असार २४, २०८२ मंगलबार July 8, 2025

गुल्मीमा ७ वटा घर पहिरोको जोखिममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गुल्मी । गुल्मीको सदरमुकाम नजिकैका ७ वटा घर अविरल वर्षासँगै आएको पहिरोको जोखिममा परेका छन् । निर्माणाधीन तम्घास–खाम्सेपानी सडक खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर–७ स्थित बेतुखर्कमा पहिरो जाँदा घरहरु जोखिममा परेका हुन् ।

पहिरोबाट राम बहादुर खड्का, लक्ष्मी कुवँर, पदम विष्ट, मुमेन्द्र थापा मगर, पोम नारायण सुवेदी, दीपक सुनार र विष्णु कुँवरको घर जोखिममा परेका छन् ।
निर्माणाधीन तम्घास–खाम्सेपानी सडक र तम्घास–नेटा सडकमा पर्ने वस्ती केही वर्ष अगाडिदेखि नै जोखिममा थिए । तर पछिल्लो केही दिन यता लगातारको वर्षाले ती घरका वासिन्दा विस्थापित भएका छन् । घर जोखिममा परेपछि उनीहरु छिमेकी तथा आफन्तकहाँ बस्दै आएका छन् ।

भौगोलिक जोखिमको आँकलन नगरी सडक चौडा पार्ने कामले घरहरु जोखिममा परेको स्थानीयको भनाइ छ । जोखिमबारे वर्षौंदेखि सम्बन्धित निकायमा जानकारी गराए पनि कुनै सुनुवाइ भएको पीडित पदम विष्टले बताएका छन । ओखरेनीमा निर्माणाधीन सडकबाट थप गिट्टी बालुवा निकाल्ने लोभले चाहिनेभन्दा पनि बढी बाटो चौडा पार्नाले पहिरो गएको विष्टको भनाइ छ ।

स्थानीयले केही दिन अघि सडक बिस्तारको क्रममा जोखिमलाई ख्याल गर्न आग्रह गर्दै सडक कार्यालयमा निवेदन पनि दिएका थिए । निर्माणाधीन तम्घास–नेटाको अर्को सडकको नाली सोही स्थानबाटै बग्दै आएकाले पनि थप पहिरो गएको विष्टले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया