वैशाख १५, २०८१ शनिबार April 27, 2024

बागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्न ५ बुँदे सहमति

चार दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वाग्मती प्रदेशका सत्तारुढ दलबीच ५ बुँदे सहमति भएको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एस) र हाम्रो नेपाली पार्टी (हानेपा) बीच प्रदेश सरकार गठनका विषयमा बिहीबार साँझ सहमति भएको हो ।

सहमति अनुसार पाँच वर्षका लागि निर्वाचित गरेको प्रदेश सभाको बाँकी पुरै कार्यकालको लागि सहकार्य गरी राजनीतिक स्थायित्व, विकास र समृद्धिको नागरिक चाहनालाई आत्मसात् गरी प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने विषयमा सहमति भएको छ ।

सहमतिअनुसार केन्द्रीयस्तरमा बनेको सत्ता समीकरणको निर्णयअनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने निर्णय भएको छ ।

सरकार सञ्चालनका सन्दर्भमा समीकरणमा आबद्ध दलहरूको प्रतिनिधि रहने प्रदेशस्तरीय संयन्त्र निर्माण गरी साझा न्यूनतम नीति कार्यक्रम बनाई त्यसको मार्ग दर्शनमा सरकार अघि बढ्ने, सरकार गठनका सन्दर्भमा सहभागी दलहरुको सहमतिको आधारमा मात्र मन्त्रिपरिषद्को संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने तथा प्रदेशको राजनीतिक स्थायित्व, विकास र समृद्धिका पक्षमा प्रदेशसभामा प्रतिनिधित्व गरेका अन्य दललाई पनि यस समीकरणमा सहभागी हुन अनुरोध गर्ने निर्णय भएको हो ।

सहमति पत्रमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेकपा एसका सांसद राजेन्द्रमान श्रेष्ठ तथा हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया