कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

कोशी प्रदेशसभामा प्रतिस्थापन विनियोजन विधेयकमाथिको छलफल सकियो

बजेटमा प्राण र विचार दिएको मुख्यमन्त्री कार्कीको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथिको छलफल सकिएको छ ।

प्रदेशसभाको बैठकमा सोमबार र मङ्गलबार लगातार छलफल भएपछि आज छलफल सकिएको हो । विधेयकमाथिको छलफलमा प्रदेशसभाका ३१ जना सदस्यले भाग लिनुभएको थियो ।

छलफलमा उठेका प्रश्न र जिज्ञासाका सम्बन्धमा मुख्यमन्त्री केदार कार्कीले जनताका लोकतान्त्रिक अधिकार प्राप्तिमा विनियोजन विधेयक फलदायी हुने बताउनुभयो । उहाँले सङ्घीयतालाई बलियो बनाउन प्रदेश बलियो हुुनुपर्ने धारणा राख्दै सरकार १० वर्षमुनिका बालबालिकाको जीवन बचाउन निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले विगतमा आर्थिक दायित्व बोकिसकेका र योजनाको सम्झौता भइसकेका साना योजना विनियोजन विधेयकमा समावेश गरिएको जानकारी दिँदै रु २५ लाखभन्दा कमका योजना हटाएको बताउनुभयो ।

जनताको घरसम्म बजेट पुर्‍याउने र नागरिकले अनुभूति गर्नसक्ने किसिमले विनियोजन विधेयक आएको जनाउँदै मुख्यमन्त्री कार्कीले बजेटमा प्राण र विचार दिएको दाबी गर्नुभयो । उहाँले महिला र युवालाई उद्यमी बनाउन बजेटको व्यवस्था गरेको भन्दै यो बजेट संवैधानिक बाध्यताबाट आएकाले सबैले अपनत्व ग्रहण गर्ने किसिमको रहेको चर्चा गर्नुभयो ।

मानव कल्याण र विकासलाई उच्च प्राथमिकता दिएको यो विनियोजन विधेकयमा कृषि, सिँचाइलाई पनि उत्तिकै महत्त्व दिएको प्रकाश पार्दै मुख्यमन्त्री कार्कीले बजेट मापदण्ड र प्रक्रिया पूरा गरेर ल्याएको बताउनुभयो ।

निजी स्वार्थभन्दा पनि सामूहिक स्वार्थमा प्रेरित यो बजेटको सफल कार्यान्वयन गरेर समग्र प्रदेशको विकास गर्ने दाबी गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “भौतिक विकास गरी जनताको जीवन स्तरमा परिवर्तन ल्याउँछु ।” प्रदेश एक हजार सुकुम्बासीलाई घर निर्माण गर्न लिने ऋणमा सुविधा दिने उल्लेख गर्दै उहाँले विनियोजन विधेयकमा कुनै त्रुटि भए सच्याउने सुविधा रहेको स्पष्ट पार्नुभयो ।

आजको सदन प्रारम्भ हुने वित्तिकै प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले उभिएर विरोध जनाएपछि एमाले संसदीय दलका उपनेता रामबहादुर रानामगरले दलको तर्फबाट धारणा राख्नुभएको थियो । उहाँले प्राथमिकतामा रहेका योजना बजेटमा समावेश नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

बजेटको आधार अध्यादेश बजेट नै भएकाले पहिले समावेश भएका योजना छुट्नु भूल हो भन्दै रानामगरले एमालेसँग सांसद विकास तथा क्षेत्र विकासअन्तर्गत पर्ने बजेट कटौती नगर्ने सम्झौता भए पनि कार्यान्वयनमा नआएको टिप्पणी गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभाध्यक्ष हाजी इसराईल मन्सुरीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार