कञ्चनपुर । गत असोज २० गतेका दिन प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणका क्रममा हमास समूहले अपहरण गरी बन्धक बनाइएको भनिएका कञ्चनपुरका विपिन जोशीका परिवारजनसँग नेपालका लागि इजरायली राजदूत नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।
नेपालका लागि इजरायली राजदूत हनान गोडेर , स्डोट नेगेभ कलेजका अध्यक्ष प्रा. Prof. Haim Shaked सहितको टोली आइतबार राति कञ्चनपुरको महेन्द्रनगरस्थित विपिन जोशीको घरमै पुगेको हो । उहाँहरूले विपिन जोशीको परिवारजनलाई भेटेर सान्त्वना दिनु भएको छ ।
विपिनको खोजी कार्य गरी सकुशल रिहाइका लागि इजरायल सरकार निरन्तर लागिरहेको जनाउँदै छिट्टै विपिन घर फर्कनेमा इजरायल सरकार विश्वस्त रहेको राजदूत हनान गोडेरले बताउनुभयो । विपिन जोशीलाई इजरायलले आफ्नै परिवारको सदस्य जस्तै मानेकोले चिन्तित नहुन विपिनका परिवारजनलाई राजदूत हनान गोडेरले अनुरोध समेत गर्नुभयो ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्काय अन्तर्गत स्नातक तहका सबै सैद्धान्तिक परीक्षा सकेर प्रयोगात्मक कार्यका लागि इजरायली राजदूतावासको सहयोगमा सिक्दै, कमाउँदै कार्यक्रमबाट ४९ जना नेपाली विद्यार्थीहरूलाई गत भदौमा इजरायल लगिएको थियो ।
असोज २० गते प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणका क्रममा १० जना नेपाली विद्यार्थीहरूले अनायासै ज्यान गुमाउनु परेको थियो भने कञ्चनपुरका विपिन जोशीलाई हमाल समूहले अपहरण गरी बन्धक बनाएको भनिए पनि उहाँको अवस्था अज्ञात छ ।
उक्त घटना प्रति दुःख व्यक्त गर्दै स्डोट नेगेभ कलेजका अध्यक्ष प्रा. हाइम शाकदले विपिनको सकुशल रिहाइका लागि कलेजले पनि आफ्नो सरकार र अन्तर्राष्ट्रिय नियोगहरूसँग अनुरोध गरिरहेको उल्लेख गर्नुभयो ।
भेटवार्ताका क्रममा विपिन जोशीका बुवा महानन्द जोशी, आमा पद्मादेवी जोशी, बहिनी पुष्पा जोशी सहितका परिवारजनले विपिनको अवस्था पत्ता लगाई सकुशल रिहाइका लागि अनुरोध गर्नु भएको छ । उहाँहरूले घटनापछिका आठ महिनासम्मका पीडाहरू राजदूत नेतृत्वको टोलीलाई सुनाउनु भएको छ ।
विपिन जोशी हमास समूहको नियन्त्रणमा रहेको भनिएको र उहाँको रिहाइको लागि नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको नेपाल सरकारले आश्वासन दिँदै आएको छ । तर विपिन सम्पर्क विहीन भएको ८ महिना पूरा भई सक्दासम्म पनि अवस्था अज्ञात छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया