वैशाख १९, २०८१ बुधबार May 1, 2024

भ्रष्टाचार नियन्त्रणका लागि सञ्चारमाध्यम : श्यामप्रसाद मैनाली

सञ्चारमाध्यमले जिम्मेवार पदाधिकारीबाट कर्तव्य निर्वाह गर्दा प्रक्रियागत पारदर्शिता र जवाफदेहिताका लागि जनमतसहित दबाब सिर्जना गर्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भ्रष्टाचार विश्वव्यापी समस्या हो । यसलाई कम गर्न वा नियन्त्रण गर्न सकिन्छ तर निर्मूल गर्न कुनै पनि मुलुक सफल हुनसकेका छैनन् । हालसम्मका अनुसन्धानले यही यथार्थता प्रमाणित गरेको छ । यसलाई नियन्त्रण गर्न धेरै प्रकारका संवैधानिक, कानुनी र संरचनात्मक व्यवस्थापन गरिएको हुन्छ । नागरिक समाजदेखि लिएर सरकार, सचेत नागरिक, जिम्मेवार पदाधिकारीहरू, पत्रकार जगत, विदेशी दात्री निकायहरू, सामाजिक सञ्जाल सबै आआफ्नो भूमिकाको निर्वाह गर्दै भ्रष्टाचार नियन्त्रणका दिशामा लागिपरेका छन् । प्रायः सबै मुलुकका राजनीतिज्ञहरूको साझा एजेन्डा नै भ्रष्टाचार नियन्त्रण हुन्छ । तर, ठूलाठूला भ्रष्टाचारका अपराध विशेषगरी यिनै राजनीति गर्नेहरूले नै गरिराखेका हुन्छन् । राजनीतिक शक्तिको आधारमा यस प्रकारका ठूला अपराधीहरूलाई राजनीतिज्ञहरूले नै संरक्षण प्रदान गरिराखेका हुन्छन् ।

धेरैजसो मुलुकमा यो प्रवृत्ति हाबी भइराखेको छ । कतिपय मुलुकले कानुनी व्यवस्था गरेरै राजनीतिक तहबाट गरिने भ्रष्टाचारलाई अभयदान दिने गरिराखेका छन् । कुनै मुलुकले राजनीतिक प्रतिसोधका रूपमा भ्रष्ट राजनीतिज्ञहरूमाथि कारबाही गरिराखेको पनि पाइएको छ । भ्रष्टाचारलाई कमी गर्न सञ्चारमाध्यमहरू जसमा सामाजिक सञ्जालहरूको समेत ठूलो योगदान रहेको हुन्छ । यस आलेखलाई भ्रष्टाचार नियन्त्रणमा सञ्चारमाध्यम र सामाजिक सञ्जालको भूमिकाकाबारेमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

यी माध्यमले जिम्मेवार पदाधिकारीहरूबाट आफ्नो कर्तव्य निर्वाह गर्दा प्रक्रियागत पारदर्शिता र जवाफदेहिताका लागि जनमत तयार पार्दै दबाब सिर्जना गर्छन् । यसबाट सार्वजनिक र निजी दुवै निकायले गम्भीर बन्दै आफ्ना भ्रष्टाचारजन्य कार्यलाई परित्याग गर्न बाध्य हुन्छन् । विभिन्न प्रकारका अध्ययनले भ्रष्टाचार र सञ्चारजगत्को स्वतन्त्रताका बीचको अन्तरसम्बन्धलाई स्पष्ट पारेका छन् । यस सम्बन्धमा बोल्सियास २०१२, ब्रुनेटी र वेड २००३, चौधरी २००४, फार्डिग, यान्डरसन ओस्कर्सन २०११ आदिबाट भएका अध्ययन प्रतिवेदनहरूको मनन गर्न सकिन्छ । सरकारी क्षेत्रबाट अपारदर्शी तवरले भएका कामका ’boutमा यसलाई यथा समयमा सुधार गर्न सार्वजनिक रूपमा नै ध्यानाकर्षण गराउनेदेखि यसका पछाडिको आशय एवं गलत मनसायसमेतकाबारेमा मात्र नभई ती कार्यबाट सर्वसाधारणलाई परेको कठिनाइ र राष्ट्रिय क्षतिको समेत तथ्यका आधारमा सूचना सम्प्रेषण गर्छ ।

खोजमूलक र अनुसन्धानमूलक पत्रकारिताले भ्रष्टाचारका मामिलाहरूलाई सार्वजनिक गर्न र यसका विरुद्ध लागिपर्ने वातावरण सिर्जना गर्छ । यस्ता क्रियाकलापले दबाब सिर्जना गर्दैजाँदा मुलुकमा दण्डहीनताको अवस्थामा समेत नियन्त्रण हुनपुग्छ । यस सम्बन्धमा आर्थिक सहयोग र विकाससम्बन्धी संगठन (ओईसीडी)ले सञ्चारमाध्यम र अनुसन्धानात्मक पत्रकारिताको भूमिकाका ’boutमा सन् २०१८ मा उपयोगी र महत्वपूर्ण प्रतिवेदन प्रकाशित गरेको छ । अनुसन्धानात्मक पत्रकारितासम्बन्धी अन्तर्राष्ट्रिय कन्सोरटियम (आईसीआईजे)ले मुलुकमा भएका अपचलन र भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा कानुन कार्यान्वयन गर्ने निकायहरूको यथा समयमा ध्यानाकर्षण गराउन सफल भएको छ । यस प्रयासलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट सत्प्रयासका दिशामा भएको महत्वपूर्ण कार्यका रूपमा लिनुपर्छ ।

संयुक्त राष्ट्रसंघको लागूऔषध र अपराधसम्बन्धी कार्यालयले सन् २०१४ मा एक प्रतिवेदन प्रकाशित गरेको थियो । प्रतिवेदनले भ्रष्टाचार नियन्त्रणका लागि पत्रकारिता क्षेत्र अत्यन्त जिम्मेवार र खोजमूलक हुनुपर्ने बताएको छ । साथै, अभिव्यक्तिको स्वतन्त्रतामा कुनै अंकुश रहनुहुँदैन । यस अवस्थामा पत्रकार जगतको उल्लेखनीय योगदान भ्रष्टाचारविरोधी क्रियाकलापहरूमा हुनसक्छ । धेरै मुलुकमा अनैतिक व्यक्ति र यस्ता गलत व्यवहारका विरुद्ध हुने अनुसन्धानमा सञ्चारजगत असल मित्र र सहयोगी साबित भएको छ । दक्षिण अफ्रिकाका सञ्चारमाध्यमहरूले ठूला भ्रष्टाचारका काण्डहरूको उजागर गरेको योगदान उल्लेखनीय छ । एनकाण्डलाको प्रतिवेदन, २०१४ र स्टेट क्याप्चर प्रतिवेदन २०१६ ले तत्कालीन राष्ट्रपति ज्यकोब जुमाका कार्यहरूलाई अपराध साबित गर्न सफल भएको थियो ।

सञ्चारमाध्यमले जिम्मेवार पदाधिकारीबाट कर्तव्य निर्वाह गर्दा प्रक्रियागत पारदर्शिता र जवाफदेहिताका लागि जनमतसहित दबाब सिर्जना गर्छन्

सन् २०१८ मा उनले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो । सन् २०१९ मा बुल्गेरियामा महँगा अपार्टमेन्ट बजार मूल्यभन्दा धेरै कम मूल्यमा उच्चस्तरीय राजनीतिज्ञ र कर्मचारीहरूले प्राप्त गरेका रहेछन् । रेडियो फ्री युरोप र एन्टी करप्सन फन्डले संयुक्त रूपमा गरेको अनुसन्धानबाट यसको उजागर भएको थियो । यो अनुसन्धानपश्चात त्यस समयका कानुनमन्त्री, तीनवटा उपमन्त्रीहरू धेरै जना सांसदहरू र भ्रष्टाचार नियन्त्रण निकायका प्रमुखसमेतलाई राजीनामा गर्न बाध्य पारिएको थियो । अप्रत्यक्ष रूपमा सञ्चारमाध्यमहरूले सरकारी प्रक्रिया, विद्यमान कानुनी व्यवस्था, जिम्मेवार निकायहरूबाट भए गरेका कार्यहरू, सरकारले निर्धारण गरेका नीतिहरू सम्बन्धमा बृहत् छलफल, अन्तक्र्रिया र बहस गराएर सबै प्रकारका राजनीतिज्ञहरू, सार्वजनिक निकायहरूलाई बढी जिम्मेवार र जवाफदेही बनाएका उदाहरणहरू छन् ।

सञ्चारमाध्यमहरू विश्वव्यापी रूपमा समेत भ्रष्टाचारका मामिलाहरूको पर्दाफास गर्न सफल भएका छन् । सन् २०१५ मा पनामा पेपरको मामिला यस सन्दर्भमा उदाहरणका रूपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ । पनामा पेपरका दस्तावेजहरू र विवरणहरू जेतुंग नामक जर्मनी समाचारपत्रले सम्प्रेषण गरेको थियो । यसमा ‘आईसीआईजे’को सहयोगमा ११ दशमलव ५ मिलियन दस्तावेजहरू प्राप्त गरेको थियो । यी दस्तावेजबाट गलत आर्थिक कारोबारहरूको विश्वसनीयता कायम गर्ने विषयहरूसमेतको पर्दाफास भएको थियो । यी सबै कर्तुतलाई सबैका सामुन्ने उजागर गरिदिने साहसी काम सो सञ्चारमाध्यमबाट भएको थियो । यी दस्तावेज बढो होसियारिका साथ लिक गरिएको थियो । सबै सम्बन्धित मुलुकले आफ्नो सम्पत्तिको खोजखबर गर्ने अवसर पाएका थिए । यस महान् योगदानबाट आइसल्यान्ड, उरुग्वे, मेक्सिको, न्युजिल्यान्ड, बेल्जियम र संयुक्त राज्यले १ दशमलव २ बिलियन अमेरिकी डलरबराबरको रकम प्राप्त गर्न सफल भएका थिए । अन्य धेरै मुलुकले यही समाचार प्रकाशनका आधारमा अनुसन्धान अघि बढाएका थिए ।

विश्वभर भ्रष्टाचारसम्बन्धी अनुसन्धानका लागि यो प्रकाशन गरेर आईसीआईएजे र जेतुंगले अत्यन्त सराहनीय कार्य गर्दै पत्रकारिता जगतको सम्मान बढाउने कार्य गरेका थिए । स्टेफेन हस्र्टले सन् २००० मा सञ्चारमाध्यमबाट प्रत्यक्ष र अप्रत्यक्ष योगदान पु¥याइ भ्रष्टाचारलाई न्यून गर्नसक्ने दाबी गरेका थिए । प्रत्यक्ष प्रभाव पर्ने सन्दर्भमा सञ्चारमाध्यमहरूले सरकारमा भइराखेका भ्रष्टाचारका मामिलाहरूको सम्प्रेषण गर्ने, भ्रष्ट पदाधिकारीहरूलाई महाभियोग लगाउने वा राजीनामा गर्न बाध्य पार्ने, भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सहयोग गर्ने र जनताकै दबाबका आधारमा भ्रष्ट मुलुकहरूलाई सच्चिन बाध्य बनाउनेजस्ता कार्यहरू गर्छन् । अप्रत्यक्ष प्रभावसमेत सञ्चारमाध्यमहरूले पार्न सक्छन् ।

यसको उदाहरणका रूपमा सर्वसाधारणमा भ्रष्टाचार र अनैतिक कार्यहरूविरुद्ध सचेतना जगाउने, अनुत्पादक र कमजोर आर्थिक प्रतिस्पर्धाका विरुद्ध सरकारलाई सच्चिन वातावरण तयार पार्ने, प्रतिस्पर्धात्मक अवस्था सिर्जना गरेर जवाफदेहिताको निर्वाह गर्न लगाउने, सरकारी पदाधिकारीहरूलाई अनुसन्धान कार्यमा आकर्षित गराउन थप सुविधा र पुरस्कारसमेतको व्यवस्था गर्न लगाउने आदि पर्छन् । सञ्चारमाध्यमहरूलाई जति बढी स्वतन्त्र अधिकार प्रदान गरिन्छ, भ्रष्टाचार नियन्त्रणका लागि उत्तिकै ज्यादा प्रभावकारी बन्न पुग्छन् । सूचनाको स्वतन्त्रता र यससम्बन्धी प्रत्याभूतिका लागि संस्थागत व्यवस्था हुनु वाञ्छनीय छ । यसका लागि सञ्चारकर्मीहरूको सुरक्षाको प्रत्याभुति हुनु अत्यावश्यक छ । कतिपय मुलुकहरूका सूचानादाताहरू र सञ्चारकर्मीहरूको हत्या भ्रष्टाचारी माफियाहरूबाट भएका छन् ।

यस प्रकार भ्रष्टाचार नियन्त्रणका लागि सञ्चारमाध्यमहरूको ठूलो योगदान रहने भए तापनि थोरै मात्र सञ्चारकर्मीहरूबाट यस प्रकारका सहयोग प्राप्त हुनसकेको छ । मिडिया हाउसहरूले भ्रष्टाचारका मामिलाहरूमा खासै चासो नदिएको अवस्थाको अनुभूति पनि प्रशस्त मात्रामा भइराखेको छ । शक्तिशाली राजनीतिज्ञहरूबाट भएका यस्ता अपराधजन्य क्रियाकलापहरूमा उनीहरू बेखबर रहेको स्थिति देखाउन चाहन्छन् । धेरै प्रकारले यस्ता मिडिया हाउसहरू प्रभावित बनिराखेका छन् । मिडियाहरूको सम्प्रेषण नै तथ्यभन्दा पृथक् हुन गई समाजमा भ्रम फैलाउने प्रकारका हुनेगर्छ । यस्ता सञ्चारकर्मीले व्यापारी घरानाहरू, नीति निर्माताहरूबाट प्रभावित भई भ्रष्टहरूका पक्षमा सूचना प्रवाह गर्छन् ।

सञ्चारकर्मी स्वयं भ्रष्टाचारमा संलग्न हुनु र सरकारले इमानदार सञ्चारकर्मीको सुरक्षा प्रदान गर्न नसक्नुका कारण पत्रकारिता जगत्ले विश्वसनीयता गुमाउँदै छ

सञ्चारकर्मीहरू आफै भ्रष्टाचारमा संलग्न हुनु र सरकारले इमानदार सञ्चारकर्मीहरूको पर्याप्त सुरक्षा प्रदान गर्न नसक्नुका कारण उनीहरू भ्रष्टहरूबाटै प्रभावित सञ्चारकर्मीमा रूपान्तरित हुने र भ्रष्टाचार वृद्धि गर्नमा अभिप्रेरित हुने अवस्थासमेत सिर्जना भएका छन् । तर, सञ्चारकर्मीहरू सदैव आतंकित बन्दै आफ्नो पेसागत धर्म निर्वाह गर्न सरिक हुनुपर्ने अवस्था छ । सञ्चारकर्मीहरूले उनीहरूको भौतिक अस्तित्व नै समाप्त पारिदिनेसम्मको धम्की पटकपटक प्राप्त गरेका हुन्छन् । सरकारमा रहनेहरू आफै भ्रष्ट भएकाले पनि यस्ता आतंकित क्रियाकलापमा अप्रत्यक्ष संलग्न रहिआएका हुन्छन् । यस परिस्थितिमा सञ्चारकर्मीहरूको सुरक्षा जोखिममा पर्छ । ‘ओईसीडी’ले सन् २०१८ मा प्रकाशित गरेको प्रतिवेदनमा सन् २०१८ मा मात्रै ३४ जना सञ्चारकर्मीहरूको हत्या गरिएको उल्लेख छ ।

परम्परागत सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जाल बढी स्वतन्त्र र उनीहरूविरुद्ध खासै कारबाही पनि नभएकाले अत्यन्त ज्यादा सूचना सम्प्रेषण गरिराखेका छन् । सामाजिक सञ्जालले सूचनाको प्रवाह गर्छन्, घटनाहरूको विश्लेषण गर्छन्, जनमत तयार पार्छन्, बहस पैरवी गर्छन् । यसलाई नागरिक पत्रकारिताको वास्तविक रूपमा ग्रहण गरिएको छ । असंख्य सामाजिक सञ्जालमा नागरिकहरूले सरकार र सञ्चारकर्मीहरूबाट भएका गरिएका भ्रष्टाचारकाबारेमा सूचनाहरूको अल्प अवधिमा प्रचारप्रसार गर्छन् । यस्ता अपराधमा संलग्न हुने सञ्चारकर्मी र सरकारी पदाधिकारीहरूका साथै व्यापारीलगायतका भ्रष्टहरूबाट भएका अनैतिक कार्यहरूका सम्बन्धमा अनुसन्धान गराउने अवस्था सिर्जना गर्छ । सर्वसाधारण जनताका आवाजहरूको सम्मान हुनेगरी सम्प्रेषण गर्ने कामसमेत गर्छन् ।

सर्वसाधारणहरूलाई निश्चित मुद्दाहरू केन्द्रित गराउने कार्य गर्छन् । ट्वीटरमार्फत बृहत् रूपमा यस्ता परिघटनाहरूको सूचना सम्प्रेषण भएकाले सन् २०१८ मा ट्युनिसियाले इजिप्ट र आर्मेनियाका सरकारहरू परिवर्तन भएको घटनाको स्मरण गर्नुपर्ने हुन्छ । खासै कारबाही नहुने अत्यधिक स्वतन्त्रताको उपभोग गरिराखेकाले परम्परागत सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जालले आफ्नो प्रचार शैलीको दुरूपयोग गरेका घटनाहरूसमेत प्रशस्त छन् । गलत सूचनाको प्रवाह गर्ने र तथ्य आधारको अभावमा सहजै सूचना प्रवाह गर्ने भएकाले यसबाट भ्रष्टाचार नियन्त्रण गर्ने कार्यलाई बाधासमेत पुगेको स्थिति छ । गलत समाचार र सूचना प्रवाह गरेकै कारण दुवै प्रकारका सञ्चारमाध्यमहरू भ्रष्टाचार नियन्त्रणका लागि थप चुनौतीसमेत बनेका छन् । उच्च नैतिक आचरण भएका सार्वजनिक पदाधिकारीहरू र असल र खोजमूलक पत्रकारिता गर्नेहरूसमेत यस प्रकारका गलत समाचारबाट पीडित बनेका छन् । सामाजिक प्रतिष्ठा समाप्त पारिदिने काम यी माध्यमहरूबाट हुन्छ । तसर्थ, सामाजिक सञ्जाल र परम्परागत सञ्चारमाध्यम दुवैलाई केही हदसम्म नियन्त्रण गरिनुपर्छ ।

उनीहरूले सम्प्रेषण गरेको गलत सूचनाका कारण कुनै निर्दोष व्यक्ति पदाधिकारी वा संस्थाको क्षति हुनपुगेको अवस्थामा सो क्षतिको पूर्ति गराउने व्यवस्थासमेत हुनुपर्छ । सही सूचना सम्प्रेषण गर्नेलाई प्रोत्साहित गर्ने वातावरणसमेत सिर्जना गर्नुपर्छ । यस अवस्थामा मात्र सञ्चारमाध्यम र सामाजिक सञ्जालको उपयोग समाज र राष्ट्रको हितमा हुनसक्छ । राजधानी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
२०८१ वैशाख १९, बुधबार
हुम्लामा बृहत् स्वास्थ्य शिविर, एक हजार आठ सयभन्दा बढीले लिए सेवा
२०८१ वैशाख १९, बुधबार
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
२०८१ वैशाख १९, बुधबार
ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका
२०८१ वैशाख १९, बुधबार
अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाका लागि भक्तजनको अपिल
२०८१ वैशाख १९, बुधबार
इजरायल–हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका ‘कटिबद्ध’ छ : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
२०८१ वैशाख १९, बुधबार
झापामा हात्तीपाइलेका तीनजना नयाँ बिरामी फेला
२०८१ वैशाख १९, बुधबार