असार १२, २०८१ बुधबार June 26, 2024

स्वास्थ्य मन्त्री यादवद्वारा दुई प्रमुख स्वास्थ्य संस्थाको अनुगमन

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आज राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गरी त्यहाँका गतिविधि र समस्याबारे जानकारी लिनुभएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले बजेट अभावका र जनशक्ति दरबन्दी यकिन नहुँदा छाती रोग अस्पताल सञ्चालनमा आउन नसकेको बताउनुभएको थियो ।

जवाफमा मन्त्री यादवले आवश्यक पूर्वाधार निर्माण र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेका काम सम्पन्न गर्दै अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्नुहोस्, बजेट व्यवस्थापन मेरो जिम्मामा छ ।”

मन्त्री यादवले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमनका क्रममा त्यहाँ उपचाररत बिरामी, कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग छलफल गर्नुभयो । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केन्द्रको भवन साँघुरो भएकाले सेवा प्रवाहमा आइरहेका समस्या अवगत गराउनुभएको थियो ।

मन्त्री यादवले केन्द्रले केन्द्रले सामना गरिरहेका समस्या समाधान गर्न मन्त्रालयबाट आवश्यक कदम चाल्ने र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाउनुभयो । उहाँले दुवै केन्द्रमा रहेका पूर्वाधार र प्राविधिक आवश्यकता पूरा गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया