वैशाख २३, २०८१ आइतबार May 5, 2024

राजनीतिमा उमेर हद – प्रा. लोकराज बराल

यथास्थिति धान्न सबै दललाई धौधौ पर्ला किनभने नयाँ पिँढीको आकर्षण अब एकै खाले रहने संकेत पाइँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जोआज राजनीतिक क्षेत्रमा उमेरको हदबन्दी हुनुपर्ने बहस चलेको छ, जुन पुस्तान्तरण र रूपान्तरणसित जोडिन्छ । यसको प्रमुख कारण हो— राजनीतिलाई बढी यथास्थितिवादी, कम जनमुखी र वंशवाद कायम गर्ने तरिका मान्न थालिनु ।

उमेरले धेरै मानिस चलायमान हुन नसक्ने; असान्दर्भिक, पुरातनवादी अनि आजको समय र सन्दर्भका दृष्टिले बेकामे हुने हुँदा नयाँ पिँढीको जमातलाई आकर्षण गर्न नसक्ने भएकाले यस्तो बहस चलेको हो । नेतृत्व दिन नसक्ने व्यक्ति मात्र राजनीतिमा सधैं हावी भइरहनु लोकतन्त्रको रक्षा र विकासका लागि अर्थहीन हुन्छ । नेपालका राजनीतिक दलहरूका नेताहरूले अरूका लागि स्वतः बाटो बनाइदिनुपर्छ । कतिपय दलका दोस्रो वा तेस्रो तहका नेता र अन्य क्षेत्रले पनि यस्तै धारणा राख्दै आएका छन् ।

पहिले हाम्रो एक मात्र आर्थिक आधार कृषि थियो । सधैं हिलो–आली गर्नेहरूका लागि पोषणयुक्त आहार सन्तुलित रूपमा पाउन गाह्रो पर्थ्यो । सालमा एकदुई पल्ट मात्र मासु खान पाइन्थ्यो । कहिले दसैं आउला र खाउँला–पिउँला भन्ने हुन्थ्यो । निमोनिया र अन्य सबै खाले रोगको औषधि गाउँमा पाइँदैनथ्यो । पेटका जुका मार्न खरानी र मलेरिया भए तीतो कुइनानको झोल खानुबाहेक अर्को उपाय थिएन । धेरैले धामीझाँक्री वा पिनास झार्ने श्लोक भट्याउनेको पछि लाग्नुपर्थ्यो ।

म पनि यस्तै अवस्थाबाट सन्जोगवश बाँची यहाँसम्म आइपुगेको हुँ । मेरा धेरै आफन्त औषधि नपाई मरेर गएकाले हिजोको र आजको अवस्थाको तुलनात्मक वर्णन गर्न सक्ने भएको हुँ । मेरा बा ४० वर्ष पुगेपछि कहिलेकाहीँ ढाड दुख्ता ‘अब बूढो भइएछ’ भन्नुहुन्थ्यो, तर आज मैले मध्यअसीको दशकको उमेरमा पनि आफूलाई शारीरिक, मानसिक र भावनात्मक (इमोसनल) रूपमा सक्रिय र कर्मशील भएको पाइरहेको छु । त्यस्तै, कतिपय नेता र अन्य धेरै व्यक्ति सय वर्षको हाराहारीमा पुग्न थालेका छन् र नेपालीको आयु सरकारी आँकडा अनुसार पनि ७१ वर्षजति पुगिसकेको छ ।

अब ७० वर्षको उमेर सामान्य भएको छ र धेरै मानिस सधैं सक्रिय अवस्थामै पाइन्छन् । गरिबीमा भएका र ज्यादै विकट ठाउँका बाहेक आज सामान्य जनता औषधिबाट वञ्चित हुनुपर्दैन । टाउको वा आँखा दुखे वा यस्तै सामान्य परीक्षणका लागि पैसावाल र सरकारी कोषमा पहुँच हुनेहरूबाहेक अरूले विदेश जानुपर्दैन । जनताले तिरेको कर र गरिब युवाहरूले विदेशबाट पठाएको रेमिट्यान्समा आश्रित व्यवस्थामा स्वास्थ्यका नाममा हुने दुरुपयोगलाई कहिल्यै समर्थन गर्न सकिने कुरा भएन । सन् १९९३ मा मलाई बेलायत सरकारले बाह्रदिने भ्रमणमा बोलाउँदा मेरी श्रीमती पनि साथै थिइन् । तर उनी सरकारी पाहुना नभएकाले र होटलको खाना दुई जनाका लागि अलग्गै मगाउँदा उनको बिल मैले नै भुक्तानी गर्नुपर्थ्यो । उनीहरू भन्थे, ‘तपाईंकी श्रीमती आमन्त्रित होइनन् ।

एमाले र माओवादी केन्द्रका दोस्रो पुस्ताका केही नेता यो विषयलाई लिई सलबलाउन थालेका भए पनि बूढा भनिएका नेताहरूलाई सोझै हाँक दिने क्षमता देखाउन तिनलाई गाह्रो परेको छ र यो बहस कानेखुसीमै सीमित छ ।

उमेर बढ्दा शरीरका अंग–प्रत्यंग कमजोर हुनु, मक्किनु वा रस सुक्नु आदि प्राकृतिक नियममा पर्ने भए पनि निरोगी रहन अनेक पक्षले त्यति नै महत्त्व राख्ने रहेछन् । ९० वर्षको निरोगी मानिसको चाहना र सक्रियता उसको शारीरिक र मानसिक अवस्थासित सम्बन्धित हुन्छ ।

त्यसमा पनि विचार र मन कहिल्यै बूढो हुँदैन, यदि उसमा अग्रगामी सोच, मानवतावादी दृष्टिकोण र सामाजिक–आर्थिक विषमताको विरोध, भेदभावको अन्त्य गर्ने चाहना छ भने । प्राप्त ज्ञान (पढेर, जानेर, सुनेर पाएको) ले मात्र मानिसले आफ्नो अस्तित्वबोध गरी नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाज परिवर्तनका एजेन्डा तय गर्न सक्तैन । शिक्षा र उच्च शिक्षा हासिल गरे पनि धेरै जनाले समाजका विसंगतिविरुद्ध लड्ने क्षमता राख्तैनन् ।

रूढिवादी र कर्मकाण्डी परम्पराभित्रै उनीहरू समर्पणवादी भूमिका निर्वाह गरी अरू सर्वसाधारणसरह जीवनयापन गर्छन् । तर आत्मज्ञानबाट प्रेरित कुनै मानिस न सम्झौतावादी हुन्छ न त एजेन्डाविहीन । किनभने जस्तोसुकै परिवर्तनकारी मानवीय कामका लागि पनि उसले एजेन्डा बनाउने नेतृत्वदायी भूमिका निर्वाह गर्नैपर्छ । साधारण चेतना आउनेबित्तिकै यस्तो सोच र भूमिकाप्रति ऊ सचेत हुन्छ ।

नयाँ पिँढीमा यस्तो चेतना, नयाँ जनमुखी एजेन्डा बनाई जनविश्वास लिन सक्ने क्षमता छ कि छैन ? उसमा पुस्तान्तरण र रूपान्तरणको चेत छ कि छैन ? युवा हुँदैमा नयाँ मान्यता र सोच विकसित भैहाल्छ भन्ने हॅुदैन । कतिपय युवा वा शिक्षित व्यक्तिले पनि पुरानै संस्कार र संस्थाको वकालत गरेको देखिइरहेकै छ । राजनीतिक, सामाजिक र आर्थिक भेदको अन्त्य; सबैका लागि समान अवसर सृजना हुने अवस्थाको निर्माण एवं लोकतन्त्रको उच्चतम प्राप्ति गणतन्त्र हो भन्ने सिद्धान्तप्रति निष्ठा राख्तै नयाँ समाज निर्माणमा लाग्नुलाई अग्रगामी विकास मानिन्छ । यसमा जात, वर्ग, धर्मका आधारमा रडाको मच्चाइरहनु पर्दैन ।

ज्ञानका लागि समर्पण हुने एवं समाजमा शान्ति, स्थिरता, विकास र समानता कायम गर्ने अभियानमा जो लाग्छ, उही नेता वा अगुवा हुन सक्छ । यस्तो नेतृत्व उमेरले निर्धारण गर्दैन, यदि व्यक्तिविशेष शारीरिक–मानसिक रूपले गतिशील छ भने । ज्ञानकै दृष्टिमा अष्टावक्र (आठ अंग यताउति परेका) को अष्टावक्र गीता अझै कतिपयका लागि अलौकिक ज्ञान प्राप्त गर्ने स्रोत भएको छ ।

अपांगता वा उमेरले मात्र विश्वराजनीतिमा ठूलो भूमिका खेल्नबाट व्यक्तिविशेषलाई रोक्न नसकेको उदाहरण संयुक्त राज्य अमेरिकाका राष्ट्रपति फ्र्यांकलिन डिलानो रुजवेल्ट र चीनका आधुनिकीकरणका अगुवा देङ स्याओपिङले देखाइसकेका छन् । रुजवेल्ट सन् १९३० र ४० को दशकमा अमेरिकाका धेरै ठूला र लोकप्रिय राष्ट्रपति भए । उनी पोलियो रोगका कारण ढाडमुनिका अंग नचल्ने अवस्थामा थिए र सधैं ह्वीलचेयरमा बसी आफ्ना काममा सक्रिय हुन्थे । सन् १९३० को आर्थिक मन्दी र दोस्रो विश्वयुद्धताका उनले खेलेको भूमिकाले विश्वलाई ध्वस्त हुनबाट बचाएको थियो । उनको उमेर पनि पाकै थियो ।

नेल्सन मण्डेला र अरू पनि यस्ता पात्र छन् जसलाई बढ्दो उमेरले राम्रो काम गर्न रोकेन । जनप्रिय हुन बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी वा गिरिजाप्रसाद कोइरालालाई उमेरले छेकेन । तर सबैलाई मूल्यांकन गर्ने आधार भने लोकहित नै हो जसको क्षेत्र व्यापक छ । श्रीमद्भगवद्गीता होस् या अष्टावक्र गीता वा उपनिषद्, सबैको जीवन दर्शन एकै छ । लोकहित र त्याग यी सबै शास्त्रका सार हुन् । मानिसले ‘म के हुँ’ भनी जति बुझ्न थाल्छ, समाज र राजनीतिमा उति शुद्धीकरण आउन थाल्छ । तर मानिसमा यस्तो भावना आउन र सुध्रिन सम्भव भएको विरलै पाइन्छ । ग्रिक दार्शनिक प्लेटोले राजनीतिमा त्याग र क्षमता अति आवश्यक गुण हुन् भनी राजनीतिमा नयाँ आयाम थपेका हुन् ।

उमेरले रुग्ण नहुन्जेल जीवन चलायमान बनाउनैपर्छ । मेरै उमेरको गिन्ती धेरै भइसके पनि ऊर्जा अहिल्यै निख्रिसकेको अनुभव गर्नुपरेको छैन । अस्ति भर्खरै एउटा कार्यक्रममा भेट्ता एक जनाले मलाई ‘बरालजी त सधैं उस्तै देखिनुहुन्छ, हाउभाव पनि उस्तै छ’ भने । यो संयोगको कुरा हो तर उमेरले मलाई अग्रगामी सोच नराख्न र रूढिवादतिर उन्मुख हुन प्रेरणा दिएको छैन । समाज परिवर्तनका एजेन्डाप्रति झन् दृढताका साथ आफ्नो ठाउँबाट गर्नुपर्ने भूमिकाप्रति म सजग छु ।

विडम्बनाको कुरो, आजका राजनीतिक नेताहरूमा भने नयाँ ऊर्जा थप्ने क्षमता पाइन छोडेको छ । त्यसैले प्रमुख भनिएका दलहरूभित्र उमेरका आधारमा नेतृत्व परिवर्तन वा पुस्ता हस्तान्तरणको बहस चलिरहेको हो । एमाले र माओवादी केन्द्रका दोस्रो पुस्ताका केही नेता यो विषयलाई लिई सलबलाउन थालेका भए पनि बूढा भनिएका नेताहरूलाई सोझै हाँक दिने क्षमता देखाउन तिनलाई गाह्रो परेको छ र यो बहस कानेखुसीमै सीमित छ । नेपाली कांग्रेसको अवस्था अझ भिन्न छ । शेरबहादुर देउवा उमेरका साथै नेतृत्वका दृष्टिले कमजोर भइसकेका छन्, पाँचपल्ट प्रधानमन्त्री भएकाले अब उनीबाट नेपाली कांग्रेसले नयाँ गतिशीलता र ऊर्जा प्राप्त गर्ला भन्न पनि सकिँदैन भन्दै नेतृत्व हस्तान्तरणको कुरा चलाइएको छ ।

यथास्थिति धान्न सबै दललाई धौधौ पर्ला किनभने नयाँ पिँढीको आकर्षण अब एकै खाले रहने संकेत पाइँदैन । यदि नवीकरण भई चलायमान हुन नसके पार्टीको अस्तित्व नै जोखिममा पर्ने पक्का छ । उमेरमा यी नेताहरूभन्दा कान्छाहरूले कस्तो जनमुखी कार्यक्रम ल्याउँछन्, लोकतन्त्रका आधारभूत सिद्धान्तको कार्यान्वयनमा कसरी समर्पित हुन सक्छन् भन्ने कुराले तिनको भूमिका निर्धारण गर्छ ।

पुराना नेताभन्दा नयाँ भनिने नेता शैली, सोच र गराइमा कति फरक हुन सक्छन्, त्यसैले उनीहरूको नेतृत्वको मूल्यांकन हुनेछ । भनिएकै छ, ‘नयाँ पात पलाउन पुराना पात झर्नु त पर्छ तर नयाँ पात पनि चिल्ला र राम्रा हुनुपर्छ ।’ नेपाली राजनीतिमा चिल्ला पात पलाउनु भनेको संविधानले तय गरेका मूल्यमान्यता अनुरूप नेपाली जनताको जीवनस्तर बढाउँदै आजको व्यवस्थालाई स्थायी र जनमुखी बनाउनु हो । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया