असार ९, २०८१ आइतबार June 23, 2024

सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ), २४ जेठ : नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको मौलिक स्वरुप कायम गरिएको छ ।

गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । गलकोट नगरपालिका–३ का वडा अध्यक्ष फमबहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुनःनिर्माण चलिरहेको र अहिले पुनःनिर्माणको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।

कोतघरलाई पुरानै शैलीमा नयाँ काठको प्रयोग, झ्याल ढोका नयाँ राख्ने र छाना पुरानै स्वरुपमा छाउने काम चलिरहेको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेष नजिकै रहेको कोतघर विसं २०४० मा पुनःनिर्माण गरी ढुङ्गाले छाइएको थियो । त्यसयता गलकोट नगरपालिकाले मर्मतसम्भार गर्दै आए पनि भत्काएर पुनःनिर्माण भने गरिएको थिएन ।

गोलकोत कोतघर जीर्णोद्वार गरिदै::Nepali News Portal from Nepal

“बाहिरबाट रङ्गरोगन गरिए पनि भित्र काठ कँुहिएको रहेछ, ढुङ्गाको छाना चुँहिएर कोतघर जीर्ण भएको थियो, नगरपालिकाले विस्तृत परियोजना प्रतियोदन तयार गरेर कोतघरको पुनःनिर्माण गर्ने तथा त्यस क्षेत्रको समग्र विकास गर्ने योजना जारी छ”, वडाध्यक्ष खत्रीले भन्नुभयो, “नगरपालिकाको योजनामा नेपाली सेनाले साथ दिएको छ ।”

घोडाबाँधेस्थित नेपाली सेनाको श्रीमेहर गणले द्रुत प्रभाव योजनाअन्तर्गत गलकोटस्थित कोतघर जीर्णोद्धार गरिरहेको प्रमुख सेनानी धनबहादुर रानाले जानकारी दिनुभयो । आगामी असारभित्रै निर्माण सम्पन्न गरेर कोतघर नगरपालिकालाई हस्तान्तरण गरिने जानकारी दिँदै उहाँले जीर्णोद्धार लागत रु नौ लाख रहेको बताउनुभयो ।

गलकोट नगरपालिकाका प्रमुख भरत गैरेले कोतघरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नेगरी रु ५० लाखभन्दा बढी खर्चेर भौतिक पूर्वाधार निर्माण गरिएको जानकारी दिनुभयो ।

उक्त कोतघरबाट दुई सय १३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएको स्थानीयको भनाइ छ । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ । राजाले त्यहाँ दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल निर्माण गरेका थिए । कोतघरले झण्डै सात रोपनी जग्गा चर्चेको छ । कोतघरसँगै भगवतीको मन्दिर पनि छ ।

कोतघरमा खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार छन् । तत्कालीन राजाले पूजाआजा गर्ने इष्टदेवी र भगवतीका मन्दिरमा त्यति बेलैका मूर्ति र शिला छन् । खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार राख्नका लागि नेपाली सेनाले छुट्टै भवन समेत बनाइरहेको छ ।

कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरबार र ६० किलोका दुई खुकुरी प्रतिस्थापन गरिएपछि कोतघरमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । अहिलेको गलकोट नगरपालिकाको नामसमेत यही कोतबाट निर्माण भएको इतिहास छ । गोलो पहाडको टाकुरामा दरबार निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंश हुँदै अहिले गलकोटका रुपमा प्रचलित छ ।

कोतघरमा बडादसैँ र चैतेदसैँमा विशेष पूजा हुने गरेको छ । विसं १६३१ देखि १८४४ सम्म कोतघरबाट गलकोट राज्य सञ्चालन भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया