर महानगरपालिकाले घर–घरमा स्वास्थ्यको पहुँच पुर्‍याउने उद्देश्यले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना गर्दै आएको छ । जनताको पहुँच स्वास्थ्य क्षेत्रमा पुर्याउने उद्देश्यका साथ प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हो ।

जसअन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र भरतपुर–२४ ध्रुव सञ्चालनमा ल्याइएको छ । विगत लामो समयदेखि भाडामा सञ्चालन हुँदै आएको केन्द्रले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । केन्द्रको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक समारोहका बीच उद्घाटन गरेकी हुन् ।

रु ४६ लाखको लागतमा स्थापना गरिएको स्वास्थ्य केन्द्रबाट रक्तचाप मापन, औषधि वितरण र सामान्य उपचार हुनेछ । कार्यालय उद्घाटन गर्दै महानगर प्रमुख दाहालले अब यस क्षेत्रका जनतालाई सामान्य उपचारका लागि १२ किलोमिटर टाढा शिवनगर जानुपर्ने बाध्यता हटेको बताइन् । एक वडा एक स्वास्थ्य सेवा एकाइ कार्यक्रमअन्तर्गत अहिलेसम्म १२ वटा वडामा भवन निर्माणको काम सम्पन्न भएको बताइन् ।

यस्तै चारवटा वडामा निर्माणाधीन अवस्थामा रहेको र अन्य चारवटा अहिले पनि भाडाको भवनमा सञ्चालनमा आइरहेको उनले जानकारी दिइन् । उनले भनिन्, “जनताको घर आँगनमा सेवा दिने उद्देश्यका साथ महानगर अघि बढेको छ ।” जनतालाई शिक्षा र स्वास्थय घरघरमा पुर्याउन महानगर लागिपरेको उनको भनाइ थियो ।

महानगरपालिकाले हालसम्म वडा नं ३, ४, १०, ११, १५, २१, २२, २३, २४, २५,२८ र २९ मा स्वास्थ्यचौकी र केन्द्रका लागि भवन निर्माण गरिसकेको छ । यस्तै वडा नं ५, ७, १३ र २० मा निर्माणाधीन अवस्थामा रहेको महानगरको स्वास्थ्य महाशाखाका प्रमुख दीपक सुवेदीले बताए । उनका अनुसार वडा नं २, ५, ९ र १२ मा भवन नभएपछि अहिले आश्रम, वडा कार्यालयका भवन तथा भाडाका घरमा कार्यालय राखेर सञ्चालन गरिएको छ ।

घरघरमा स्वास्थ्यको पहुँच पुर्याउने अभियानअन्तर्गत महानगरपालिकाभित्र ४० वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । एउटा प्राथमिक स्वास्थ्योपचार केन्द्र, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, १३ वटा स्वास्थ्यचौकी, छवटा आयुर्वेदिक औषधालय, तीनवटा नगर स्वास्थ्य केन्द्र, दुईवटा स्वास्थ्य क्लिनिक र सामुदायिक स्वास्थ्य एकाइ एउटा रहेका छन् ।

वडाध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, पूर्व वडाध्यक्ष कान्छा मल्ल, नेकपा (एमाले)का वडासचिव कृष्णबहादुर गोदार र एकता सार्की समाजका अध्यक्ष दिलीप मङ्ग्रातीलगायतले बोलेका थिए । सो अवसरमा रु ३४ लाखको लागतमा निर्माण भएको जनपथ क्लब सामुदायिक भवन, रु आठ लाख ५० हजारको लागतमा निर्माण भएको सार्की समाजको भवन, रु ४५ लाखको लागतमा निर्माण भएको छेथरलिङ बौद्ध गुम्बा सङ्ग्राहलय भवनको समेत प्रमुख दाहालले उद्घाटन गरेकी थिइन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार