असार ६, २०८३ शनिबार June 20, 2026

जातीय छुवाछुत र छाउपडी प्रथा पहिलेको जस्तो अवस्थामा छैन : त्रिवेणी नगर प्रमुख, कर्णबहादुर थापा (अन्तवार्ता)

‘हाम्रो गाउँ हामी नै बनाउँछौँ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यो डेढ वर्षको अवधिमा भए गरेका कामलाई कसरी लिनुभएको छ ? कामप्रति सन्तुष्ट हुनुहुन्छ ?

यो डेढ वर्षमा धेरै काम गर्न सकिएन । धेरै खालका समस्या र चुनौती भोग्नु पर्‍यो । खास गरेर पहिरो र भूकम्पले उत्पन्न गरेका समस्या समाधान गर्न धेरै समय बित्यो । सङ्घ र प्रदेशबाट विगतको भन्दा पनि कम बजेट आउँदा पनि समस्या नै परेको छ । स्थानीय स्रोत साधनले भ्याएसम्म जनताको सेवा गर्ने प्रयास गरेका छौँ । कर कम उठ्ने पालिकालाई माथिल्ला तहका दुई सरकारले विशेष ध्यान दिएर बजेट दिनुपर्छ भन्ने आवश्यकता औँल्याएको छु ।

शिक्षण पेसा त्यागेर राजनीतिमा होमिनुभयो ? पढाउन सजिलो कि राजनीति गर्न ? 

३८ वर्ष पढाएँ । प्रधानाध्यापक पनि भएँ । अहिले आएर पढाउन सजिलो थियो भन्ने लागेको छ । स्कुलमा सिधा ढङ्गले, समयतालिका अनुसार काम गर्नुपर्दथ्यो । राजनीतिमा समयतालिका अनुसार काम गर्न पाइँदैन । सोझो तालले राजनीति गर्न पनि गाह्रो हुने रहेछ । तर पनि जनताको सेवा कसरी गर्न सकिन्छ भनेर लागिपरेको छु । शिक्षक दरबन्दी नभएर बसेकालाई नगर शिक्षकका रूपमा राखेका छौँ । अन्यत्र शिक्षक बढी विद्यार्थी कम छन् हाम्रोमा विद्यार्थी धेरै छन् । पाँच उमावि, छ मावि गरेर ३४ विद्यालय छन् । विद्यार्थी अनुसार शिक्षक दरबन्दी छैन ।

शिक्षा र स्वास्थ्य सेवाको सुधारका लागि के गरिरहनुभएको छ ?

विद्यालय मर्जर गर्ने कि भनेको सहयोग पाइएको छैन । बजेट कम भएकाले शिक्षक राख्ने देखि अन्य धेरै आवश्यकता पूरा हुन सकेका छैनन् । यस्तै गरेर नौ वटा वडामा ११ वटा स्वास्थ्य केन्द्र छन् । ती सबैमा सामान्य खालको सेवा छ । एक जना अनमीको व्यवस्था छ । तोकिएका औषधी निःशुल्क रूपमा वितरण गरिन्छ । धामी, झाक्रीबाट उपचार गर्ने परम्परा हट्दै छ ।

जनताले सडक यातायातको सास्ती खेपिरहेका छन् । यस्तो अवस्था सुधार गर्न के गरिरहनुभएको छ ?

पालिकाको नौ वडामध्ये आठ वडामा २५ किलोमिटर कच्ची सडक पुगेको छ । वडा नं. ५ मा भने पुगेको छैन । त्यहाँ सडक पु¥याउने अभियान फागुन/चैतदेखि सुरु गर्ने तयारीमा छौँ । मौरेदेखि तोली हुँदै छतारासम्मको आठ किलोमिटर सडक पक्की हुँदै छ । पालिकाले आफ्नै एक्साभेटर राखेर सडक मर्मत गर्दै आएको छ । बल्दे, मालागाढ र मौरेमा मोटरेबल पुल आवश्यक छ । पुल बनाउने ठेकेदार बेपत्ता हुँदा काम अघि बढ्न सकेको छैन ।

स्थानीय उत्पादन प्रवर्धन, रोजगारको सिर्जना गरी बढ्दो बसाइँसराइ रोक्न के प्रयास गरिरहनुभएको छ ?

हो, हाम्रोमा पर्यटन र कृषिको ठुला सम्भावना छ । जस्तो बडिमालिका जानका लागि बडिमालिकाको भण्डारा, नाटेश्वरी र छतराबाट पदमार्ग बनायौँ भने स्वदेशी र विदेशी पर्यटक आउँछन् स्थानीयले विभिन्न काम पाउँछन् । भण्डाराबाट त पदमार्ग बनी पनि रहेको छ । जनशक्ति विदेश गएकाले जग्गा बाझो छन् । विज्ञ परिचालन गरेर माटो परीक्षण गरेर कुन ठाउँमा के बाली र फलफूल हुन्छ पहिचान गरिरहेका छौँ । अर्कोतिर कृषिलाई आधुनिकीकरण गरेर अघि बढाउन सहयोग पाएमा चर्को बसाइँसराइ कम हुन सक्थ्यो कि ।

जातीय छुवाछुत, महिला हिंसा र छाउपडी प्रथाको अन्त्यका लागि के काम भइरहेका छन् ?

जातीय छुवाछुत र छाउपडी प्रथा पहिलोको जस्तो अवस्थामा छैन । जातीय छुवाछुत, महिलामाथिको विभेद र छाउपडी प्रथाको अन्त्यका लागि विभिन्न खालका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यस क्षेत्रमा क्रियाशील राष्ट्रिय र अन्तराष्ट्रिय सङ्घसंस्थासँग पनि सहकार्य गरिरहेका छौँ ।

प्रदेश र सङ्घीय सरकारसँग कस्तो सहकार्य भइरहेको छ ? प्रदेश सरकारले त बजेट बनाउँदा योजना दिनूस् पनि भनेको थियो तपाईंको पालिकाको कति योजना समेटिए नि ?

हामीले प्रयास गर्दा पनि त्यति राम्रो समन्वय गर्न प्रदेश र सङ्घीय सरकारले मानेका छैनन् । बजेट बनाउने प्रणाली पनि उचित छैन । न्यायिक ढङ्गले बजेट विनियोजन हुनुपर्छ । प्रदेशले योजना माग्यो २५० योजना पठायौँ तर हाम्रो प्राथमिकीकरण गरेका योजना परेनन् ।

अन्त्यमा, तपाईंले काम गर्दाका मुख्य चुनौती के के हुन् र कसरी समाधान गर्नुहुन्छ ?

मुख्य गरेर बजेट नै कम छ त्यसैले काम गर्न गाह्रो छ । ३२ करोड जतिको बजेट भए पनि काम गर्न मिल्ने मुस्किलले चार करोड हो । आन्तरिक आम्दानी १५ लाख पनि पुग्दैन । बजेट बढाउन प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेका छौँ । आन्तरिक आम्दानी बढाउन घर बनाउँदा अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने व्यवस्था मिलाएका छौँ । हाम्रोमा मदिरा बिक्रीवितरण बन्द छ त्यसैलाई खोलेर आम्दानी बढाउने कि भन्नेमा पनि छाँै । सबैभन्दा ठुलो समस्या श्रमदानको छ । विगतमा श्रमदानको चलन थियो । अहिले त्यो वातावरण बनाउन जरुरी छ । ‘हाम्रो गाउँ हामीले नै बनाउनु पर्छ’ भन्ने सोचको विकास गराउनु जरुरी छ । नीति नियम पालना गराउनका लागि विशेष पहल गर्नुपर्ने छ । काम गर्न सक्ने जनशक्ति गाउँमै कसरी रोक्न सकिन्छ, चुनौती थपिएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार