काठमाडौं : बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा भदौ शुल्क पूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा सहभागी हुनेलाई लक्षित गरी नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा एक हजार आठ सय ६६ जनाको उपचार भएको छ।

बडीमालिका मन्दिर र त्रिवेणी धाममा आएका दर्शनार्थीलाई हुनसक्ने जोखिम र समस्यालाई निराकरण गर्न गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेना बाजुराले जनाएको छ।
छ जनाको उद्धार
धार्मिक तथा पर्यटकीय बडीमालिकाको दर्शनका लागि गएका लेक लागेर र अक्सिजन अभावका कारण सिकिस्त बिरामी भएका छ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जनाएको छ।
भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन लाग्ने बडीमालिकाको पूजाका लागि दर्शन गर्न गएका दर्शनार्थी छ जनालाई अक्सिजन अभावका कारण त्रिवेणीधाममा लडेर अचेत अवस्थामा रहेकालाई सेनाको हेलिकोप्टरमार्फत उपचार गरिएको दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले बताए।
सेनाको हेलिकोप्टरमा कालीकोट पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी नगरपालिका–९ बस्ने ६५ झुपुदेवी धामी, त्रिवेणी नगरपालिका–१ छताराका २३ वर्षीय भरतबहादुर बुढा, कैलाली जिल्ला गोदावरी नगरपालिका अत्तरियाका ६३ का ईश्वरी बोहरा र ५२ वर्षीया गङ्गादेवी बोहरा र जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका–२ बस्ने ४६ वर्षीया विनुदेवी बस्नेतलाई उद्धार गरिएको बताए।
उद्धार गरिएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने चार जनालाई उपचारपछि घर फर्काइएको छ। उद्धार गरिएका पाँच जनालाई लेक लागेर अक्सिजन अभावका कारण त्रिवेणी धाममा लडेर अचेत अवस्थामा फेला पारेपछि त्रिवेणीमा सञ्चालन गरिएको र प्राथमिक उपचारपछि जिल्ला अस्पताल बाजुरामा थप उपचारका लागि पठाइएको थियो। जुम्लाकी विनुदेवी बस्नेतको बडीमालिकाबाट घर फर्किने क्रममा त्रिवेणी धाम नजिकै लडेर दायाँ खुट्टा भाँचिएपछि उद्धार गरिएको सेनानी सिंहको भनाइ रहेको छ।
दुईको मृत्यु
बडीमालिकामा लेक लागेर सिकिस्त बिरामी भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा कालीकोट जिल्ला पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने छन्। उनलाई त्रिवेणी धाममा लडेर घाइते भएर अचेत अवस्थामा रहेका बेला सेनाको फेला पारेपछि प्राथमिक उपचारपछि थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै अक्सिजन अभावका कारण त्रिवेणीमा लडेर अचेत अवस्थामा रहेका त्रिवेणी नगरपालिका–१ छताराका २३ वर्षीय भरतबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ। बुढालाई नेपाली सेना बाजुराले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा प्राथमिक उपचार गर्दागर्दै मृत्यु भएको दुर्गा भञ्जन गुल्मका सेनानी सिंह बताए।
मृत्युपछि बुढाको शवलाई नेपाली सेनाको एनए ०६१ को हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बाजुरामा परीक्षण गरेर शव आफन्तलाई बुझाइएको हो। बडीमालिकामा नेपाली सेनाको मेडिकल क्याम्पले प्राथमिक उपचारसँगै उद्धार गरेर चार जनाको ज्यान बचाउन सफल भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया