काठमाण्डौंः चितवन जिल्लाको भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ। रु ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो।
अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेलका अनुसार जर्मनीमा बनेको सिमेन्स कम्पनीको उक्त मेसिन अस्पताल ल्याइएको हो। ‘थ्री टेस्ला ६४ च्यानल’को उक्त उपकरण आधुनिक भएको भन्दै उनले मुटु, नसालगायत रोगको परीक्षणमा प्रभावकारी हुने बताए।
डा पौडेलले भने, ‘अत्याधुनिक भएकाले सबै खालका परीक्षण गर्न सकिन्छ। योसँगै अस्पतालबाट बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएका छौँ।’ एमआरआई मेसिनबाट दैनिक २० वटासम्म रोगको परीक्षण गर्न सकिने उनको भनाइ छ।
‘भरतपुर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू छ। अहिले एमआरआई नहुँदा बिरामी रिफर गरेर बाहिर पठाउनुपर्ने बाध्यता थियो’, डा उनले भने, ‘अब बीमा र अन्य बिरामीले अस्पतालबाटै सहज सेवा पाउने भएका छन्।’ निजीको तुलनामा सस्तोमा एमआरआई हुने उनले जानकारी दिए। उनका अनुसार अहिले अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामी आउने गरेका छन्। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया