वैशाख २६, २०८१ बुधबार May 8, 2024

अष्ट्रेलियाबाट आज २५९ जना नेपाली काठमाण्डौं फर्किंदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदै छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् ।

नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । सो जहाजमा चार महिनादेखि लकडाउन परेका नेपालीहरु छन् । उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावकहरु हुन् । सो फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि छन् । उनीहरु आजै बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया आइपुगेका हुन् ।

नेपाल फर्किन १३ सय जनाले फाराम भरेका थिए । तर पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाउन लागिएको दूतावासका अधिकारीहरुले बताएका छन् । हरेक यात्रुबाट २ हजार ३ सय ५० अष्ट्रेलियन डलर भाडा लिइएको छ ।

हवाई यात्रुहरु सबैको सबैको पीसीआर परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैले उनीहरुलाई नेपाल पुगेपछि होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाइने दूतावास स्रोतले बतायो ।

नेपाल एयरलाइन्सको सो जहाजमा क्याप्टेन समझ कुमार श्रेष्ठ, क्याप्टेन श्रवण रिजाल, क्याप्टेन मनोहर कोल्हात्कर लगायत छन् । फ्लाइट अफिसरको रुपमा भोगेन्द्र कठायत, सन्जय पौडेल र प्रशान्त श्रेष्ठसमेत छन् । उनीहरु २९ जना अष्ट्रेलियन नागरिक तथा अष्ट्रेलियन स्थायी बासिन्दाहरुलाई बोकेर काठमाडौंबाट अष्ट्रेलिया आएका थिए ।

काठमाडौंस्थित अष्ट्रेलियन दूतावासको समन्वयमा ५ जना बच्चासहित २९ जनालाई बोकेर नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलिया गएको र सोही जहाजमा अष्ट्रेलियामा रहेका नेपालीहरु फर्किन लागेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिएका छन । अष्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुनमा मेलबर्नबाट हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया