असार १२, २०८१ बुधबार June 26, 2024

गर्मीका कारण विद्यार्थी बिरामी हुन थालेपछि सल्यानका विद्यालय बन्द

गर्मीकै कारण विद्यार्थीहरूमा विभिन्न किसिमको समस्या देखिएपछि ७ गतेसम्म बन्द गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सल्यान ।अत्यधिक गर्मी बढेपछि सल्यानका स्थानीय तहहरुले विद्यालय बन्द गर्न थालेका छन् ।

दिनप्रतिदिन तापक्रम बढिरहेपछि बागचौर नगरपालिका, शारदा नगरपालिका, कुमाख गाउँपालिका र त्रिवेणी गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण विद्यालय बन्द गरेका हुन् ।

बालबालिकाहरूको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको स्थानीय पालिकाहरूको भनाई छ ।

शारदा नगरपालिकाले थप तीन दिन बिदा थपको छ । यसअघि जेठ ३२ गतेदेखि असार २ गतेसम्म बिदा दिएको थियो । गर्मी बढी रहेकाले थप तीन दिन अर्थात् ४ गतेदेखि ७ गतेसम्म बिदा दिने निर्णय भएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो ।

यस्तै कुमाख गाउँपालिका र बागचौर नगरपालिकाले पनि असार ४ देखि ८ गतेसम्म पालिका भित्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् ।

गर्मीले विद्यार्थी बेहोस हुने, टाउको दुख्ने जस्ता समस्या देखिएपछि विद्यालय बन्द गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीको भनाई छ ।

विद्यार्थी बिरामी हुन थालेपछि डाक्टरसहितको टोली केही विद्यालयमा पुगी उपचार गरेको थियो । गर्मीकै कारण विद्यार्थीहरूमा विभिन्न किसिमको समस्या देखिएपछि विद्यालय बन्द गरिएको उहाँको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया