वैशाख १५, २०८१ शनिबार April 27, 2024

गृहमन्त्री रवि लामिछानेसँग भारतीय राजदूत नवीन श्रीवास्तवले गरे भेटवार्ता

सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसारपसार समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा राजदुतको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको भेटवार्ता गर्नुभएको छ ।

मंगलबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताको आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, वृहत् र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसारपसार समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

यस्तै भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि अनुदान र सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्ठकृत तालिम उपलब्ध गराउने स्रोतका लागि भारत तयार रहेको राजदूत श्रीवास्तवले बताउनुभयो ।

गृहमन्त्री लामिछानेले दुई देशबीच रहेका संयन्त्रमार्फत सहयोग आदान–प्रदानमा थप समन्वय, सहमतिका लागि प्रस्तावित क्षेत्र र विषयमा तत्काल छलफल गरिने तथा जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदानको उपयोगका लागि प्रक्रियागत सहजीकरण गरिने जनाउनुभयो ।

यस्तै उहाँले तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनु पर्ने र भएकालाई स्तारोन्नतिसहित नियमित र विश्वासिलो बनाउनु पर्नेमा जोड दिनुभयो ।

भेटका क्रममा सुरक्षित भारतका लागि सुरक्षित नेपाल आवश्यक रहेको र नेपालको सुरक्षा सुदृढिकरण तथा आतंकवाद नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत–साधन उपलब्ध गराउन भारत इच्छुक रहेको राजदूत श्रीवास्तवले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया