श्रावण ३१, २०८३ आइतबार August 16, 2026

गुल्मीका ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा

आव २०७९/८० मा एक हजार नौ सय ६४ र चालु आर्थिक वर्षको छ महिनामा एक हजार ८६ परिवारले स्वास्थ्य बीमा गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तम्घास (गुल्मी), ३ वैशाख । गुल्मीका झण्डै ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा रहेका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ३३ हजार आठ सय १२ परिवारले स्वास्थ्य बीमा गराएका हुन् ।

गुल्मीमा विसं २०७६ माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । जसमा आर्थिक वर्ष २०७६/७७ मा एक हजार तीन सय ९४, आव २०७७/७८ मा आठ हजार चार सय १६, आव २०७८/७९ मा पाँच हजार तीन सय ९७ परिवारले स्वास्थ्य बीमा गराएका तथ्याङ्क छ ।

आव २०७९/८० मा एक हजार नौ सय ६४ र चालु आर्थिक वर्षको छ महिनामा एक हजार ८६ परिवारले स्वास्थ्य बीमा गराएका बीमा बोर्डका प्रमुख सुवास घिमिरेले जानकारी दिए । उनका अनुसार एक परिवारले वार्षिक रु तीन हजार पाँच सयमा पाँच जनाको रु एक लाखसम्मको स्वास्थ्य बीमा गर्न पाउँछन् ।

औषतमा एक परिवारको चार जनाको मात्रै स्वास्थ्य बीमा हुने गरेको उनको भनाइ छ । यसरी हेर्दा जिल्लामा पारिवारको मात्रै गणना गर्दा ७३ हजार २८ जना स्वास्थ्य बीमाको पहुँचमा रहेका प्रमुख घिमिरेले जानकारी दिए । सोही अवधिमा १५ हजार पाँच सय ५५ ज्येष्ठ नागरिकको पनि स्वास्थ्य बीमा गराइएको छ । ज्येष्ठ नागरिकको हकमा भने एक नागरिक बराबर एक परिवार गणना हुने उनले बताए । उनका अनुसार यसरी हेर्दा जिल्लामा कूल ८८ हजार पाँच सय ८३ नागरिक स्वास्थ्य बीमाको पहुँचमा छन् ।

विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

जिल्लाको चन्द्रकोट गाउँपालिकाले अतिविपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गराइदिने कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रमअन्तर्गत गत वर्ष दुई लाखमा एक सय अतिविपन्न परिवारको निःशुल्क बीमा भएको थियो । उक्त कार्यक्रमलाई यो वर्ष परिमार्जन गरिएको छ ।

यो वर्ष अतिविपन्न परिवारका लागि निःशुल्क र विपन्न परिवारका लागि ५० प्रतिशत सहुलियत प्रदान गर्ने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमका लागि यो वर्ष पनि चन्द्रकोटमा तीन लाख बजेट विनियोजन गरिएको छ ।

“स्वास्थ्य बीमामा सहुलियत दिनाले धेरै नागरिक बीमाको पहुँचमा आउन सक्छन्”, अध्यक्ष केसीले भने, “यो कार्यक्रमले विपन्न नागरिकलाई धेरै राहत मिलेको छ ।”

गत वर्ष रेसुङ्गा नगरपालिका–४ ले वडाकै बजेटबाट २९ परिवारको निःशुल्क स्वास्थ्य बीमा गराइदिएको थियो । सोही कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको वडाध्यक्ष लीलाधर आचार्यले जानकारी दिए । निःशुल्क स्वास्थ्य बीमामा सुकुम्बासी र अतिविपन्न परिवार प्राथमिकतामा परेका उनले बताए । गत वर्ष रेसुङ्गा–३ कार्यालयले पनि २८ परिवारको निःशुल्क स्वास्थ्य बीमा गराइदिएको थियो ।

जिल्लाभर ९३ स्वास्थ्य बीमा अभिकर्ता

गुल्मीमा प्रत्येक वडामा एक/एक जनाका दरले ९३ जना स्वास्थ्य बीमा अभिकर्ता छन् । उनीहरुलाई स्वास्थ्य बीमा बोर्डले आवश्यक तालिमसमेत प्रदान गरेको छ । समयमै स्वास्थ्य बीमा गर्नाले बिरामी परेको समयमा आर्थिक भार वा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्छ । यसभन्दा पहिले धेरै सरकारी वा निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएकामा पछिल्लो समयमा त्यो कार्यक्रम कतिपय अस्पतालमा कटौती गरिएको छ ।

सरकारी अस्पतालमा गत माघ १ गतेदेदेखि उपचार गर्दा लागेको कूल लागतको १० प्रतिशत बीमित आफैँले व्यहोर्नुपर्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । त्यसैगरी निजी र सामुदायिक अस्पतालमा भने यही वैशाख १ गतेदेखि २० प्रतिशत रकम बीमितले तिर्नुपर्नेछ ।

नेपालमा पन्ध्रौँ योजनाको अन्त्यसम्म ६० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य राखिएकामा गुल्मीमा हालसम्म ४४.३० प्रतिशतमा पहुँच पुगेको बीमा बोर्ड गुल्मीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार