असार १०, २०८१ सोमबार June 24, 2024

विचार र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिवन्ध लगाउने कुरा सह्य हुँदैन : महामन्त्री शाही

विधानको अक्षरक्षः पालना र आन्तरिक प्रजातन्त्रको जगमा पार्टीलाई बलियो बनाउनु पर्दछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विचार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य सह्य नहुने भन्दै राप्रपाकी महामन्त्री कुन्ती शाहीले विधानको पूर्ण पालनामा जोड दिएकी छिन्।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक पार्टी हो । त्यसैले पार्टीभित्र आन्तरिक प्रजातन्त्र र अभ्यास व्यवहारमा लागू हुनुपर्दछ । पार्टीभित्र बोल्नु पाउनु पर्दछ, विचार र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिवन्ध लगाउने कुरा सह्य हुँदैन,’ शाहीले भनिन्।

पार्टीभित्र केही सकसपूर्ण अवस्था कार्यकर्तापंक्तिमा महसुस भएको भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराइन्।

बोल्नै नहुने, बोल्यो कि कारवाही गर्ने जस्ता अप्रजातान्त्रिक रवैया आजको युगमा स्वीकार्य नहुने उनको भनाइ थियो।

विधानको अक्षरक्षः पालना र आन्तरिक प्रजातन्त्रको जगमा पार्टीलाई बलियो बनाउनु पर्दछ भन्दै उनले भनिन्, ‘पार्टीप्रति आकर्षण छ तर लहरलाई आकर्षित गर्न सकिएको छैन। पार्टीले किन विश्वास जित्न सकेको छैन ? त्यसैले पार्टीमा सकारात्मक बहस र खुला छाती, प्रजातान्त्रिक आचरण र सही रणनीति आवश्यक भएको छ,’ महामन्त्री शाहीले भनिन्।

‘एकथरीले यहाँ भाष्य निर्माण गर्न खोजे जस्तो अध्यक्षलाई कमजोर बनाउने नभएर पार्टीलाई बलियो बनाउन बहस गर्नुपर्दछ । पार्टीमा सकारात्मक बहसको खाँचो छ,’ उनले भनिन् ।

राप्रपाद्वारा केन्द्रीय कार्यालयमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै राप्रपा महामन्त्री शाहीले सो विचार राखेकी हुन् ।

‘सहरी क्षेत्र, तराई, पहाड र हिमालका लागि सोही अनुकूल रणनीति बनाएर बलियो संगठन निर्माण गर्नु आवश्यक छ,’ भन्दै शाहीले पार्टी नेतृत्वको ध्यानाकर्षण गरिन् । ‘नेपालगंज र झापालाई बनाउने रणनीति कर्णालीका लागि सान्दर्भिक हुँदैन। कर्णालीका लागि छुट्टै रणनीति र कार्यक्रम आवश्यक हुन्छ ।’

देश र समाजमा विद्यमान संकटको निकास राप्रपाले बोकेको नीति, सिद्धान्त नै हो, उनले भनिन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया