बुटवल । रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार राति मात्रै बाह्र सय जना नेपाली स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सयौं नेपालीले बिहीबार राति बेलहिया नाकामा आएर नाराबाजी गरेका थिए । भारतको नौतनवाका विभिन्न क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेर नाकामा आइपुगेका विभिन्न जिल्लाका नेपालीलाई बेलहिया नाकाबाट नेपाल भित्र्याइएको हो ।
शुक्रबारदेखि शुरु प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो वैठकमा विपक्षी दलका सांसदहरुले भारतीय सीमा क्षेत्र र विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन नसकेको भन्दै प्रदेश र संघीय सरकारको चर्को आलोचना गरेका थिए ।
‘शुक्रबार साँझ र राति गरी एघार सय ८५ जना नेपालीलाई रुपन्देही भित्र्यायौं’–रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘चार सय ३० जना रुपन्देहीकै पालिकाका क्वारेन्टाइनमा बसेका छन्, बाँकी सबै नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, सर्लाही, झापा, धादिङ जिल्लाका स्थानीय तहले लिएर जानुभयो ।’
लकडाउनको समयमा भारतका विभिन्न ठाउँबाट नेपाल आउन लागेका उनीहरूलाई बेलहिया नाकाबाट फर्काएर भारतको नौतुनाको क्वारेन्टाइनमा राखिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया