असार ६, २०८३ शनिबार June 20, 2026

नीति कार्यक्रम पनि समझदारी बन्यो भने भोलि नै टेबुल हुने र प्रक्रिया अगाडि बढ्न सक्छ : प्रधानमन्त्री, पुष्पकमल दाहाल प्रचण्ड (अन्तवार्ता)

अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकार र संसद् दबाबमा छ । चरणबद्ध रूपमा वार्ता भइरहेका छन् । संसद् खुल्ने वातावरण कत्तिको भइरहेको छ ?

संसद् अवरुद्धको स्थिति अन्त्य गर्नका निम्ति प्रधानमन्त्रीको हैसियतले मैले प्रयास गरिराखेकै छु । यो कार्यक्रमपछि पनि म प्रतिपक्षी दलका नेताहरूसँग एकचोटी फेरि संवाद गर्ने र सहमति खोज्ने प्रयास गर्दैछु । उहाँहरूको टिम आउँदै हुनुहुन्छ । आशा छ भोलिदेखि सदन सूचारु हुने वातावरण बनोस् र मैले त्यसको निम्ती हुनसक्ने जति प्रयास गरेको छु ।

अस्ति (बिहीबार) को दिन करिब-करिब समझदारीको नजिक पुगेको महसुस गरेको थिएँ । दुवै पक्षका केही प्रतिनिधिको अनौपचारिक कुराकानीमा झन्डै सहमति भएको थियो र सहमतिको नजिक पुगेको कुरा भनेको पनि थिएँ बाहिर । तर दुर्भाग्य अन्तिम समयमा त्यो रूपमा जान सकेन । आजको वार्ता सार्थक हुन्छ भन्ने अपेक्षाका साथ उहाँहरूसँग छलफल गर्दैछु ।

एकातिर संवैधानिक रूपमा जेठ १५ मा बजेट ल्याउनुपर्ने बाध्यता छ । बीचमा नीति तथा कार्यक्रम पनि प्रस्तुत भएको छ र त्यो पारित गर्नुपर्ने बाध्यता छ । यसैबीचमा विश्वासको मत पनि लिँदै हुनुहुन्छ । यी तीनवटा विषय एकैपटक आइपुगेका छन्, यी विषयलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

सबै राजनीतिक दलहरू सत्तापक्ष र प्रतिपक्षको बीचमा समझदारी भए त सबै प्रक्रियाबाटै टुंगिन्छ । नभए पनि विश्वासको मत लिनुपर्छ मैले भन्ने संवैधानिक व्यवस्थाअनुसार संविधानविद् र कानुनविद्को राय लिँदा पनि विश्वासको मत लिनु नै राम्रो हुन्छ भन्ने सुझाव आएपछि विश्वासको मत ७ गते लिने भनेर भनिएको छ । म आशा गर्छु, विश्वासको मत लिने क्रममा समझदारी नभएपनि पक्कै पनि प्रतिपक्षले अवरोध गर्नेछैन । यो त संविधानमै गरिएको अनिवार्य व्यवस्था भएको हुनाले त्यसलाई पनि रोक्दा त नेपाली कांग्रेस आफैंलाई धेरै घाटा हुन्छजस्तो लाग्छ, सायद उहाँहरूले त्यस्तो गर्नुहुन्न भन्ने मेरो आशा छ ।

नीति कार्यक्रम पनि समझदारी बन्यो भने भोलि नै टेबुल हुने र प्रक्रिया अगाडि बढ्न सक्छ । म त्यसैको कोसिसमा छु । बजेट ल्याउने पनि संविधानकै व्यवस्था हो, जेठ १५ गते बजेट ल्याउनैपर्छ । नीति तथा कार्यक्रम राष्ट्रपतिबाट वाचन भइसकेको छ । वाचन हुनु आफैंमा एककिसिमको समझदारी हो । त्यसअनुसारको बजेट ल्याउने कुरामा पनि प्रतिपक्षले सम्भवतः बाधा हालेर देशलाई अनिर्णयको बन्दी त बन्न दिनेछैन भन्ने मेरो आशा छ ।

जुन राजनीतिक परिवेश बन्दैछ, राजनीतिक पण्डितहरू के भन्छन् भने यसपालिको बजेट सायद अध्यादेशतिर पनि जानसक्छ । त्यो सम्भावना कति छ ?

मेरो विचारमा त्यस्तो स्थिति नआओस् भन्ने नै प्रयास भइरहेको छ । अब त्यो स्थितिमा जान दिने या नदिने भन्ने कुरा मुख्यत: नेपाली कांग्रेसको हातमा देख्छु । मैले चाहिँ अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने बिल्कुल चाहेको छैंन ।

अहिले सहमतिको बाधक प्रतिपक्ष हो कि सत्तारुढ गठबन्धनभित्रै हो भन्ने सवाल पनि उठिराखेका छन् । यो स्थतितीमा विगतमा पनि अहसयोग हुँदा यहाँले गठबन्धन नै छोडेर हिँड्नुपर्ने स्थिति बनेको थियो । किनभने त्यतिबेला सरकारको पर्फर्मेन्समा प्रश्न उठिसकेपछि मन्त्रीहरू परिवर्तन गर्न सहमति भएन । त्यो खालको दबाब महसुस गरिरहनुभएको छ भन्ने हामीले थाहा पाइराखेका छौं । त्यो कुरा के हो ?

मैले प्रष्ट भन्नुपर्दा त्यो तहको अहिले होइन । यथार्थमा यो विषय जुन उठाएर अहिले सदन अवरुद्धको स्थितिमा पुर्‍याइएको छ यो त्यसो गर्नुपर्ने विषय पनि होइन मेरो आफ्नै पनि बुझाइ छ । त्यो विषय अहिले नयाँ समीकरण बनेपछि मात्रै उठेको विषय होइन । तपाईंहरूकै मिडियाले यो विषयलाई उठाएको धेरै भयो । जतिबेला नेपाली कांग्रेस गठबन्धनमै थियो, सरकारमै थियो । यो विषय उठिराखेकै थियो, छलफल चलिराखेकै थियो । तर सदन अवरुद्धतिर जाने गरेको थिएन । नयाँ समीकरणपछि यसलाई यसरी हाइलाइट गरियो, गर्न खोजियो कि, यो सदन अवरुद्धको स्थितिमा पुग्यो । योभित्र कहिँ न कहिँ पोलिटिकल इन्टेन्सनले काम गरेको छ भन्ने देखिएको छ । जसलाई आरोपित गरिएको छ उहाँले पटकपटक भन्ने गर्नुभएको छ । सार्वजनिक रूपमै पनि र मैले पनि त्यसलाई भेरिफाइ गर्न खोजेको साँच्चै त्यो हो कि होइन भनेर भेरिफाइ गर्न खोज्दा पनि कि, रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरिएकै थियो ।

यो प्रचार हुँदाहुँदै पनि गरिएको थियो । प्रधानमन्त्री बन्न तयार तत्काल तयार नभएपछि यो विषयलाई उठाइयो भने कहिँ न कहिँ पलिटिक्सले काम गरेको छ भन्ने त देखिएको छ । तर त्यसो भनेर फेरि सदन अवरुद्ध भइसक्या छ, विषय उठिसक्या छ, त्यसकारण यसको समाधानको उपाय खोज्नुपर्छ भन्नेमा म प्रष्ट छु । मेरो यो ब्याख्याले के अर्थ नलागोस् भने यो पोलिटिकल देखेपछि समाधानको प्रयास हुँदैन कि भन्ने अर्थ नलागोस् । मन लगाएर त्यो कोसिस गरिराख्या पनि छु । पछिल्लो चरणमा स्वयं गृहमन्त्री रवि लामिछाने पनि समिति बनाएर समाधान हुन्छ भने म तयार छु भनेको स्थिति पनि छ । आशा गरौं अब त्यतैतिर जान्छ यो समस्याको समाधान ।

अस्तिको दिनमा एकखालको सहमति भइसकेर टीओआर पनि बनेको थियो । बालुवाटारबाट बानेश्वर आउँदाआउँदै के भयो त्यस्तो ?

अनौपचारिक भएको छलफलमा करिबकरिब सहमति भएको थियो । अहिले हरेक राजनीतिक दलमा एक्सट्रिम लाइन, अर्को मध्यमार्गी लाइन देखिन्छ । सायद एक्सट्रिम प्वाइन्टले बालुवाटारबाट स‍ंसद् भवन जाँदासम्म त्यो प्रवृति हाबी भयो ।

सदन संचालनमा सभामुखको भूमिकालाई लिएर सत्तारुढ प्रतिपक्ष सबैबाट प्रश्न उठिरहेको छ । प्रधानमन्त्री र सभामुखको सामञ्जस्यमा पनि कहिँ समस्या छ जसले सदनमा त्यो खालको झडपको स्थिति निम्तियो सदनभित्र ?

मैले यो बारेमा त्यतिधेरै बोल्नुपर्ने केही छैन । म अहिले सभामुखसँग निरन्तर छलफलमा छु । कतिपय सन्दर्भमा सहमतिअनुसार काम नभएका अनुभव पनि छन् । त्यसले अलिकति वातावरण तितो भएको अनुभव पनि छ । भविष्यमा त्यस्तो नहोस् भन्नका निम्ती हामी सतर्क छौं । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार