फागुण १३, २०८० आइतबार February 25, 2024

ढाड दुखाइको मनोवैज्ञानिक उपचार – डा. सुभाष पोखरेल

शरीरको कुनै अंग चलाउनै समस्या आएको खण्डमा फिजियोथेरापी गर्ने प्रचलन नयाँ होइन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओखती र सर्जरीबिना ढाड दुखाइ निको पार्न सकिन्छ भन्ने कुरा कसले पत्याउला ? त्यसमाथि केवल केही साता रोगीसँग कुरा गरेकै भरमा दुखाइले थलिएको रोगी पूर्वावस्थामा फर्कियो भन्ने खबर कसले विश्वास गर्ला ? त्यस्तै अपत्यारिलो खबर सही भएको सन्देश केही साताअघि मात्र एक जर्नलमा प्रकाशित भयो। टक थेरापीका भरमा एक दुईजना होइन, दर्जनौँ रोगी पीडामुक्त भएको खबरले  ढाड दुख्ने समस्याले सताएका लाखौँ मानिसलाई निश्चय नै उत्साही बनायो। अपत्यारिलो कुरा कसरी सम्भव भयो भनी वैज्ञानिक कारण खोज्नु अस्वाभाविक भएन।

दिनैपिच्छे शरीरमा पीडा हुनु अथवा आवधिक दुखाइका कारण सामान्य दैनिकी प्रभावित हुने अवस्थालाई दीर्घ पीडा (क्रोनिक पेन) भनिन्छ। सन् २०२३ मे महिनामा संयुक्त राज्य अमेरिकाको न्यासनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच) का वरिष्ठ अनुसन्धाता डा. रिचर्ड नहिनको अन्वेषण समूहले जर्नल जामा नेटवर्क ओपनमा शारीरिक दुखाइको बढ्दो आयतनलाई समेटेर एउटा अध्ययन प्रकाशित गरे। प्रतिवेदनले पछिल्लो समय मधुमेह, उच्च रक्तचाप तथा डिप्रेसनको तुलनामा दीर्घ पीडा महसुस गर्ने बिरामीको संख्या अत्यधिक बढेको देखायो। पाँच दशक उमेर कटेका समूहमा दीर्घ पीडा भयाबह बन्दै गयो। शरीरका सबै भागमा पीडा महसुस गरिए पनि ढाड दुख्ने समस्याले घाँटी र टाउको दुखाइलाई उछिनेको छ। तर, त्यसको इलाज भने त्यति सहज छैन।

ओखती, कसरत, एक्युपंचर, काइरोप्राक्टिस अनि विशिष्ट प्रकृतिको फिजियोथेरापीले सुधार नभएपछि चिकित्सकले हड्डी खिएको तथा डिस्क रिलोकेसन भएकाले इलाजको विकल्पका रूपमा सर्जरी गर्न सुझाव दिन्छन्। ओखती तथा दिनचर्या परिवर्तन फलदायी नभएपछि शल्यक्रियाको विकल्प छैन। एक्स–रे अनि एमआरआइ जस्ता उपकरणले हड्डी खिएको प्रस्ट देखिइसकेपछि प्रतिप्रश्नको औचित्य पनि रहेन। तर भर्खरै ओखती तथा सर्जरीबिना दीर्घ पीडाको इलाज गर्न सकिने अपत्यारिलो उपचार विधि बाहिरिएपछि मेडिकल संहिताको पुनर्लेखन जरुरी भयो। अमेरिकाको कोलोराडो युनिभर्सिटी मेडिकल स्कुलका प्राध्यापक योनी असर नेतृत्वमा विकास भएको उक्त नवीन इलाज प्रक्रिया दुई महिनाअघि मात्र जर्नल जामा नेटवर्कमा प्रकाशित भयो। पत्याउन कठिन उक्त अध्ययनको वैज्ञानिक आधार भने ठोस पाइयो। उपचार पाएका बिरामीहरूको अन्तरवार्ता भरोसायोग्य सञ्चार माध्यममा आएपछि थप के नै चाहियो र ?

पेन रिप्रोसेसिङ थेरापी (पिआरटी) नाम दिइएको यो इलाज प्रक्रियाका लागि डा. असरले ढाड दुख्ने समस्याले पिरोलिएका १५० जनालाई समेटे। बिरामीलाई प्रतिहप्ता एक कक्षाका लागि बोलाएर आठ हप्तासम्म रोगीको दुखाइसँग सम्बन्धित विभिन्न प्रश्न सोधियो। यसरी मनोवैज्ञानिक उपचारका आठवटा कक्षापछि सहभागी १५० मध्ये ९८ प्रतिशत बिरामीले आफ्नो दुखाइमा कमी आएको महसुस गरे भने ६६ प्रतिशत सहभागीले पीडा निर्मूल भएको पाए। आखिर कसरी यस्तो जादूमय उपचार संभव छ त ?

डा. असरले विद्यार्थीकालमा बौद्ध भिक्षुको दिमागको फङ्सनल एमआरआइ अन्य सामान्य मानवको मस्तिष्कको स्क्यान भन्दा फरक पाए । ध्यानमा बस्ने समूहको दिमागको चाल किन सर्वसाधारणको भन्दा फरक हुन्छ भन्ने प्रश्नको उत्तरमा लागे न्युरोसाइन्स र क्लिनिकल साइकोलोजीमा दोहोरो विद्यावारिधि गरेका यी वैज्ञानिक ।

आफ्नो जीवनमा बौद्ध धर्मगुरुको आचरण र दिनचर्याबाट प्रभावित यो चिकित्सकले अत्यधिक शारीरिक पीडा र मानसिक दबाबजन्य परिस्थितिमा समेत महात्माहरू प्रसन्न देखिनुको वैज्ञानिक कारण खोज्न थाले । शरीरको कुनै पनि भागमा चोटपटक लागेको खण्डमा हामीलाई पीडा महसुस हुन्छ । दुख्नुको कारण चोट लागेको भाग र दिमागबीचको स्नायु प्रणालीमार्पmत हुने सञ्चारको आदानप्रदान भएकाले उक्त मार्गलाई अन्यत्र मोड्न सके समाधान निस्कने आशाका साथ अन्वेषणमा लागे उनी ।

खानाको स्वाद पत्ता लगाउने इन्द्रिय जिब्रो भए पनि विभिन्न प्रकारका खान्कीको अनुभवका लागि जिब्रोका विभिन्न भाग जवाफदेही हुन्छन् । उदाहरणका लागि गुलियो इन्द्रियको टुप्पोले महसुस गर्ने भएकाले चिनीलाई जिब्रोको पछिल्लो भागमा राखी सरक्क निलेको खण्डमा व्यक्तिले गुलियो महसुस गर्दैन । त्यस्तै सबै किसिममा संवेदनालाई मस्तिष्कले महसुस गर्ने भए पनि दुःख, खुसी, अत्यधिक पीडा, प्रशंसाहरूका लागि दिमागका विभिन्न भाग जवाफदेही हुन्छन् । त्यस्तै ढाडको पीडा महसुस गर्ने दिमागका भागलाई अन्यत्र स्थानान्तरण गर्न सक्ने हो भने दुःख नासिन्थ्यो भन्ने अवधारणामा काम गर्न थाले अन्वेषणकर्ताहरू ।

शरीरको कुनै अंग चलाउनै समस्या आएको खण्डमा फिजियोथेरापी गर्ने प्रचलन नयाँ होइन । फिजियोथेरापी उपचार विधिलाई केन्द्रमा राखी दिमागलाई चलायमान बनाइ दीर्घ पीडा कम गर्ने नवीन उपचार विधि पिआरटीको प्रयोग गरियो । पिआरटी उपचारलाई मनोवैज्ञानिक उपचार, टक थेरापी अनि ब्रेनको फिजियो थेरापीको समिश्रण भन्न रुचाउँछन् प्रमुख अनुसन्धानकर्ता । बिरामीसँगको सौहार्द संवादमार्पmत ढाडको दुखाइ दिमागको पीडा अनुभव गर्ने स्थानबाट अन्यत्र सार्ने विधि प्रयोग गर्दा दीर्घ पीडा निको भएको देखियो । रोग निदानको बायोलोजिकल कारण अभैm रोचक देखियो ।

दुखाइको समस्या लिएर आएका बिरामीलाई उपचार सुरु गर्नुअघि उनीहरूको दिमागको एमआरआइ गरियो । ब्रेन स्क्यानले उनीहरूको दिमागको पीडाबोध गर्ने भाग क्रियाशील देखायो । अथवा बिरामीको दुखाइ वास्तविक हो भन्ने पुष्टि भयो । दिमागमा देखिएको सक्रियता उनीहरूको दुखाइसँग मेल खायो ।

पछि सन्चो भएका रोगीको दिमागको अवस्था पहिल्याउन गरिएको पछिल्लो एमआरआइ हेर्दा मस्तिष्कको क्रियाशीलताको स्तर पहिले जस्तै देखिए पनि सक्रियता स्थानान्तरण भएको पाइयो । दुखाइ महसुस गर्ने भाग दिमागको अर्को खण्डमा स¥यो दीर्घ पीडा । दुखाइको संकेत नै नचिन्ने भागमा तरंग पुगेपछि व्यक्ति पीडामुक्त भयो । जिब्रोको पछिल्लो भागमा चिनी राखी निल्दा गुलियोको अनुभूति नभए झैँ पीडाबोध गर्ने स्थानबाट दुखाइको तरंगलाई दिमागको अन्यत्र सार्दा व्यक्तिले दुःख हरण भएको महसुस गर्‍यो । पेन सिग्नललाई दिमागले चिन्न नसक्दा व्यक्तिले समस्याबाट मुक्ति पायो । सरल भाषामा भन्नुपर्दा व्यक्तिको पीडा यथास्थानमा छ तर दिमागले उक्त दुःख महसुस गर्न छाड्यो । दुख्नुको जरो मस्तिष्क भएकाले दिमागले पठाएको सन्देशलाई मनोवैज्ञानिक उपचारमार्पmत चोट भएको स्थानको बदला अन्त पठाइ पुनर्मूल्यांकन गराउने विधिमा सफल भए डा. असर ।

र्‍यान्डमाइज्ड ट्रायलको तथ्यांकले पिआरटी विधि ढाड दुखाई इलाजमा कोशे ढुंगा सावित हुने देखियो । विश्वको अन्यत्र भागमा भविष्यमा हुने समान प्रकृतिका अध्ययनले वर्तमान नतिजालाई थप बलियो बनाउँथ्यो । यद्यपि मनोवैज्ञानिक उपचारलाई कसरी विश्वव्यापीरूपले स्थापित गराउने भन्ने चुनौती आफ्नै ठाउँमा छ । अहिलेको उपचार सफलता हेर्दा केही चरणको सामान्य परिमार्जनपछि ओखती तथा चिरफारबिनै ढाडको समस्या समाधान गर्न सकिने कुरामा विज्ञहरू आशावादी देखिए । विभिन्न किसिमका दुखाइ मस्तिष्कको विभिन्न भागमा भण्डारण हुने भएकाले स्थापित पिआरटी विधिलाई सामान्य परिमार्जन गरी टाउकोको माइग्रेन, घाँटी दुखाइलगायत धेरै प्रकारको पीडा हरण गर्न सकिने डा. असरको विश्वास छ ।

आशा गरौँ, विभिन्न किसिमका दीर्घ पीडाका लागि ओखती तथा चिरफारबिनै बिसेक पार्न सकिने दिन धेरै टाढा नहोला । वैज्ञानिक आविष्कारहरू बिजुलीको गतिमा एक स्थानबाट अर्को भागमा सर्ने भएकाले आज पश्चिमा देशमा भएको आविष्कारको फल छिट्टै नै नेपालीले पनि भोग्न पाउँछन् नै । नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया