वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

शीर्ष नेता इलाम दौडाहामा

सबैको पहिचानलाई सम्हाल्ने गरीको नेतृत्व इलाम क्षेत्र–२ को निर्वाचनले खोजेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इलाम–२ को उपनिर्वाचन नजिकिँदै जाँदा शीर्ष नेता इलाम केन्द्रित भएका छन् । विभिन्न पार्टीका शीर्षनेता आफ्ना उम्मेदवार जिताउन इलाम–२ मा आइरहेका छन् ।

आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका शीर्ष नेताले इलामको विकासको जिम्मा आफ्नो पार्टी र आफूले नै लिने आश्वासनसमेत दिइरहेका छन् । ५ वैशाखमा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार आयोजित चुनावी सभामा आए । सभामा ओलीले सुहाङलाई जिताउन मतदातालाई आग्रह गर्दै भने, ‘सुहाङलाई जिताएर पठाउनुस्, इलामको विकासको जिम्मा म लिन्छु, एमालेले लिन्छ ।’

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल पनि चुनावी घरदैलोमा छन् । उनले आफ्ना उम्मेदवार जितबहादुर राईलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । उनी भन्छन्, ‘यसपटक इलाम–२ मा हाम्रा उम्मेदवारलाई मतदाताले जिताउनेछन्, हाम्रो जित सुनिश्चित छ ।’

उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने पनि चुनावी–सभामा व्यस्त छन् । उनले चुनावी सभामा सहभागी भएर आफ्ना उम्मेदवार मिलन लिम्बुलाई जिताउन आग्रह गरिरहेका छन् । ‘आश्वासनका पोका बाँडेर मात्र हुँदैन, अब काम गरेर देखाउनुपर्छ,’ उनले आफ्ना उम्मेदवारलाई भोट माग्दै भने, ‘पुराना दललाई सुधार्न सकिएन, नयाँ दल र नयाँ मान्छेबाट मात्रै परिवर्तन सम्भव छ ।’ त्यस्तै, रास्वपा नेत्री तथा शिक्षामन्त्री सुमना श्रेष्ठसमेत केही दिनअघि इलाम आएर आफ्ना उम्मेदवारलाई भेट मागेकी थिइन् ।

नेपाली कांग्रेसले इलाममा शनिबार गरेको चुनावी–सभामा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए । शर्माले इलाममा काम नभएको होइन धेरै काम भएको भन्दै अधुरा रहेका काम पूरा गर्न कांग्रेसलाई जिताउनुपर्ने बताए । ‘इलाम–२ मा धेरै काम भएको छ, धेरै काम हुँदै छन् । केही अधुरा छन् । ती काम किन अधुरा र ढिला भयो भन्ने हेर्न जरुरी छ,’ शर्माले भने, ‘२०४६ को परिवर्तनपछि कांग्रेस नेतृत्वको सरकारका पालामा पनि धेरै काम भए । स्वर्गीय सुवासचन्द्र नेम्वाङले पनि यहाँ काम नगर्नुभएको भन्न मिल्दैन, नेम्वाङका अधुरा सपना अब नेपाली कांग्रेसले पूरा गर्नेछ ।’

त्यस्तै, कांग्रेस महामन्त्री गगन थापाले देशलाई सम्हाल्ने शक्ति चाहिएको बताएका छन् । उनले सबैको पहिचानलाई सम्हाल्ने गरीको नेतृत्व इलाम क्षेत्र–२ को निर्वाचनले खोजेको पनि बताए । सभामा महामन्त्री थापाले पहिचान पक्षधरलाई वास्तवमा नाराको सम्बोधन गर्न खोजेको कि चुनावी एजेन्डा मात्रै बनाएको भन्ने प्रश्नसमेत गरे ।

‘यो देशलाई मिलाउने शक्ति चाहिएको छ, सम्हाल्ने शक्ति चाहिएको छ,’ उनले भने, ‘पहिचानको नारा लगाउने साथीलाई यही मञ्चबाट भन्छु, यो नाराको सम्बोधन होस् भन्ने चाहेको हो कि नारा मात्रै लगाएको ?’

उनले इलामका मतदाताले उत्तेजना, भड्काउको राजनीति स्विकार्ने कि चेतनाको राजनीति रोज्ने भन्ने पनि आउँदो उपनिर्वाचनले देखाउने बताए । ‘कांग्रेस सबैको समान अधिकार स्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छ,’ उनले भने, ‘इलामले उत्तेजनाको, भड्काउको र उचाल्ने राजनीतिलाई स्विकार्छ कि मिलाउने वा सहमतिको राजनीतिलाई स्विकार्छ भन्ने यो निर्वाचनले देखाउने छ ।’ उनले कांग्रेस नेता डम्बरबहादुर खड्कालाई जिताउन मतदातासँग आग्रह गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्लेन साताअघि इलाम आएका थिए । इलाम बजारमा आयोजित चुनावी–सभामा उनले राप्रपालाई जिताउन आग्रह गरे । उनीसहित नेता रविन्द्र मिश्रसमेत आएका थिए । राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीसहितका दुई सांसदसमेत चुनावी अभियानमा इलाम आए । उनीहरूले यसपटक राप्रपा उम्मेदवार यहाँबाट विजयी बन्ने दाबी गरे ।

जनमत पार्टी अध्यक्ष सिके राउतसमेत यसअघि इलाम आएका थिए । उनले आफ्ना उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका थिए । जनमत पार्टीले प्रेमकुमार थाम्सुहाङलाई उम्मेदवार बनाएको छ ।

पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बु, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली उम्मेदवार बनेका छन् । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्बाङको गत २६ भदौमा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । २०७९ सालको निर्वाचनमा नेम्बाङ ३० हजार २० मतसहित विजयी भएका थिए । तत्कालीय सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । । रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत ल्याएका थिए ।

समानुपातिकतर्फ एमालेले २६ हजार ५ सय ६२, कांग्रेसले २२ हजार ३ सय ३३, माओवादीले ५ हजार १ सय ५३ र रास्वपाले ४ हजार ६ सय ८६ मत ल्याएका थिए । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार