असार १४, २०८१ शुक्रबार June 28, 2024

चेपाङ बालबालिकाको शिक्षाका लागि ‘मेयरसँग केयर’ कार्यक्रम

शिक्षालाई प्रविधिसँग जोडेर सीपशाला सञ्चालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चितवनको कालिका नगरपालिकाले नीति तथा कार्यक्रममा चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन ‘मेयरसँग केयर’ कार्यक्रम ल्याएको छ ।

अति विपन्न चेपाङ बालबालिकालाई विद्यालयमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न उक्त कार्यक्रम ल्याइएको नगरप्रमुख विनोद रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले चेपाङ तथा अति विपन्न बालबालिकालाई विद्यालय ल्याउन, टिकाउन, सिकाउन र विकाउन यो कार्यक्रम सञ्चालन गर्ने योजनासहित नीति तथा कार्यक्रममा समावेश गरेका हौंँ ।”

नगरप्रमुख रेग्मीले ‘मेयरसँग केयर’ कार्यक्रमअन्तर्गत छात्रवृत्ति, शैक्षिक सामग्री, पोसाकसहित दिवा खाजालाई प्रभावकारी बनाइने र आवासीय विद्यालय सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि किताबविहीन अवस्था अन्त्य गर्दै शिक्षालाई प्रविधिसँग जोडेर सीपशाला सञ्चालन गरिने बताउनुभयो ।

नगरपालिकाले आफ्नो दोस्रो कार्यकालको पाँचौँ नगरसभामार्फत आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । उक्त नीति तथा कार्यक्रममा चेपाङ बालबालिकाको शिक्षाका लागि मेयरसँग केयर कार्यक्रमसँगै, एक वडा एक खेलकुद मैदान, विपन्न समुदायलाई निःशुल्क स्वास्थ्य बीमा, कार्यालयदेखि खेतसम्म प्रविधिको प्रयोगलगायत विषय समावेश गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि करिब रु ८८ करोड बजेट ल्याइएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो । बुधबार सम्पन्न नगरसभामा नगरप्रमुख रेग्मीले नीति तथा कार्यक्रम र उपप्रमुख विमला तामाङले बजेट प्रस्तुत गर्नुभएको थियो ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि राजस्व तथा अनुदान प्राप्तिको अनुमानका आधारमा रु ८७ करोड ७८ लाख ८१ हजार बजेट नगरसभामा प्रस्तुत गरिएको छ । नगरसभाको पहिलो बैठकबाट नगरप्रमुख रेग्मीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको छभने उपप्रमुख तामाङले प्रस्तुत गर्नुभएको प्रस्तावित बजेट दोस्रो बैठकबाट पारित हुने प्रमुख प्रशासकीय अधिकृत चुडामणि गौतमले जानकारी दिनुभयो ।

नगर उपप्रमुख तामाङले कूल बजेटमा आन्तरिक आयतर्फ रु छ करोड, राजस्व बाँडफाँटबाट रु १८ करोड २४ लाख ३१ हजार, जनसहभागिताबाट रु एक करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकारतर्फबाट रु ४५ करोड १५ लाख, अन्तरसरकारी वित्तीय हस्तान्तरण बागमती प्रदेश सरकारकातर्फबाट रु सात करोड ३९ लाख ५० हजार, सडक बोर्डबाट रु ५० लाख, जिल्ला समन्वय समितिबाट रु ५० लाख, मालपोत रजिष्ट्रेसन र नदीजन्य पदार्थबाट रु छ करोड र गत वर्षको जिम्मेवारी सर्नेगरी रु तीन करोड आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

कृषि र पशुपालनको विकास गरी उत्पादन बढाउन अधिकतम अनुदान, कार्यालयदेखि खेतसम्म प्रविधिको प्रयोग, रैथाने बालीको संरक्षण, कालिकाको सान विषादीमुक्त खानपान, नगर किसान सम्मान, खाद्य सुरक्षाका लागि मीठोमसिनो खाउँ, खाना नफालौँ भन्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

आगामी आर्थिक वर्षमा दुई सय ५० जनालाई रोजगारी, कोसेली घर निर्माण, पर्यटन विकासमार्फत स्थानीयको आयआर्जन र चेपाङबस्तीमा फलफूलखेतीलाई जोड दिइएको नगर उपप्रमुख तामाङले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया