असार २९, २०८२ आइतबार July 13, 2025

त्रिविमा हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन

स्नातक तह प्रथम वर्षको जनसङ्ख्या र शिक्षाको आधार विषयको उत्तरपुस्तिका गायव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले आज गरेको निर्णयअनुसार उत्तरपुस्तिका हराएकोबारे विस्तृत छानबिन गरी ३० दिन भित्र प्रतिवेदन पेश गर्न उक्त  समिति गठन भएको हो । त्रिभुवन विश्वविद्यालयबाट आज जारी प्रेस विज्ञप्तिमा उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने बेहोरा उल्लेख गरिएको छ ।
विसं २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय ( कोड न. ४२२ ) र शिक्षाशास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड न. ४१२ ) को उत्तरपुस्तिका हराएपछि विश्वविद्यालयले यही चैत २१ गते यी दुई विषयका परीक्षा सञ्चालन हुने गरी सूचना प्रकाशित भइसकेको जानकारी दिइसकेको छ ।
  “उत्तरपुस्तिका हराएको सन्दर्भमा विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित समाचार तथा सम्पादकीय र जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ, “उक्त उत्तरपुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८० चैत १५ गतेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरिएको छ । उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने बेहोरा अुरोध छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया