कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न

विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रेपलाञ्चोक। जिल्लाको ऐतिहासिक नगर पनौतीमा देवताबीच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्याःपुन्ही) आज सकिएको छ।

जात्राको अन्तिम दिन अर्थात् आज पूर्णिमाका दिन दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा यौन क्रियाकलाप दर्शाउन दुई रथलाई एकआपसमा जुधाइएको थियो। यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिइन्छ। साँझ चझ र चिराग पूजा गरेपछि जात्रा सकिएको हो।

किंवदन्तीअनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई लखेट्दा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको यस जात्रा विशेषरुपमा बिहिबार साँझदेखि करिब ५० मिटर चौडा पुण्यमाता खोलामा नागको प्रतीकका रुपमा दुई बाँस तेर्स्याइने र देवगण (दुइचा न्याकेगू)हरुलाई सुस्तरी तारेपछि सुरु भएको थियो। महादेव त्रिवेणीमा हामफालेर लुक्दा पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन्। भाग्ने र पिछा गर्ने कार्यमा अबिरजात्रा गरी रथ जुधाइने गरिँदै आइएको हो।

लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन्। सोही क्रममा ब्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् भन्ने मान्यता रहँदै आएको स्थानीय वृद्ध विकुनारायण ताम्राकारले बताए।

उनका अनुसार धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिक सम्बन्ध प्रस्तुतिका रुपमा लिइएको हो। रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्ने गर्छन्। इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जंगमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो।

विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ। पनौती जात्रा मूल व्यवस्थापन समितिका अनुसार जात्रा सुरुआतको दिन बिहीबार राति १० बजे भद्रकालीको रथ तानेर रातभरि गैंडू पूजा (होम गर्ने) गरिएको थियो।

दोस्रो दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामहित पूजाअर्चना गरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबिरजात्रा गरी नगर परिक्रमा गराई साँझ भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिएको थियो।

स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारका साथ भोज गर्छन्। भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम रहेको छ। त्रयोदशीदेखि पूर्णिमासम्म जात्रा मनाएको भोलिपल्टदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो। जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिन्छ। जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुने मान्यता रहँदै आएको छ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए। त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकारले बताए। तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रुपमा लिने गरिएको छ।

जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरु सुस्तरी हिँड्नुपर्छ। यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ। कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ। कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार