विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रदेश १ ले सांसद प्रदीप यादवको राजीनामा माग गरेको छ । उनले खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई एन्फाले १७ करोड रुपैयाँ दिएको आरोप लगाएका थिए ।
सांसद यादवले खेलकुद मन्त्री विश्वकर्मालाई एन्फाले १७ करोड रुपैयाँ दिएको आरोप निराधार भएको बताउँदै एन्फा प्रदेश १ तदर्थ समिति अध्यक्ष किशोर राईले कपोकल्पित आरोप लगाएका सांसदले राजीनामा दिनुपर्ने बताएका छन् ।
१७ करोड रुपैयाँ दिएको अभिब्यक्ति पुष्टि गर्न चेतावनी दिँदै अध्यक्ष राईले गरिमामय पद धारण गरेका सांसद यादवले बिना प्रमाण सबैलाई अन्यौलमा पार्न खोजेको बताएका छन ।
‘हिजोको दिन एन्फालाई दिशाहीन बनाएर अघि बढेको समूहको प्रतिस्थापन फुटबलप्रेमीले गरेका हुन्’ उनले भने, ‘अहिले लकडाउन र कोरोनाभाइरसको संक्रमणबिच फुटबललाई फेरि एकपटक कमजोर बनाउनेतर्फ विकास नचाहने तत्व लागि परेको छ। त्यसको प्रतिवाद पदाधिकारीले एन्फाभित्रैबाट गर्नुपर्छ।’
अहिलेको समय एन्फाको काम गर्ने भएको बताएका अध्यक्ष राईले भित्र र बाहिर दुवैतर्फबाट धमिरा लगाउने खेल सुरु भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
एन्फाका केन्द्रीय सह–महासचिव बसन्त अर्यालले अध्यक्ष कर्माछिरिङ्ग शेर्पालाई समेत अभिव्यक्तिबारे जानकारी गराइसकेको हुनाले धेरै अनर्गल प्रचारबाजीमा नलाग्न आग्रह गरेका छन् ।
मधेसको विषयमा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले दिएको अभिव्यक्तिलाई अतिरंजित बनाइएको एन्फाका पदाधिकारीको भनाई छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया