वैशाख २०, २०८१ बिहिबार May 2, 2024

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

चैतमा मात्रै ७१ हजार नेपाली बिदेसिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राजनीतिक वितृष्णासँगै श्रमनुसारको ज्याला पाइने रोजगारीको अवसर नहुँदा र आर्थिक मन्दीको संक्रमण नटुंगिदा चालू आर्थिक वर्षको ९ महिनाको अन्तरालमा ५ लाख ३९ हजार नेपाली श्रमिकका रूपमा बाहिरिएका छन् ।

गत चैत महिनामा मात्रै ७० हजार ९ सय ३३ जना बिदेसिएपछि चालू आवमा मात्र बिदेसिनेको संख्या ७ लाख ५० हजार नाघ्ने अनुमान गरिएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकनुसार चालू आवको साउनमा ५५ हजार ५ सय ७५ जना नेपाली बिदेसिएका थिए । भदौमा ५० हजार ८ सय ८४ जना, असोजमा ५६ हजार २ सय ३५ जना, कात्तिकमा ४३ हजार ६ सय २२ जना, मंसिरमा ७१ हजार २ सय ७६ जना, पुसमा ६५ हजार ८ सय १३ जना, माघमा ६२ हजार १ सय ४७ जना र फागुनमा ६५ हजार ६ सय ५८ जना बिदेसिएका थिए ।

चैत महिनामा बिदेसिनेको संख्या मंसिरपछिकै उच्च हो । चालू आवको तथ्यांकमा मंसिरमा सबैभन्दा बढी अर्थात् ७१ हजार २ सय ७६ जना बिदेसिएका थिए ।

चाडपर्व र बिहे व्रतबन्धजस्ता गतिविधि वैशाखबाट कम हुँदै जाने भएकाले आगामी तीन महिनामा श्रमस्वीकृति लिनेको संख्या बढ्ने गरेको विगतको तथ्यांक रहेको छ ।

गत आवमा ७ लाख ७१ हजार वैदेशिक रोजगारीमा गएका र यस वर्ष पनि सोही हाराहारीमा पुग्ने अनुमान विभागको रहेको छ । चैत महिनामा सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्समा जानेको संख्या रहेको छ । सो मुलुकमा १७ हजार ८ सय १८ जना पुगेका छन् । यसैगरी, साउदी अरबमा १३ हजार ६ सय ४१ जना गएका छन् । मलेसियामा १२ हजार ६ सय २ जना नेपाली श्रमिकका रूपमा गएका छन् । त्यस्तै, कतारका लागि ११ हजार २ सय ४ जनाले श्रम भिसा पाएका छन् । कुवेतमा मात्रै जानको संख्या ४ हजार ७६ रहेको छ ।

नयाँ श्रम गन्तव्यका रूपमा उदाउँदै गरेको युरोपियन मुलुक रोमानियामा चैतमा मात्र २ हजार ३ सय जना गएका छन् । क्रोएसियामा ९ सय ६० र साइप्रसमा ७ सय ८१ जना गएका छन् । यसैगरी, सर्बियामा २ सय ६७ र यूकेमा २ सय ३२ जना नेपाली श्रम भिसामा गएका छन् ।

युरोपियन मुलुकमा समेत श्रम भिसामा जानेको संख्या बढेसँगै आगामी वर्षमा पनि नेपाल आउने रेमिट्यान्स वृद्धि हुने अनुमान गरिएको छ । कोभिडको समयमा गरिएको लकडाउनयता आन्तरिक रोजगारीमा संकुचन आएपछि डेढ वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्या हरेक महिनाजसो बढ्न थालेको छ । गत साउनपछि मासिक औसत ६० हजार वैदेशिक रोजगारका लागि बिदेसिएको र वैशाखबाट बिदेसिनेको संख्या प्रतिमहिना ७० हजारभन्दा कम नहुने अनुमान गरिएको छ ।

तथ्यांकनुसार चैत महिनाको रोजगारीका लागि ७० हजार ९ सय ३३ जना नेपाली विश्वका १ सय १ मुलुकमा पुगेका छन् । जसमा पुरुषको संख्या ६४ हजार २ सय ४१ र महिलाको संख्या ६ हजार ६ सय ९२ रहेको छ । यो संख्या पुनः श्रम स्वीकृति लिएर जाने र नयाँ श्रम स्वीकृति लिएर जानेहरूको हो । नयाँ श्रम स्वीकृति लिएर जानेको मात्र संख्या कुल ४२ हजार ४ सय ९० रहेको छ ।

विभागको तथ्यांकनुसार जापानका लागि १ हजार ३ सय ५१ जना, माल्दिभ्सका लागि ४ सय ९३ जना, मौरिससका लागि ६ सय २० जना र दक्षिण कोरियाका लागि ६ सय ५७ जनाले श्रम स्वीकृति पाएका छन् ।

तथ्यांकनुसार चैत महिनामा बिदेसिनेमध्ये उच्च सीप भएका ६६ जना, प्रोफेसनल कामदार ४ सय ८२ जना, अर्धदक्ष ५ हजार ६ सय ८४ जना र दक्ष कामदार ५१ हजार ३ सय २८ जना रहेका छन् । चैत महिनामा १३ हजार ३ सय ७३ जना अदक्ष कामदार श्रम भिसामा मुलुकबाट बाहिरिएका छन् ।

बिदेसिने कामदारमा सबैभन्दा बढी संख्या तराईतिरका रहेका छन् । चैतमा धनुषाबाट मात्रै ४ हजार २ सय ६ जना बिदेसिएका छन् । यसैगरी, झापाबाट ३ हजार १ सय ८२, सुनसरीबाट २ हजार ४०, महोत्तरीबाट २ हजार ८ सय ८४, मोरङबाट ३ हजार ५३, रूपन्देहीबाट २ हजार २ सय ३४, सप्तरीबाट २ हजार २ सय २२, सर्लाहीबाट २ हजार २ सय ७५, सिरहाबाट ३ हजार २ सय ७९ रहेका छन् । सबैभन्दा कम वैदेशिक रोजगारीमा जानेमा हिमाली जिल्लाका रहेका छन् । मनाङबाट तीन जना विदेशी मुलुकमा श्रमका लागि जाँदा मुगुबाट ७ र मुस्ताङबाट ८ जना बिदेसिएका छन् ।

वैदेशिक रोजगारीमा गएका श्रमिकसँगै ज्यान गुमाउने श्रमिकको संख्या पनि बढ्दो क्रममा रहेको छ । चालू आव २०८०–८१ को आठ महिनामा १ हजार २ सय ५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका थिए भने आव २०७९–८० मा १ हजार २ सय ८ जनाले ज्यान गुमाएका थिए ।

वैदेशिक रोजगार बोर्डबाट सहायतासहित आठ महिनाको अवधिमा दर्ता भएका श्रमिकहरूमा अधिकांश साउदी अरबमा गएका कामदार रहेका छन् । साउदी अरबबाट ५ सय १४, मलेसियाबाट ३ सय ३३, कतारबाट १ सय २३ र संयुक्त अरब इमिरेट्स (यूएई)बाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनासम्म ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया