असार ३०, २०८२ सोमबार July 14, 2025

शिक्षा र मानवअधिकारका क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति सम्मानित

चिकित्सा तथा मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान दिएबापत डा गौरीशङ्करलाल दासलाई सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः रुद्रराज साहित्य सेवा समितिले शिक्षा र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनु हुने दुई व्यक्तित्व र एक संस्थालाई पुरस्कृत र सम्मान गरेको छ ।

सरदार रुद्रराज पाण्डेको १२४औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा समितिले चिकित्सा तथा मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान दिएबापत डा गौरीशङ्करलाल दासलाई सम्मान गरेको छ ।

त्यस्तै, समितिले वरिष्ठ शिक्षाविद् प्राध्यापक शङ्करराज पाठकलाई यस वर्षको शिक्षा सम्मान प्रदान गरेको छ । विसं २०१६ मा काठमाडौँमा सरस्वती कलेजको प्राचार्यबाट शिक्षा क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले नेपाल प्राध्यापक सङ्घको संस्थापक सदस्य, महासचिव, त्रिभुवन विश्वविद्यालयको उपकुलपति लगायतका महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुभएको थियो ।

त्यस अवसरमा शिक्षाविद् पाठकलाई रु ५० हजार राशि नगदसहित सम्मानपत्र प्रदान गरियो । समितिले शिक्षा क्षेत्रमा डेढ दशकदेखि अनवरत योगदान पुर्याएवापत शिक्षक मासिक पत्रिकालाई पनि यस वर्ष विशेष सम्मान प्रदान गरेको छ । कार्यक्रममा शिक्षक मासिक पत्रिकाका सम्पादक राजेन्द्र दाहाललाई रु ५० हजार नगदसहित सम्मानपत्र प्रदान गरियो ।

उहाँहरूलाई त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा केदारभक्त माथेमाले सम्मान एवं पुरस्कार प्रदान गर्नुभएको हो ।

विसं २०४४ मा स्थापित समितिले शिक्षा, साहित्य, इतिहास क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष आलोपालो गरी रुद्रराज पाण्डेको जन्मजयन्तीका अवसरमा सम्मान गर्दै आएको छ । उहाँले नेपाली भाषा, साहित्य, शिक्षा, संस्कृति र आध्यात्मिक भावबाट राष्ट्र सेवामा विशिष्ट योगदान पुर्‍याउनुभएको थियो ।

कार्यक्रममा प्राध्यापक त्रिरत्न मानन्धर, प्रा डा मोहनप्रसाद लोहनी, समितिका अध्यक्ष डा बद्रीराज पाण्डे, महासचिव डा निल पाण्डे, सम्मानित एवं पुरस्कृत व्यक्तित्व दास, पाठक र दाहालले सरदार पाण्डेको बहुआयामिक व्यक्तित्व र नेपालको शिक्षा क्षेत्रमा देखिएका चुनौतीबारे चर्चा गर्नुभयो ।

स्व पाण्डेले शिक्षा, साहित्य, अध्यात्मको क्षेत्रमा गर्नुभएको कर्मले जीवन पर्यन्त पनि समाजले सम्झँदै आएको बताउँदै उहाँहरूले सेडा, सिनाष्टको अवधारणा कोर्ने र प्राज्ञिक क्रियाकलापबारे समाजलाई जानकारी दिइनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो भन्नुभयो ।

पाण्डेकै पहलमा नेपालमै एसएलसी परीक्षा र नेपाली भाषामा पाठ्यपुस्तक तयार गरी विश्वविद्यालयमा पढाई प्रारम्भ भएको घटना पनि सो अवसरमा सुनाइयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया