वैशाख २२, २०८१ शनिबार May 4, 2024

कतारी राजा थानीको भ्रमण लगानी सम्मेलनका लागि सकारात्मक : सहकार्यको बाटो खुल्यो, मुख्य विषय ओझेलमा

इजरायलबाट प्यालेस्टिनी लडाकु समूह हमासले बन्दी बनाएको नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि कतारको पहलका लागि आग्रह गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको मुखैमा मध्यपूर्वको धनी देश कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार स्वदेश फर्कनुभएको छ । उहाँको भ्रमणले लगानी सम्मेलनमा सकारात्मक प्रभाव पार्न सहयोगी सिद्ध हुने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता, कूटनीति र उद्योग वाणिज्य क्षेत्रलगायत ८ वटा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। तर झण्डै चार लाख नेपाली श्रमिकका रूपमा काम गरिरहेको नेपालको प्रमुख श्रम गन्तव्य देशका राजाको भ्रमणमा कतारमा कार्यरत नेपाली कामदारको हकहितका विषयमा भने छलफल भएन।

नेपाल र कतारबीच सन् २००५ को मार्च २१ मा नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो भने त्यसको तीन वर्षपछि सन् २००८ को जनवरी २० मा उक्त सम्झौताको अतिरिक्त प्रोटोकलमा हस्ताक्षर भएको थियो । १६ वर्ष पुरानो उक्त सम्झौतामा पुनरावलोकनका लागि नेपालले कुरा उठाएको भए पनि कतारले चासो नदेखाएको कारण यो भ्रमणमा श्रम सम्झौतासम्बन्धी कुरा नउठेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलराज अर्यालले कतारी राजाको नेपाल भ्रमणअघि नेपाल समाचारपत्रसँगको कु्राकानीमा श्रम सम्झौताको पुनरावलोकनका लागि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् पठाएको र परराष्ट्रले पनि नेपालस्थित कतारी दूतावासमार्फत् पत्राचार गरिसकेको भए पनि त्यसको सकारात्मक जवाफ नआएको बताउनुभएको थियो।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाकार एवं कूटनीतिक विश्लेषक अरुण सुवेदीले कतारी राजा नेपाल भ्रमणमा आउनु राम्रो सुरुआत भएको जिकिर गर्दै भन्नुभयो– ‘नेपालले आफ्नो प्राथमिकतामा परिवर्तन गरी मध्यपूर्वलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । अहिले कतारले नेपाललाई प्राथमिकतामा राखेको देखियो । यो राम्रो सुरुआत हो । तर, फिलिपिन्स र बंगलादेश हुँदै नेपालको भ्रमण गर्नुभएको कतारी राजाको यो भ्रमणले अहिले विश्व राजनीतिक टकराव र तनावपूर्ण परिस्थितिसँग सम्बन्ध राख्छ कि राख्दैन, त्यो चाहिँ चासोको विषय हो ।’

कूटनीतिक विश्लेषक सुवेदीले यो भ्रमणमा उच्च प्राथमिकतामा पर्नुपर्ने एजेन्डाहरू अगाडि नआई सामान्य विषय मात्र उठेको टिप्पणी गर्दै भन्नुभयो– ‘पेट्रोलियम पदार्थको धनी कतारको वित्तीय शक्तिलाई नेपालको पूर्वाधारमा लगाउने विषय उठ्नुपर्ने थियो । त्यसै गरी कतारको प्रहरीमा नेपाली युवा भर्ना गर्ने सम्बन्धमा पनि छलफल हुनुपर्ने थियो तर भएन । सन् २०२१ मा नै कतारको आन्तरिक मन्त्रालयले दुई सय जनालाई प्रहरीमा भर्ना गर्नका लागि भन्दै कतारस्थित नेपाली दूतावासलाई पत्र पठाएको थियो । दुई देशको सरकारबीच छलफल गरेर मात्रै कतार प्रहरीमा नेपाली पठाउने चर्चा चले पनि यो विषय अघि बढ्न सकेन ।

कूटनीतिक मामिलाका जानकार डा. इन्द्र अधिकारीले लगानी सम्मेलनको मुखैमा भएको कतारी राजाको भ्रमणले विश्वमाझ नेपालको विज्ञापन गरेको धारणा राख्नुभयो । यद्यपि, यो भ्रमणमा नेपालले श्रम सम्झौताका कुरा र कतारका जेलमा परेका निर्दोष नेपालीको बारेमा पनि छलफल हुनुपर्नेमा त्यसो नहुँदा अति तयारी नपुगेको हो कि भन्ने भान परेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रमुख विषयहरू छुटेका छन् । समझदारी भएका विषयहरूले ती क्षेत्रमा सहकार्य गर्ने बाटो त खुलेका छन् तर त्यो नेपालकै सक्रियतामा भर पर्छ ।’

यो भ्रमणमा निकै आशा गरिएको अर्को विषय थियो, इजरायलबाट प्यालेस्टिनी लडाकु समूह हमासले बन्दी बनाएको नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि कतारको पहलका लागि आग्रह गर्ने। कतारी राजा थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीचको भेटवार्तामा राष्ट्रपति पौडेलले विपिनको रिहाइको लागि पहल गरिदिन आग्रह गर्नुभएको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा भने उक्त विषयले प्रवेश पाएको देखिएन। यद्यपि, प्रधानमन्त्रीले पनि सार्वजनिक रूपमा विपिनको कुरा उठाउने बताउँदै आउनुभएको थियो।

कूटनीतिक विश्लेषक अरुण सुवेदी भन्नुहुन्छ– ‘यस्तो कुरा ‘क्वाइट डिप्लोमेसी’ बाट हुन्छ, बाहिर हल्ला गरिँदैन । अब साँच्चैको कुरा भएको थियो वा थिएन भन्ने चाहिँ १०–१५ दिनपछि थाहा हुन्छ ।’ हमासका नेता इस्माइल हानिया कतारमै बस्ने गर्नुभएको छ भने कतारले इजरायल–हमास युद्धमा बन्दी आदानप्रदानमा समेत भूमिका निभाइसकेको छ ।

मंगलबार अपराह्न नेपाल भ्रमणमा आउनुभएका कतारी राजा थानीको सम्मानमा उक्त दिन सार्वजनिक बिदा दिइएको थियो । सोही दिन राष्ट्रपति पौडेलसँगको भेटवार्तापछि उहाँको सम्मानमा राष्ट्रपति पौडेलले सोल्टी होटेलमा रात्रिभोजको आयोजना गर्नुभएको थियो ।

भ्रमणको दोस्रो दिन सोल्टी होटलमा प्रधानमन्त्री प्रचण्ड र कतारी राजा थानीबीच एक्लाएक्लै भेटवार्तापछि विभिन्न आठ वटा सम्झौताहरूमा सहमति भएको थियो ।

नेपाल र कतारबीच यस्ता छन् ८ समझदारी

–संस्कृति र कलाको क्षेत्रमा आपसी सहयोगसम्बन्धी
–युवा तथा खेलकुदको क्षेत्रमा आपसी सहयोगसम्बन्धी
–शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा आपसी सहयोग
–महान्यायाधिवक्ताको कार्यालय र कतारको सार्वजनिक अभियोजनबीच सहयोगसम्बन्धी
–परराष्ट्र मामिला अध्ययन संस्थान (आईएफए) र कतारको विदेश मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी
–राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्यूएनए) बीच समाचार आदानप्रदान र सहयोगसम्बन्धी
–उद्योग वाणिज्य महासंघ र कतार चेम्बरबीच संयुक्त व्यापार परिषद् स्थापना गर्नेसम्बन्धी
–उद्योग वाणिज्य महासंघर कतार चेम्बरबीचको समझदारीपत्रको नवीकरणसम्बन्धी – नेपाल समाचारपत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार