वैशाख २३, २०८१ आइतबार May 5, 2024

भेरी अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पतालले ८० प्रतिशत अङ्क पायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा उत्कृष्ट भएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत गुणस्तर तथा नियमन महाशाखाले गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ । स्थलगत अनुगमन तथा मूल्याङ्कनमा अस्पतालले उक्त अङ्क प्राप्त गरेको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६९, डडेलधुरा अस्पतालले ६५ र गजेन्द्रनारायण अस्पतालले ३२ अङ्क पाएको गुणस्तर तथा नियमन महाशाखाले जनाएको छ । भेरी अस्पतालले विगत ३ वर्षदेखि उत्कृष्ट अङ्क प्राप्त गरिरहेको छ । भेरी अस्पतालले यसअघि सन् २०१९ मा ६१ प्रतिशत, सन् २०२२ मा ६७ र सन् २०२३ मा ७५ प्रतिशत अङ्क प्राप्त गरेको थियो ।

अस्पतालको भौतिक पूर्वाधार, सुशासन व्यवस्थापन, स्वास्थ्य सेवा प्रवाहलाई आधार मानेर मूल्याङ्कन गरिएको हो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.पवनजंग रायमाझीले सबैको मेहनतले ८० प्रतिशत अङ्क प्राप्त गर्दै उत्कृष्ट हुन सफल भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको अवस्थालाई पनि आधार मानेर बजेट विनियोजन, स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन लगायतका काम गर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया