काठमाण्डौंः निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन्। जिल्लाको सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाको नगरसभा नहुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेका हुन्।
स्वास्थ्य संस्थाबाट २८ किसिमका औषधि निःशुल्क पाउने व्यवस्था सरकारले गरेको शाखा प्रमुख शर्माले बताएका छन्। उनका अनुसार गत आर्थिक वर्षमा खरिद गरेको औषधि सकिएको छ। उहाँले सबै स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्य औजार नभएको गुनासो आएपनि पठाउन नसकिएको बताए।
‘नगरसभा नभएका कारण स्वास्थ्य मन्त्रालयले अनुदानमा पठाएको बजेटबाट औषधि खरिद गर्न पाइएको छैन। नगरसभा भएर पालिकाले दररेट स्वीकृति दिएपछि मात्रै खरिद प्रक्रिया अगाडि बढाउने हो’, शर्माले भने, ‘अहिले वर्षाको समय छ। गाउँमा भाइरल ज्वरो, आँखा पाक्नेलगायत रोग फैलिँदा औषधि दिन सकिएको छैन।’
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार नगरसभा अवरुद्ध हुँदा सुरक्षित मातृत्व तथा सुत्केरी, स्वास्थ्य शिक्षा, महामारीविरुद्धको कार्यक्रम, महिला स्वास्थ्य स्वयमंसेविकालगायत २० प्रकारका महत्वपूर्ण स्वास्थ्य कार्यक्रम ठप्प बनेका छन्।
स्वास्थ्य क्षेत्रमा केन्द्रबाट आउनुपर्ने अनुदान रकम तलबभत्ता बापतको रू चार करोड ५० लाख र स्वास्थ्य कार्यक्रमबापतको तीन करोड रकम आइसकेको उनले जानकारी दिए। रकम आइसके पनि नगरसभा हुन नसक्दा कुनै काम गर्न नसकिएको उनको भनाइ थियो।
नगर स्वास्थ्य शाखाका अनुसार जिल्ला अस्पतालबाहेक चार स्वास्थ्य संस्थाबाट प्रसूति सेवा दिइन्छ। ठूली पोखरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख भीमकुमारी शर्माले सुत्केरीले पाउनुपर्ने रकम आफूले खल्लीबाट दिने गरेको बताए।
आर्थर स्वास्थ्य चौकीका इन्चार्ज चन्द्रकान्त गौतमले ज्वरो, रुघाखोकीका कारण बिरामीको चाप बढ्दै गएको बताउँदै औषधि अभाव हुनाले बिरामीलाई निःशुल्क दिइने औषधि पनि दिन नसकिएको जानकारी दिए। उनका अनुसार स्वास्थ्य चौकीमा सामान्य रोगको औषधिसमेत छैन।
स्वास्थ्य क्षेत्र मात्र नभइ कृषि, शिक्षा, महिला तथा बालबालिकालगायत अन्य विकास निर्माणका कामसमेत प्रभावित बनेको वडाध्यक्ष तेजप्रसाद शर्माले बताए। सुत्केरीले यातायात खर्चबापत पाउनुपर्ने रू दुई हजार पछि नगरपालिकाबाट लिने गरी खल्तीबाट भुक्तानी गरिरहेको उनले जानकारी दिएका छन्। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया