काठमाडौंः बडा दसैँ मनाउनका लागि ३ दिनमा १ लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि जन्मथलो जानेको लर्को लागेको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो ३ दिनमा १ लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए। उनका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार ६४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार २७९ र आज बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन्।
ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ। ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ। चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र १ हजार ८०० जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताए।
सरकारले दसैँकोे यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया