वैशाख १५, २०८१ शनिबार April 27, 2024

नगरप्रमुख पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

प्रशासनिक भवन निर्माणको लागि बोलपत्र आव्हान गर्दा एक करोड आठ लाख रुपैयाँ अनियमितता गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनाविरुद्ध एक करोड आठ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नगरप्रमुख पासमानसहित नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले प्रशासनिक भवन निर्माणको लागि बोलपत्र आव्हान गर्दा एक करोड आठ लाख रुपैयाँ अनियमितता गरेको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रवीणकुमार महतोले उच्च अदालत जनकपुर, राजविराजबाट भएको आदेशको परिपालना नगरी प्रशासनिक भवन बनाउन सम्झौता गर्ने निर्णय गरेको र सोही सम्झौताको आधारमा म्याद समाप्त भइसक्दा पनि पेस्की रकम भुक्तान दिएको आरोप अख्तियारको छ ।

यसैगरी, निर्माण व्यवसायी बैजनाथ यादवले पेस्की भुक्तानी लिई निर्माण कार्य सुरु नगरेको आरोप रहेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया