वैशाख १६, २०८१ आइतबार April 28, 2024

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ

श्रव्यदृश्य सुनुवाइको शुभारम्भ गर्दै छिटो र कम खर्चिलो न्यायका लागि सबैले काम गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा सधैँ लाग्नुपर्ने बताउनुभएको छ ।

नियमित निरीक्षणका क्रममा आज विशेष अदालतमा पुग्नुभएका प्रधानन्यायाधीश श्रेष्ठले श्रव्यदृश्य सुनुवाइको शुभारम्भ गर्दै छिटो र कम खर्चिलो न्यायका लागि सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“म पनि लागिरहेको छु, सिङ्गो न्यायपालिका लागिरहेको छ”–उहाँले भन्नुभयो, “श्रव्यदृश्य सुनुवाइको प्रयोगबाट देशभरिबाट सुनुवाइ गर्न सकिने हुँदा छिटोछरितो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्न सबै लाग्नुपर्छ, श्रव्यदृश्य सुनुवाइले पनि एउटा सहयोग गर्नेछ ।”

प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालत काठमाडौँमा मात्र भएको हुनाले श्रव्यदृश्य सुनुवाइको अझ धेरै महत्व भएको र देशभरबाट न्यायका उपभोक्तालाई सहज न्याय पुर्‍याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुद्दा फर्छ्यौटमा राम्रो प्रगति गरेको र कामप्रति जागरूकता देखाएकोमा आफूलाई सन्तोष लागेको बताउनुभयो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले विशेष अदालतमा आजदेखि श्रव्यदृश्य सुनुवाइ प्रारम्भ गरेको र सूचना प्रविधिको उच्चतम र सही प्रयोगमा गरी न्यायमा सहज पहुँच बनाउन प्रयत्न गरिरहेको बताउनुभयो । “न्यायिक सुधारमा प्रक्रियागत सुधारको थालनी भएको छ”, अध्यक्ष कुँवरले भन्नुभयो, “अनलाइन अदालतको विकासले विश्वस्तताका साथ न्याय प्रणालीलाई अहिलेको भन्दाबढी पहुँचयोग्य र थप प्रभावकारी, छिटो र किफायती बनाउने छौँ ।”

सोही अवसरमा विशेष अदालत बार एशोसिशनका अध्यक्ष चुणामणि पौडेल र सचिव टीकाबहादुर कुँवरले बार र बेन्चबीच सहकार्य गरेर काम गरिरहेको र अदालतमा आएको पछिल्लो टिमले मुद्दा फछर्यौटमा उल्लेख्य सुधार गरेको प्रधानन्यायाधीशलाई जानकारी गराउनुभएको थियो ।

प्रधानन्यायाधीश श्रेष्ठले बार र बेन्चबीच सहकार्य जरुरी हुने र तीव्र मुद्दाको सुनुवाइ र न्यायमा पहुँच अभिवृद्धि गर्न सम्भव हुने बताउनुभयो ।प्रधानन्यायाधीश श्रेष्ठले अदालतको समग्र निरीक्षण गर्दै मुद्दाको प्रगतिबारे जानकारी दिँदै कर्मचारीसँगसमेत कुराकानी गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया