वैशाख ३०, २०८१ आइतबार May 12, 2024

लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्य: अध्यक्ष दाहाल

‘आपतकालीन अवस्था, भूकम्प, कोभिडलगायतका महामारीमा लायन्सले खेलेको भूमिका महत्वपूर्ण”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लायन्स क्लबका गतिविधि सबैले स्मरण गर्न योग्य रहेको बताउनुभएको छ ।

चितवनको भरतपुरमा आजदेखि सुरु भएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपालको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा उहाँले समाजमा आपत् विपत् पर्दा क्लबले महत्वपूर्ण काम गरेको बताउनुभयो ।

‘आपतकालीन अवस्था, भूकम्प, कोभिडलगायतका महामारीमा लायन्सले खेलेको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यहाँहरूको काम गर्ने शैली सबैका लागि अनुकरणीय छ ।”

लायन्स क्लबमा हुने गरेको नेतृत्व हस्तान्तरण, सहजता, लक्ष्य निर्धारण र कार्यसम्पादनको राजनीतिक दलले अनुसरण गर्नुपर्ने बताउनुभयो । देशमा विभेदरहित मानवीय सेवा सबैका लागि आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि सबैले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनताका हक अधिकारको सुनिश्चितता गरेको जनाउँदै उहाँले राजनीतिक उपलब्धिलाई समाज रूपान्तरण र मानव सेवामा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियसभाले जनताका जनजीविकाका मुद्दा उठाउँदै पालिका र प्रदेशलाई सङ्घ सरकारसँग जोड्ने काम गर्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया