भाद्र २८, २०८३ आइतबार September 13, 2026

बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री थापा

आवतजावत सहज बनाउन त्रिशूली, देवीघाट, स्याफ्रुबेँसीलगायत पाँच स्थानमा तुइनको व्यवस्था गरिएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

उज्वेकिस्तानको समरकान्दमा हुने ४६औँ चेस ओलम्पियाडमा भाग लिन जाने खेलाडीलाई आज बिदाइ गर्दै उहाँले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेकाले सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले बाढीका कारण प्रदेशका १५ पालिका प्रभावित भएको जानकारी दिनुभयो । बाढीबाट ४० भन्दा बढी पुल र झन्डै एक दर्जन जलविद्युत् केन्द्रमा क्षति पुगेको उहाँको भनाइ थियो ।

प्रभावित क्षेत्रमा एक सय बढी स्वास्थ्यकर्मी परिचालन गरी विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको मुख्यमन्त्री थापामगरको भनाइ थियो । प्रभावित नागरिकका लागि अस्थायी आश्रयस्थल, खाद्यान्न तथा बसोबासको व्यवस्था मिलाइएको उहाँको भनाइ थियो ।

आवतजावत सहज बनाउन त्रिशूली, देवीघाट, स्याफ्रुबेँसीलगायत पाँच स्थानमा तुइनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री थापामगरले बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई तत्काल काजकिरिया खर्चबापत रु २५ हजार उपलब्ध गराउने निर्णय गरिएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार विपद् व्यवस्थापन कोषमार्फत रसुवा र नुवाकोटलाई रु एक–एक करोड तथा धादिङ र चितवनलाई रु ५०–५० लाख पठाइसकिएको छ । विपत्तिमा अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म आवासीय विद्यालयमा राखी निःशुल्क शिक्षा प्रदान गर्ने मन्त्रीपरिषद्बाट निर्णय भएको पनि उहाँले बताउनुभयो ।

काठमाडौँका विभिन्न गुम्बा तथा अस्थायी शिविरमा रहेका प्रभावित नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा भाग लिन जान लागेका पाँच महिला खेलाडी कृतिसरा अधिकारी, पूजा भण्डारी, एन्जेल महर्जन, निहाना श्रेष्ठ, सिन्दिरा जोशी र पाँच पुरुष खेलाडी रूपेश जयसवाल, सुश्रुत दाहाल, पुरुषोत्तम सिलवाल, आशिष फुँयाल र राजन सुवेदीलाई बिदाइ गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया